बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ठिनीहुँदै तिलिचो पुग्ने सडक निर्माणको काम रोकियो

ठिनीहुँदै तिलिचो पुग्ने सडक निर्माणको काम रोकियो

मुस्ताङमा सडक बनाउँदा मनाङको उजुरी !


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७७, शुक्रबार

मुस्ताङ, २६ बैशाख– हिमाली जिल्ला मुस्ताङको ठिनी गाउँदेखि संसारकै उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माणको काम प्रभावित भएको छ । मनाङको ङिसाङ गाउँपालिका वडा नं. ९ कार्यालयले वातावरणिय प्रभाव मुल्यांकन (आईइई) नै नगरी सडक निर्माण थालिएको भन्दै उजुरी गरेपछि सडक निर्माणको काम प्रभावित भएको हो ।
वातावरणिय प्रभाव मुल्यांकनको काम नसकिएकाले सडक निर्माणको काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयले गत आर्थिक बर्षमा उक्त सडक निर्माणको काम थालेको थियो । आईइई नै नगरी धमाधम सडक खन्दा हिमाली वातावरणमा प्रभाव पर्ने भन्दै अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा मनाङको उक्त वडाले उजुरी गरेको थियो ।
वडाको उजुरीका आधारमा एक्यापले तत्कालका लागि सडक निर्माणको काम रोक्न आग्रह गर्दै जिल्ला समन्वय समितिलाई पत्राचार गरेपछि काम रोकिएको हो । यो सडक निर्माणका लागि चालु आवमा पनि गण्डकी प्रदेश सरकारले ६५ लाख बजेट बिनियोजन गरेको छ ।
काम गर्ने समयमा उजुरी परेकाले बजेट फ्रिज हुने अवस्था आएको पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख आमराज ढुंगानाले बताए । गत आवमा साढे २ किलोमिटर सडकलाई स्तरोन्नति र ह्यारझु डाँडासम्म तीन किमी नयाँ ट्रयाक निर्माण भएको थियो । यसवर्ष तिलिचोको आधार शिविरको रुपमा चिनिने नमखु लेकसम्म सडक पु¥याउने लक्ष्य रहेको उनले बताए । बजेट कार्यान्वयनमा बाधा हुँदा लक्ष्यमा पुग्न नसकिने उनको भनाई छ ।
ठिनीदेखि नमखुलेक पुग्न अहिले ४ घण्टा पैदल हिँड्नुपर्छ । सडक पुगेपछि यात्राअवधि एकदेखि डेढ घण्टामा छोटिने ठिनीका वडा अध्यक्ष बिरेन्द्र थकालीले बताए । नमखुलेकदेखि तिलिचो ताल पुग्न तीन घण्टा र तालबाट नमखुलेक फर्कन दुई घण्टा लाग्छ । अहिले ठिनीदेखि दुई दिन पैदल हिंडेर मुस्ताङको बाटोहुँदै पर्यटक तिलिचो ताल पुग्ने गरेका छन् ।
मुस्ताङमा हरेक पूर्वाधार निर्माण गर्दा छिमेकी जिल्लाहरुले वातावरणीय प्रभावको बिषय उठाउने गरेको वडाध्यक्ष थकाली बताउँछन् । उच्च हिमाली क्षेत्रमा काम गरिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बाधा सिर्जना गर्ने गरेको उनको आरोप छ । ‘अहिले सडक मुस्ताङमा बनाउने हो तर मनाङको उजुरीका कारण काम रोकिएको छ’ उनले भने ‘हरेक विकास निर्माणका काममा बाधा आउँदा हामी कसरी समृद्धिमा पुग्नसक्छौ ।’ मुस्ताङहँुदै तिलिचो ताल जोड्ने यो नै छोटो सडक हो । मनाङको नेस्याङ गाउँपालिकामा पर्ने तिलिचो ताल समुन्द्री सतहदेखि चार हजार ९ सय १९ मिटर उचाइमा छ ।
मुक्तिनाथ, तिलिचो, निलगिरी लगायत हिमालको फेदीमा रहेको ताल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको छ । ठिनीहुँदै तिलिचोसम्म सडकमार्ग निर्माण भए अन्नपूर्ण पदमार्ग ओझेलमा पर्ने भएकाले मनाङका सर्वसाधारणले यो सडक निर्माणमा अवरोध सिर्जना गर्दै आएका छन् । ‘मनाङबाट अन्नपूर्ण पदमार्गमा पर्ने प्रभावसहितको उजुरी पर्न आयो, हामीले सोहीअनुसार जिल्ला समन्वय समितिलाई लेखेर पठाएका हौं’ एक्याप मुस्ताङका कार्यालय प्रमुख तुलसी दाहालले भने ‘वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने नेपाल सरकारकै कानुनी व्यवस्था हो ।’
वातावरणमा कुनै असर नगर्नेगरी विकास निर्माणको काममा एक्यापको कुनै अवरोध नरहने दाहालले बताए । यो सडक निर्माण भए पदमार्गहुँदै तिलिचो पुग्ने पर्यटकलाई निकै छोटो बाटो मिल्ने छभने लमज्ुङ, मनाङहुँदै तिलिचो पुग्ने पदमार्ग प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->