बागलुङ, ३१ वैशाख– मंगलबार पर्साको छिपरामाई गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका १४ जना मजदुरलाई बागलुङको गलकोटबाट छोड्न गएको बसका चालक र सहचालकसहित ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमितको सम्पर्कमा रहेका पवर्त स्थायी घर भई रामरेखामा बस्दै आएका उनीहरुलाई बुधबार बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखेको हो । बुधबार बिहान क्वारेन्टाइन पुगेका उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वाबसमेत संकलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । स्वाव बुधबारनै पिसिआर परीक्षणका लागि पोखरा पठाउने तयारी भैरहेको छ ।
स्वास्थ्य कार्यालयले मंगलबारनै पर्साको स्वास्थ्य कार्यालयसँग समन्वय गरेर कन्ट्रयाक ट्रेसिङ थालेको थियो । कन्ट्रयाक ट्रेसिङमा रहेकाबाहेक भारत, बुटवल लगायतका स्थानबाट आएका एक दर्जन बढिको स्वाबसमेत संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भैरहेको गुरौले बताए । पर्सा मजदुर छोड्न गएका चालक १, रुपन्देही बुटवलबाट आएका ३, तराईबाट आएर बागलुङ बजारमा बसिरहेका मुस्लिम समुदायका २, अर्घाखाचीबाट आएका १, नेपाली सेना १ र काठेखोला गाउँपालिकाको बिहुँमा बाहिरी जिल्लाबाट आएका थप ३ जनागरि १३ जनाको स्वाब पोखरा पठाइँदैछ । गलकोट क्षेत्रमा अरु सम्पर्क भएका व्यक्तिहरुबारे समेत खोजी शुरु गरिएको जनस्वास्थ्य अधिकृत गुरौले जानकारी दिए ।





