म्याग्दी १ जेठ – पश्तिम म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा चार दिनदेिख संचार सम्पर्क बिहीन भएको छ । गत आइतबारदेखि धौलागिरि गाउँउपालिकामा मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएपछि पश्चिम म्याग्दी संचार सम्पर्क विहीन भएको हो ।
धवलागिरी गाउँपालिकाको मुदी गाउको डाँडामा रहेको नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवाको टावरमा आइतबार बिहान परेको चट्याङले क्षती पु¥याएपछि मोवाइल र इन्टरनेट अवरुद्ध भएको हो ।
टावरमा क्षति पुगेपछि गाउँपालिकाको केन्द्र मुना लगायत तीन वटा वडा पूर्ण रुपमा सञ्चार सेवाबाट बिच्छेद भएका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन ।
लुलाङ, खोरीया, लमसुङ, मुना, फलीयागाउँ, दर, मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङमा मोवाइल फोन सेवा अवरुद्ध भएको हो । सोही ठाउँमा मोवाइलसँगै इन्टरनेटको टावर स्थापना गरेर गाउपालिकाको कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको थियो ।
‘मोवाइल र इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउपालिकाको सेवा प्रवाहमा समेत असर परेको छ,’ अध्यक्ष पुनले भनिन् ‘लेखा, प्राबिधिक र सूचना आदानप्रसादका काम प्रभावित भएको छ ।’ इन्टरनेट आवश्यक पर्ने सेवा प्रवाह रोकीएको कर्मचारीहरुले बताएका छन् ।
कर्मचारीहरुलाई टावरमा पठाएर निरिक्षण गरि क्षतिको बारेमा नेपाल टेलीकमको बेनी र बागलुङ स्थित कार्यालयमा जानकारी गराई मर्मतका लागि पहल गरिएको अध्यक्ष पुनले बताउनुभयो । टावर मर्मतका लागि करिब दश दिन लाग्ने टेलिकमले जनाएको छ ।





