`

बेवारिसे वृद्वाको धौलागिरी अस्पतालमा भयो सफल उपचार


  • ढोरपाटन संवाददाता
  • आइतवार, बैशाख २८, २०७७

बागलुङ, २८ बैशाख – लडकाउनले सुनसान सडकमा अचानक कोही हिँडेको देख्दा पनि गाउँलेहरु शंका गर्थे । गल्कोट नगरपालिका–११ रिघाको मुख्य सडकमा दुवै खुट्टामा गंभीर घाउ भएका एका बृद्धा घुमिरहेका थिए । खुट्टाको औलाका चेपमा किरा परेको अवस्था, खुट्टाको मासु खुम्चिएर हिँड्डुल गर्न निकै कठिन । चारपाँच दिनदेखि सडकमा बेवारिसे अवस्थामा देखेपछि स्थानीयले गलकोट नगरपालिकामा खबर गरेपछि उपप्रमुखको पहलमा उनको उद्धार गरिएको थियो ।
मानसिक रुपमा समेत सन्तुलन नभएका दोलखा घर बताउने अन्दाजी ६० वर्षिय कृष्ण प्रसाद पौडेलले नयाँ जीवन पाएका छन् । गत बैशाख ८ गते गलकोट नगरपालिका–११ बाट उद्धार गरी धौलागिरी अस्पताल ल्याईएका उनको सफल उपचार भएको छ । दायाँ खुट्टाका पाँचवटै औला र बायाँ खुट्टाका चार औला अप्रेसनमार्फत डाक्टरहरुले फालिदिएपछि उनको खुट्टा ठिक भएका छन् ।
गलकोट नगरपालिकाले एम्बुलेन्सबाट उनलाई अञ्चल अस्पताल पठाएको थियो । ‘खुट्टाभरी किरा परेका थिए निकै मेहेनतपछि निको भयो’ उपचारमा संलग्न नर्स देवी भट्टराईले भनिन् ‘खुट्टासंगै स्वास्थ्य अवस्था पनि सामान्य छ ।’ नाम, ठेगाना र आफन्तको टुंगो नभएकाले जिल्ला प्रहरी कार्यालयको रोहवरमा राखेर उनको उपचार थालिएको थियो ।
डाक्टर नविन पौडेल, पुजल बल्ल लगायतको मेडिकल टिमले तीन साता लगाएर उनको सफल उपचार गरेको हो । ‘किरा परेको खुट्टा पहिलो र दोस्रो अप्रेसन गर्दासमेत निको भएन’ डा. पुजल बल्लले भने ‘तेस्रो पटकको शल्यक्रियामा औलानै काम नलाग्ने भएकाले काटेर फालेपछि उहाँ निको हुनुभयो ।’ अस्पतालले उनको उपचारमा ५० हजारभन्दा धेरै खर्च गरेको छ । सामाजिक स्वास्थ्य इकाई र अस्पतालको स्रोत परिचालन गरेर बेबारिसे बृद्धाको उपचार गरेको अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले बताए । ‘उहाँको अवस्था हरियोखर्क पठाउने खालको थियो तर लकडाउन र कोरोना प्रभावका कारण दुःख हुने देखेर हामीले जोखिम मोलेर उपचार ग¥यौ’ पोखरेलले भने ‘अहिले राम्रो भएको छ, मानसिक समस्यासमेत रहेकाले उपचार कठिन थियो ।’
पौडेलको खुट्टा निको भएपछि अस्पतालले प्रहरीकै रोहवरमा डिस्चार्ज गरेर मानव सेवा आश्रमलाई जिम्मा लगाएको छ । ‘केही समस्या भए अस्पताल ल्याउनु भनी आश्रममा पठाएका छौं’ उनले भने ‘आवश्यक परेको बेला उपचार गर्न हामी तयार छौं ।’ उनको उपचार खर्च गल्कोट नगरपालिकाले व्यहोर्ने भनेको थियो । तर, उपचारपश्चात आश्रम गैसक्दा पनि कुनै जानकारी नआएको उनले बताए ।
गल्कोट नगरपालिकाले भने बेवारिसे नागरिकको स्वास्थ्य उपचारको दायित्व तिनै तहका सरकारको भएको जनाएको छ । ‘प्रदेश र केन्द्रले पनि गर्ला, प्रदेश मातहतको अस्पतालले गरोस् भन्ने हो’ गलकोट नगरपालिकाका प्रमुख भरत गैरेले भने ‘कसैले नहेरे नगरले हेर्छ भनेका हौं ।’ खुट्टामा गहिरो घाउ रहेका कारण उनले केही समय औषधि सेवन गर्नुपर्ने चिकित्सकले बताएका छन् । जिम्मेवारी लिएर उपचार र आवासको व्यवस्थापन गरेको प्रहरीले उनको ठेगाना र आफन्त खोज्ने कार्य थालेको प्रहरी निरीक्षक हेम केसीले बताए । मानवसेवा आश्रमकी सुमिरा लामाले अहिले उनलाई आश्रममा राखेर सेवा दिइरहेको वताईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology