`

पूर्वाधार विकासको ४० लाख बजेट फ्रिज हुने अवस्थामा

  • जैमिनी नगरपालिकाको जैमिनीधाम, गाईथुने, माईकाथान हाँडिकोट पर्यटकीय क्षेत्र विकास कार्यक्रमको काम सुरु हुन नसकेको हो

    • ढोरपाटन संवाददाता
    • शुक्रबार, जेष्ठ २, २०७७

    बागलुङ, २ जेठ– स्थानीय सरकारले समयमा उपभोक्ता समिति गठन गर्न नसक्दा यहाँका पर्यटकीय स्थल पुग्ने पूर्वाधार बिकासको काम प्रभावित भएको छ । जैमिनी नगरपालिकाका बिभिन्न वडामा रहेका पर्यटकीय स्थलमा पूर्वाधार बिकासको काम प्रभावित भएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षमा पर्यटकीय क्षेत्रको बिकासका लागि बिनियोजन गरेको बजेट कार्यान्वयनका लागि जिल्लाको जैमिनी नगरपालिकाले उपभोक्ता समिति गठन गर्न सकेको छैन ।
    जिल्लाका दशवटा पर्यटकीय क्षेत्रको पहिचान गरी यो बर्ष चारवटा क्षेत्रलाई मात्रै बजेट बिनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्वतमा रहेको भूसंरक्षण तथा जलाधार बिकास कार्यालयमार्फत वजेट कार्यान्वयनका लागि पठाएको छ । जिल्लाका अरु तीन स्थानको काम धमाधम चलिरहेको भएपनि जैमिनी नगरपालिकाको जैमिनीधाम, गाईथुने, माईकाथान हाँडिकोट पर्यटकीय क्षेत्र विकास कार्यक्रमको काम सुरु हुन नसकेको कार्यालय प्रमुख कृष्ण प्रसाद घिमिरेले बताए ।
    कार्यालयले मौखिक रुपमा उपभोक्ता समिति गठन गरेर कार्यक्रम सम्झौताका लागि आव्हान गरेको छ । ४० लाख रुपैयाँ बजेट रहेको उक्त योजनामा जैमिनीले चासो नदेखाएका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको सर्वसाधारणको गुनासो छ । लकडाउनअघिनै जैमिनीका सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई सम्झौता गर्नका लागि आउन आग्रह गर्दा पनि अहिलेसम्म नआएकाले बजेट नै फ्रिज हुने अवस्थामा कार्यालयले जनाएको छ ।
    प्रदेश सरकारको १ सय १० पर्यकीय गन्तव्यमध्ये बागलुङका ४ वटा स्थल छनौट गरि ४०÷४० लाख वजेट बिनियोजन गरेको उनले जानकारी दिए । योजनाको अख्तियारी लकडाउनको अवस्थामा आएकाले पनि उपभोक्ता समिति गठन गरेर सामाजिक दुरीसहित काम गर्न सकिने स्थानीय बताउँछन् । सरकारले पनि विकास निर्माणका काम नरोक्न भनेको छ । नगर प्रमुख इन्द्रराज पौडेलले माइकास्थान मन्दिरहुँदै वडा नम्वर ७ र ८ मा पर्ने हाँडीकोटसम्मको पर्यटकीय क्षेत्रको बिकासका लागि बजेट बिनियोजन भएको कुरा आफुलाई थाहा नभएको र नगरपालिका र मन्त्रालयको सहकार्यमा पर्यटकीय गेट निर्माणका लागि भने कुराकानी भएको बताए ।
    कार्यालयले नगरपालिकालाई लिखित जानकारी भने दिएको छैन । प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बजेट बिनियोजन भएको हल्ला मात्रै भएको भन्दै कार्यालयमा कुनै जानकारी नआएको बताए । पर्वतमा रहेको तालुक कार्यालयले नै योजनाको कार्यान्वयन गराउने भएपनि उपभोक्ता समिति गठन र बिस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेबारी स्थानीय तहमा हुने घिमिरे बताउँछन् । ‘काम हामीले लगाउने हो तर के काम गर्ने भन्ने योजना र उपभोक्ता समिति प्रभावित क्षेत्रका वडाहरुबाट बनेर आउनुपर्छ’ शर्मा भन्छन् ‘लकडाउनको प्रभावका कारण काम अघि बढ्नै सकेको छैन् । वडाध्यक्षहरुसँग समन्वय भैरहेको छ ।’ समयमा उपभोक्ता समिति गठन गरेर काम अघि नबढ्दा बजेटनै फ्रिज हुने वा काम भैहाले पनि असारे बिकासले बजेट मात्रै सकिने काम हुने जैमिनी–८ छिस्तीका नारायण पौडेल बताउँछन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology