सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

छिमेकी म्याग्दीमा फैलँदो डेंगु, बागलुङमा छैन तयारी

छिमेकी म्याग्दीमा फैलँदो डेंगु, बागलुङमा छैन तयारी

बागलुङमा डेंगु रोग जाँचमा प्रयोग हुने किटको अभाव


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७७, शुक्रबार

बागलुङ, २६ बैशाख– कोरोनाको कहरबीच बागलुङ र आसपासका जिल्लामा डेङ्गु रोगको संक्रमण त्रास फैलिएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग म्याग्दीमा देखा परेपछि छिमेकी बागलुङका सिमा जोडिएका स्थानीय तह पनि जोखिममा छन् ।
म्याग्दीमा डेङ्गु संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गईरहेका बेला बागलुङमा भने शुक्रबारसम्म कुनैपनि सावधानी अपनाईएको छैन । म्याग्दीका ९ जना संक्रमितमध्ये बेनीबजारका मात्रै ६ जनामा डेङ्गुको संक्रमण देखा परेको छ । बेनी नगरपालिकासँग सिमा जोडिएका बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले हालसम्म कुनैपनि तयारी नगरेको जनाएका छन् ।
‘छलफल गरेर सजगता अपनाउनुपर्छ भन्ने बिषयमा कुरा भएको छ’ बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले भने ‘स्रोतसाधन र जनशक्ति सबै कोरोनाको रोकथाम तथा नियन्त्रणमा खटाईएको छ, फेरी अर्को समस्या थप हुनेवाला छ ।’
बागलुङ नगरपालिकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोँच बनाएको भएपनि के गर्ने भन्ने विषयमा अन्यौल रहेको जनाएको छ । बेनीसँगै सिमा जोडिएको काठेखोला गाउँपालिकाले कुनै तयारी गरेको छैन । ‘छिमेकमा डेङ्गु फैलिएको कुरा जानकारी छ तर हामीले केही गरिसकेका छैनौं’ काठेखोला गापाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले भने ‘विस्तारै तयारी हुन्छ ।’
डेङ्गु नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण उपाय जनचेतना नै हो । लामखुट्टे बस्ने ठाउँ नष्ट गर्ने र त्यसबाट जोगिने उपाय सर्वसाधारणले अपनाउन सके डेङ्गुबाट बच्न सकिन्छ । स्वास्थ्य कार्यालय बागलुङले भने जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरेर डेङ्गुबिरुद्ध जनचेतना र सजगता अभियान सञ्चालन गर्न आग्रह गरेको जनाएको छ । ‘हामीले सबै पालिकामा पत्राचार गरेका छौं’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने ‘अञ्चल अस्पताललाई जाँचका लागि तयार रहन भनेका छौं ।’ कार्यालयले जिल्लामा डेङ्गु रोग जाँचमा प्रयोग हुने किटको अभाव रहेको जनाएको छ । ‘गत बर्षको एक दुईवटा किटमात्रै अस्पताललाई दिएका छौं’ गुरौ भन्छन्– ‘शंकास्पद बिरामी आए जाँच गर्ने किट छैन ।’
अहिलेसम्म जिल्लामा डेङ्गुका बिरामीको किटमार्फत चाँज हुने स्वास्थ्य संस्था धौलागिरी अञ्चल अस्पताल हो । ‘आजसम्म कुनै शंकास्पद बिरामी आउनुभएको छैन, बिरामी आए कसरी उपचार गर्ने भन्नेमा हामी तयार अवस्थामा छौं’ अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले भने ‘किटका कारण समस्या सिर्जना हुनसक्छ ।’ बागलुङमा गतबर्ष दश जनामा डेङ्गुको संक्रमण देखापरेको अस्पतालको तथ्यांकमा उल्लेख छ ।
डेङ्गु भाइरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने भएकाले तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने गुरौले बताए । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को स्वस्थ्य व्यक्तिलाई टोक्दा संक्रमण फैलिने सम्भावना हुने भएकाले बेनी नगरसँग जोडिएका बागलुङका स्थानीय तह उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->