
म्याग्दी/मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लोकनाथ रेग्मीको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा लेकबहादुर पुन, सचिव श्रीराम पौड्याल, कोषाध्यक्षमा दामोदर शर्मा र सदस्यहरूमा मायादेवी शर्मा, प्रेमलाल पौडेल, दीर्घबहादुर केसी, दिलबहादुर बरुवाल र दीलनाथ पौडेल चुनिए ।
लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा लोकनाथ रेग्मी तथा सदस्यहरूमा शंकरजय मल्ल र श्रीकृष्ण रिजाल छन् । नवनिर्वाचित नेतृत्वले संस्थाको हित, सेयरधनीहरूको बचतको सुरक्षा, पारदर्शी वित्तीय कारोबार तथा सहकारीको सेवालाई थप सर्वसुलभ र प्रविधिमैत्री बनाउने प्रतिबद्धता अध्यक्ष आचार्यले व्यक्त गरे ।
म्याग्दी जिल्ला पूरै र पर्वतको जलजला गाउँपालिका कार्यक्षेत्र भएको सहकारीमा ४ हजार २९ सेयर सदस्य छन् । संस्थाको सेयर पुँजी ११ करोड ४० लाख ३१ हजार नौ सय, जगेडा कोषमा ३ करोड ४८ लाख ७२ हजार चार सय ७, अन्य कोषमा १ करोड ४४ लाख ७८ हजार ५ सय ९४ रुपैंया रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले सेवा केन्द्र स्तरीय साधारणसभापछि केन्द्रीय रुपमा प्रतिनिधिमूलक सभा गरेको हो । आइतबार भएको साधारणसभाको सञ्चालन संस्थाका मुख्य व्यवस्थापक प्रेमलाल कँडेलले गरेका थिए ।





