मित्रले सधै ललिपप दिन्थे, बाटोमा भेट्दा गाला मुसार्दै हिड्थे । बच्चो अढाइ बर्ष चल्दै थियो । उसका आफ्नै दुख थिएँ । पेशेवर बाबुआमा थिए । अरू त कुरा छाडौं ऊ घरमा जन्मन पनि पाएको थिएन । उसको पहिलो रुवाइ अस्पतालको अशान्त, त्रासद र कोलाहलयुक्त परिवेशमा भएको थियो । जतिसुकै सभ्य र आधुनिक ठानिए पनि बच्चाबच्ची आफ्नै घरमा जन्मन पाउनु र नपाउनुमा ठूलो अन्तर पर्छ रे ! उनीहरूको नैसर्गिक अधिकार घरमा जन्मन पाउनुमा सुरक्षित हुन्छ रे ! तर प्रसव वेदनाका नारीहरूको घरमा कम्पनी स्वास्थ्यले कहाँ सेवा दिन सक्छ र ? स्मरणीय यो छ कि इतिहासमा सुडेनीहरुले घरमै निशुल्क सेवा दिन्थे । तर आजकल हजारको ललिपप देखाइएको छ मात्रै होइन आमाका कोखहरू कम्पनीले कमाउधन्दा बनाएको छ । बच्चाबच्चीहरू जन्मनसमेत पाउँदैन, कुबाटोबाट निकालिन्छन् । यसरी निकालिन् थालेपछि आमा र बच्चाबच्चीको मानसिक र शारीरिक स्वास्थ्यको त कुरा छाडौं, आमालाई दिनुपर्ने पौष्टिक तत्व, नियमित स्वास्थ्य सेवा र स्याहार–सुसार पनि कमिसन खेलको कैदमा बन्धक बनेका छन् । समाजवाद उन्मुख संविधानको कमाल कहाँ सजिलै बुझिन्छ र ?
पेशेवर हुनुका आफ्नै दुःख छन् । सुख हुनु तर सन्तोष नहुनु यसको मुख्य लक्षण हो । यो असन्तोषको लहर परिवारमा कोरोनाजस्तै गरेर फैलिन्छ । कतै लक्षण देखाउँछ त कतै यो बिना लक्षण पार जान्छ । कतै यो शारीरिक मानसिक घातप्रतिघातमा परिणत हुन्छ । पेशवर हुँदा नारीहरूका दुःख थपिएका छन् घरका मूल्यहीन काम पनि सक अनि परका मूल्यवान काम पनि तिम्रै थाप्लोमा छन् । तर पुरूष करिब करिब मस्तराम नै छ । बाबजुद नारी सबलतालाई भने यसले थोरै भएपनि सहयोग पुर्याएको छ । मलाई पनि डेढ वर्षको छोरोको ‘डे केयर’को जिम्मा थाप्लोमा आइपुग्यो । प्राध्यापकीय स्वतन्त्रतालाई डे केयरका लागि भरपुर उपयोग गरियो ।
बच्चो बाबुसँग कहिलेकाहीँ पेसा व्यवसायमा जान्थ्यो । करिब तिन वर्ष टेक्दै हुँदो हो मित्रले मुख फोरिहाले । पछिपछि लिएर हिँडेर मासिक पाँच सात हजार जोगाउनु भको छ है । उनको आशा निराशामा परिणत हुँदै थियो । म बेलाबेला बच्चोलाई घर ल्याउँथे । घरमा उसले आफ्ना हजुरबुबा हजुरआमासँग आत्मीयता साट्थ्यो । शिष्टाचार सिक्थ्यो । आफ्नो आफन्त चिन्थ्यो । छरछिमेक साथीभाइ चिन्थ्यो । धेरै बस्न पाउँदैनथ्यो । वर्षको दुई तिन पटक दुःखै गरेर घर आउथ्यौं उसको लागि । तिन वर्ष नपुग्दै शहरमा ऊ भन्दा साना केटाकेटीहरू मन्टेश्वरी जान थालिसकेका थिए । ऊ दिनभरी एक्लै खेल्थ्यो । धेरै शुभचिन्तक मित्रहरूले ऊ स्कुल नगएकोमा चिन्ता व्यक्त गर्दथे । दबाब हामीमाथि थियो । चुपचाप साथीहरूको सल्लाह सुन्नको विकल्प थिएन । चार पुग्दाको जेठमा घरमा ऊ र म मात्रै बस्यौं । पछि म फर्केपछि मावल बस्यो । दुई महिना बसेर साउनमा आमासँग फर्कियो । बाउको जेठमा बिदा पर्नु र आमाको असारमा पर्नु पनि उसका लागि फाइदा नै थियो । घरमा उसले लिची, आँप, अनार खुब खायो । मावल उसले जिजुहजूरबासँग मिलेर लिची खान्थ्यो रे ! कहिलेकाही वानरले खसालेको मेवा उही बारीमा बसेर खान्थ्यो रे ! केरा पनि खुब खाएछ । माइजुले घाँस काटेर फर्कदा ममताले वशीभूत भर आफ्नो मन कटार भान्जाका लागि ल्याइदिएका चिउरी नि खाएछ । मानवमात्र होइन पशुप्राणीलाई चिन्ने मौका नि पाएछ । अब त साउनमा फर्केर एकाध घन्टा जाने बालशिक्षामा बस्न पनि उसलाई महाभारत हुन थाल्यो । दशैँपछिको प्रतिकूल परिस्थितिमा ऊ मावल र घर ओहोरदोहोर गरिरहेको छ । दुवैतिर उसले सिक्ने कुरा भनेका परम्परागत छन् । कृषिप्रणालीमा आधारित छन् । घाँस र मलसँग खेल्ने, पानी र माटो खेल्ने, कुटो र कोदालोसँग उसको नाता कसिएको छ । बाख्रा भैसी उसका लागि प्रिय छन् । पाँच वर्षको उमेरमा किताबी शिक्षाका केही कुरा पनि सिकेकोले उसका लागि एक कक्षा सिधै पढ्ने अवसर आउँछ जस्तो छ । यहाँ बताउनै पर्ने एउटा कुरा के छ भने दिनमा कुनै कुनै बेला उसले पढ्छु भन्दै आफ्ना किताब समात्छ । शायद पढाइप्रति आफसेआफ रूचि पो जागेको छ कि ? त्यसो हो भने शहरतिरका दीक्षान्तले हावा खान बेर छैन । मित्रले भनेजस्तै पाँच सात हजार मात्रै होइन अरू पनि आर्जन भको छ कि ?
कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै कोरोनाका कारण आम अभिभावकले यसपालि मैलेजस्तै आफ्ना सन्तानका लागि समय दिन पाएका छन् । त्यतिमात्र होइन गाउँमा फर्किएका बाबुआमाले कृषि कर्म गर्न पाएका छन्भने बालबालिकाले परम्परागत ज्ञान, सिप, संस्कृति सिक्न पाएका छन् । प्रकृति र वनवातावरणलाई नजिकबाट बुझ्न पाएका छन् । कोरा शिक्षा र कम्पनी शिक्षाको गति रोकिएको छ । अनलाइनवाला शिक्षाका लागि हतार गर्नुपर्ने केही छैन । पाँच वर्षमुनिका बच्चाबच्चीलाई यो ठूलो अवसरका रूपमा आएको छ । उनीहरूलाई यो परम्परा सिक्ने, शिष्टाचार सिक्ने, संस्कृति सिक्ने, प्रकृति विचरण गर्ने, नाता सम्बन्ध सिक्ने अवसर हो । तर अभिभावक परिक्षित बन्न सक्छन् सक्दैनन् त्यो थाहा पाउन केही वर्ष लाग्ला । त्यसो त आफूहरू मोबाइलबाट कति मुक्त हुन्छन्, त्यसले बालबालिकाको भविष्य निर्धारण गर्नेछ किनकी आज अभिभावक मोबाइल पीडित छ । बालबालिकालाई पढ पढ भनेर मात्रै हुनेछैन आफूहरू मोबाइलमा भुल्छन् कि अन्य कुरामा भुल्छन् त्यसले धेरै कुरा निर्धारण गर्नेछ ।
यो वर्षको शिक्षाको जिम्मा अभिभावकको हातमा छ । अभिभावक आफ्ना पनि अभिभावकहरूका साथमा छन् । शायद बालबालिकाको अन्तरकुन्तरमा आफ्ना अभिभावकहरूको परीक्षा चलिरहेको होला ? नातिले बाउलाई हजुरबालाई फाल्दा डोको चाहिँ नफाल्नु भनेको कथा बालबालिकाले यसपालि सुन्न पाएका छन् ।
पछिल्ला वर्षहरूमा नेपालमा कुसंस्कार विकास भएको छ । घरमा कोही कमाउन प्रदेश लाग्यो भने छोराछोरी पढाउने नाममा आमाबाउ शहरतिर बस्ने प्रचलन छ । यसले अरबमा कमाएको पैसा कम्पनी र घरलाई बुझाउँदा ठिक्क हुन्छ । आफ्नो घरको सम्भावना समाप्त भको छ । भोलि हात रित्ताको रित्तै ! तर यदि घरमा बसेमा सामान्य निर्वाहबाटै वर्षमा दुई लाख रूपैयाँ सजिलै आम्दानी गर्न सकिन्छ । अर्को कुरा गाउँ र शहरको पढाइमा रत्ति अन्तर छैन, बहानाबाजी बाहेक ।
शहरको बसाइ अत्यन्त कष्टकर छ । मोबाइल परिवारमा सबैका लागि सबैथोक भको छ । बालबालिकामा पर्ने असर विज्ञहरूको बौद्धिक विलासमा सीमित छ । अभिभावकलाई उनीहरूको कुराले छोएको छैन । छोरीछोरालाई स्कुलको जिम्मा लगाएर ढुक्क बन्ने अभिभावक बढेका छन् । कम्पनी बाहेक सबै घाटामा छन् ।
तर कोरानापछि गाउँघर हराभरा छन् । मान्छेहरूको चहलपहल बढेको छ । छोडिएका घरहरू लिपपोत भएका छन् । करेसाबारी खनीखोस्री गरिएको छ । श्रमले पसिना खसेको छ । बालबालिकाले पनि खेल्ने प्रशस्त ठाउँ पाएका छन् । देखासिकी गर्ने काम पाएका छन् । किम्बु, ऐसेलु, काफल, तिजु खान पाएका छन् । उनीहरूलाई पढाइको चिन्ता छैन । पढ्दा पो कहाँ रहरले पढ्न पाएका थिए र विचराहरूले ? अभिभावकहरूको इज्जत र प्रतिष्ठा, कम्पनीका अनावश्यक किताबहरूको थुप्रो, बिजातीय भाषाको नत्थी, घर फर्कदा होमवर्कको भारीले जीवन नै दिक्दार भको थियो । शायद धेरै विद्यार्थी मनहरू यतिबेला कोरोनाको त्रास र मोबाइलको ट्युइबाट मुक्त भएर हावामा कावा खाँदै होलान् । फेरि प्रश्न उठ्छ त्यसो भए के यो वर्ष विद्यार्थीहरूलाई घरकै हावामा कावा खुवाउने त ? आज अभिभावकले किताब पनि त बोकेका छैनन् । तसर्थ घरमा पढाइ जटिल छ । अनलाइन कुराको विषय नै बन्न सक्दैन । परीक्षाको लागि अझ दुई महिना कुर्नु नै उचित छ । विकल्पको खोजी भने आवश्यक छ । गृहकार्य परीक्षाको मापदण्डको एउटा आधार हुनसक्छ । आखिर त्यो पनि मूल्याङ्कननै हो । चाहने हो भने यसपालि ‘पेपर पेन्सिल टेस्ट’लाई फेर्ने अवसर छ । सबैतिर नहोला धेरै ठाउँमा स्कुल प्रशासनले यो कार्य गर्न सक्छ । लेखको बिट आफ्नो गन्थनमा अर्काको विचार ल्याएर गर्न खोज्दैछु । बागलुङका मित्र बाबुडियर हमालले विद्वान माधव पोखरेलले लर्ड मेकालेले भारतमा कसरी पश्चिमा शिक्षानीति लगाए र त्यसको एक वर्षपछि कस्तो प्रभाव पर्यो भन्ने बारेमा फेसबुकमा लेख्नुभएको एक तथ्यलाई मैले गरेको शेयरमा टिप्पणी गर्दै पिढी शिक्षाको आवश्यकता दर्शाउनु भयो । यो पिढी शिक्षाको विचार हमालको आफ्नो नभएर उहाँका विद्वान मामा शास्त्रदत्त पन्तको रहेछ । हमालका अनुसार पिढी शिक्षा भनेको नेपालका हरेक जाति जनजातिहरूले पुस्तान्तर हस्तान्तरण गर्दै आएको परमपरागत ज्ञान सिप हो । जुन हरेक जातजातिका फरकफरक हुन्छन् । तिनको संरक्षणको वकालत पन्तले आजीवन गरिरहनु भको छ । ब्राह्मणले कर्मकाण्ड जानेको हुन्छ भने विश्वकर्माले हतियार बनाउन जानेको हुन्छ । यस्तो पिढी शिक्षामा यो आधुनिक शिक्षाको इन्जेक्सन लगाइदिऊँ तर त्यसका लागि स्कुलको विघटन हुनुपर्छ भने पाकिस्तानी मलालाले भनेजस्तै एक विद्यार्थी एक शिक्षक हुनुपर्छ । त्यसका लागि अभिभावकलाई शिक्षकमा रूपान्तरण गर्नुपर्ने हुन्छ । के यो असम्भव छ ? माल्दिभ्स नै उदाहरण बन्न सक्ला । अलिपर जापान कोरिया पनि घुम्न जान सकिएला । यो दीर्घकाले कुरोले कोरोनाजस्ता महामारीलाई अवश्य चुनौती देला ।
तत्कालका भर्नाका लागि जुलुस खासै आवश्यक होइन । आज मोबाइल फोन हरेकका हातहातमा छन् । मोबाइलमार्फत भर्ना गरौं । फेरि परिक्षित हुने समय सबैको होला । सकिन्छ किताब घरघर पुर्याउँ । छोराछोरीको पढाइको जिम्मा अभिभावकलाई दिऊँ । संयोजन शिक्षकले गरौं । मित्रहरूका ललिपप स्थगित गरौं । दशैँसम्मलाई ढुक्क बसौं !





