सांकेतिक तस्विर
बागलुङ, १ जेठ– सोमबार जिल्लाको गलकोटबाट बिरामी बोकेर बा २० च २४१४ नम्बरको कार चितवनका लागि हिड्यो । भरतपुर अस्पतालमा बिरामी पु¥याउन भन्दै हिँडेको कारलाई गण्डकी प्रदेशका सिमानाकामा रहेका सुरक्षाकर्मीले रोकेनन् । अस्पतालमा बिरामी पु¥याएर फर्किने बेला कारले चितवनबाट मान्छे बोकेर आउँछ भन्नेकुरा सुरक्षाकर्मीले कल्पना नगरेको बिषय थियो ।
सरकारले अत्यावश्यक र बिरामी बोकेका कुनैपनि सवारीलाई नरोक्नु भनेको छ । बिरामीको प्रकृति हेरेर जिल्ला प्रशासनले जारी गर्ने पाससमेत नचाहिने बिरामीको हकमा गाडी नरोकिने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजाल बताउँछन् ।
मंगलबार साँझ चितवनबाट रातारात हिँडेको कार बुधबार बिहान कुश्मामा आएर रोकियो । पर्वतका सुरक्षाकर्मीले केरकार गर्दा बिरामी लिएर बागलुङबाट गएको पाईएपछि कारलाई प्रहरीले रोकेन । बिहान झिसमिसेमा मालढुंगा प्रहरी पोष्टले चेकजाँचका क्रममा उक्त कार समात्यो । कारमा चालकसहित ७ जना यात्रु थिए । चेकजाँचका लागि मालढुंगा पुगेका प्रहरी निरीक्षक दिपक रिजाल त्यतिबेला आस्चर्य चकित भए । नहुन पनि किन ? चार सिट क्षमताको कारमा ७ जना यात्रु बिनापास चितवनहुँदै बागलुङ आईपुगेका थिए ।
सुरक्षाकर्मीको आँखा छल्न रातारात चितवनबाट बागलुङ आईपुगेको कारलाई प्रहरीले केहीबेर नियन्त्रणमा लियो । ‘बिरामी बोकेर जाने फर्किँदा यात्रु ओसार्ने गरेको पायौं’ रिजालले भने ‘कारमा धेरै मान्छे भएकाले आशंका भयो, अरु गाडीले पनि एकदुई जना त्यसैगरी भित्राईरहेको पाईयो ।’
उक्त कार र सवार यात्रुहरुलाई गलकोट नगरपालिकासँगको समन्वयमा क्वारेन्टाइनमा बस्नेगरी छोडिएको छ । ‘त्यहाँका मेयर’सापले आफ्ना नागरिक क्वारेन्टाइनमा राख्छु भन्ने प्रतिवद्धता पछि हामीले छोडीदियौं’ रिजालले भने ‘आँखा छलेर बहाना गर्नेहरु धेरै छन् ।’
कोरोनाको संक्रमण दर बढ्दै गएपछि दबावमा परेको प्रहरीले चेकजाँचमा कडाई गरेसँगै बिरामीको नाममा बाहिरी जिल्लाबाट मान्छे भित्राउने सवारी साधन धमाधम पक्राउ पर्न थालेका छन् । बुधबारनै पोखराबाट सामान लिएर आएको अर्को एउटा हायस गाडी मालढुंगामा समातियो । बागलुङबाट यात्रु बोकेर पोखरा पुगेको बा ३ क ९७२४ नम्बरको गाडीले एक जना महिला यात्रु बोकेर मालढुंगा आयो । मालढुंगमा रहेको हेल्थ डेस्कमा ज्वरो जाँच गर्दा यात्रु महिलामा ज्वारो देखिएकाले धौलागिरी अस्पतालमा आरडिटी जाँचका लागि पठाईयो । सोही गाडीका चालक र उच्च ज्वरो रहेका अर्को ट्रकका चालकलाई समेत आरडिटी जाँचका लागि पठाएर प्रहरीले उनीहरुलाई आवश्यक चेतावनी दिएर घर जान भनेको रिजाल बताउँछन् ।
यतिमात्रै होइन जिल्लाको दक्षिण र पश्चिम क्षेत्रमा गुड्ने सवारी साधनको दुरुपयोग गरेर जिल्ला बाहिरबाट भित्रिने र जिल्लाभित्रै पनि एक स्थानीय तहबाट अर्कोमा जानेको संख्या धेरै छ ।
लकडाउनको अवधिमा मात्रै बिना पास यात्रु ओसार्ने र हिँडडुल गर्ने ९ सय ४३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ८ सय ८० दुईपाङ्गे्र र ६३ वटा चारपाङ्ग्रे सवारी छन् । सवारी ओहोरदोहोरका कारण कोरोनाको जोखिम बढेको भन्दै जिल्ला कमाण्ड पोष्टले लकडाउनमा कडाई थालेको भएपनि जिल्लाका बिभिन्न ठाउँमा यात्रु भित्रिने क्रम भने रोकिएको छैन् ।





