शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटबाट गए, क्वारेन्टाइनमा संक्रमित भए

गलकोटबाट गए, क्वारेन्टाइनमा संक्रमित भए

'त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो।’


  • तारानाथ आचार्य
  • बैशाख ३१ २०७७, बुधबार

बागलुङ, ३१ वैशाख – लकडाउनले विस्तारै खुला रुप लिदै गइरहेको वेला मंगलबार मुलुक नै तात्यो । एकै दिन ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भयो । सिमा क्षेत्र पर्सा, कपिलवस्तु र वारामा देखिएको सक्रमणले गण्डकी प्रदेश पनि एकैपटक तरंगित भयो । कारण थियो पर्सामा कोरोना पोजेटिभ देखिएकामध्ये १४ जना मजदुर यही प्रदेशबाट बाहिरिएका थिए । बागलुङको गलकोट नगरपालिकाभित्र भइरहेका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका मजदुरहरु एकैसाथ बागलुङ, पोखरा हुदै घर फर्किएका थिए । गलकोट नगरपालिका भित्र भवन, सडक र काष्ठ उद्योग लगायतका क्षेत्रमा काम गर्दै आएका मजदुरहरु बैशाख ११ गते गलकोट हटिया बजारबाट पर्साका लागि हिँडेका थिए । मजदुरहरुकै अनुरोधमा गलकोट नगरपालिकाले उनीहरुलाई घरसम्म जानका लागि दुई वटा वसको ब्यवस्थापन गरेको थियो ।
बा ४ ख ५७९० नम्बरको बसमा ४२ जना मजदुर पर्सा पुगेका थिए । उनीहरुमध्ये छिपहरमाई गाउपालिकाका २९ जना, भारतीय नागरिक ६ जना, जगन्नाथका ५ जना र धोविनी गाउँपालिका २ जना थिए । गलकोटबाट वसमा आएका उनीहरुलाई पोखरा पुगेपछि कास्की प्रशासनले रोक्यो । अनि विचबाटोमा अलपत्र परे । पोखरामा रोकिएपछि उनीहरुले आफ्नो गाउपालिका अध्यक्षलाई गुहारे । ‘दुई दिनदेखि अलपत्र परेका छौं बाटोमा भनेर खबर आयो’ छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले ढोरपाटनसंग टेलिफोनमा भने, ‘जिल्ला प्रशासनसँग समन्वय गर्दा सबै तपाईको गाउँपालिकाको हुनुहुन्छ । क्वारेन्टाइनाको व्यवस्था गर्ने भए पठाउँछौं भन्ने भयो । अनि हामीले वोलायौ ।’
एक दिनको पोखरामा वसमै रात विताएका उनीहरु बागलुङबाट हिडेको तेस्रो दिन अर्थात बैशाख १३ गते पर्सा पुगे । जगन्नाथ र धोविनीले आफ्ना नागरिकलाई लैजान मानेन् । छिपहरमाईले सवैको ब्यवस्थापन गर्नुपर्ने भयो । अनि उनीहरु सवैलाई जिल्लाको मंगल माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष गुप्ताले वताए । अध्यक्ष गुप्ताका अनुसार ती मध्ये छिपहरमाई गाउँपालिकाका ११ जना, धोविनीका २ जना र भारतीय १ जनामा पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुलाई मंगलवार राती नै नारायणी अस्पतालको आइसोलसनमा पठाइएको छ ।
काठमाडौ लगायत देशका ठुला शहरबाट धमाधम मजदुरहरु फर्किएको खबर बोकेर कार्यपालिकाको कार्यालय पुगेका मजदुरहरुलाई दुईओटा बसको व्यवस्था गरेर गलकोट नगरपालिकाले गन्तव्यतर्फ पठाएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । पोखरामा सिमाना नाका पार गर्न नमिल्ने भन्दै प्रदेश प्रहरीले उनीहरुलाई रोकेपछि दिनभरको प्रयासपछि उनीहरुलाई गन्तव्यमा पठाईएको गैरेले बताए ।
‘लामो समय मुख्यमन्त्रीसँगको कुराकानीपछि गाँठो फुकाएर पठाईएको हो’ गैरेले भन,े ‘दुई बस पठाईयो, कुन बसमा को–को थिए भन्ने जानकारी भएन ।’ स्थानीय तहहरुबीच भएको सूचनाका आधारमा पर्सा पुगेका उनीहरुलाई क्वारेन्टाईनमा राखिएको छिमरामाई गाउँपालिका पर्साका अध्यक्ष गुप्ताले बताए । उनीहरुसँगै गलकोटबाट रौतहट, बारा र पर्साका ८२ जना मजदुर दुईवटा बसमा हिँडेका थिए । निर्माणको काम चलिरहेका बेला विभिन्न समुहमा बस्दै आएका मजदुरहरु समुदायको सम्पर्कमा भने थिएनन् ।
बागलुङमा कोरोना संक्रमित भेटिएका दुई जना महिला बागलुङ नगरपालिकाका थिए । गलकोटबाट हिँडेको बस सिधै पोखरामा गएर रोकिएकाले बिचमा कुनै व्यक्तिसँग सम्पर्कमा आउने अवस्था नरहेको गलकोटका नगरप्रमुख गैरेले बताए । उनीहरु गलकोटमा रहँदा सम्पर्कमा रहेका व्यक्तिहरुको विषयमा खोजी सुरु भएको उनले बताए । तर लकडाउनपूर्व कार्यक्षेत्रमा जाने र साँझ–बिहान क्याम्पमा बस्ने गरेकाले उनीहरुको सम्पर्क निकै कम व्यक्तिसँग भएको नगरको दाबी छ ।
बारा र रौतहट पुगेका मजदुरसमेत एउटै बसमा गएकाले उनीहरुको खोजी भैरहेको छ । जिल्लाबाटै बाहिरिएका मजदुरको बिषयमा जिल्ला प्रहरी कार्यालय भने बेखबर छ । ‘हामीले पठाएका कुनैपनि मजदुर मदेशका छैनन्’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले भने, ‘सम्पर्कमा आएकालाई पठाईएको हो, हाम्रो सम्पर्क बाहिर गएको भए जानकारी भएन ।’
पर्सा पुगेका उनीहरु सबैलाई अलग्गै क्वारेन्टाईनमा राखिएको छिपरामाई गाउँपालिकाले जनाएको छ । ‘हामीले बागलुङ र अन्यत्रबाट आएकालाई समेत अलग–अलग क्वारेन्टाईनमा राखेर जाँच गरेका हौं’ गाउँपालिकाका अध्यक्ष गुप्ताले भने, ‘अरु कसैसँगको सम्पर्क भएकै छैन ।’
पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जनामध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अध्यक्ष गुप्ताका अनुसार, बागलुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो ।
‘क्वारेन्टाइनमा राखिएका ६२ जनामध्ये १ जनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो,’ अध्यक्ष गुप्ताले भने, ‘त्यसपछि मैले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर पनि भनेको थिएँ । तर सीडीओ सा’पले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभयो । मैले के गर्ने ? त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->