पोखरा, ५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अस्पतालको स्तरोन्नती र दक्ष जनशक्तिकोे लागि प्रदेश सरकारले आवश्यक ब्यवस्थापन गर्ने बचन दिएका छन् । अस्पतालको स्तरोन्नती, दक्ष जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामाग्रीको माग गर्दै बागलुङको टोली आईतवार मुख्यमन्त्रीको कार्यालयमा पुगेको थियो । सो टोलीसमक्ष मुख्यमन्त्री गुरुङले आफुले काम र परिणाम हेर्ने भन्दै अस्पतालको स्तरोन्नतीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको वताए ।
‘कतिपय निर्णय भइसकेको छ, कतिपय मापदण्ड बनाएर गर्नुपर्ने भएकाले त्यसको तयारीका लागि निर्देशन गरिएको छ, मुख्यमन्त्री गुरुङले भने, ‘हजुरहरु ढुक्क हुनुहोस त्यहाँको आवश्यकतालाई प्रदेश सरकारले सम्बोधन गर्दछ ।’ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबि रानामगर, सदस्य शालिकराम शर्मा, प्रदेश सांसद इन्द्रलाल सापकोटा, अस्पतालका मेसु डा. शैलेन्द्र वि पोखरेल, सूचना अधिकारी तिर्थ गौतम, लेखा अधिकृत झलक शर्मा, यामवहादुर थापा, धु्रव सुवेदी लगायतको टोली मुख्यमन्त्रीलाई भेट्न पुगेको थियो ।
टोलीले अस्पतालको भौतिक पूर्वाधार विकासको लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने, साथै कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधाको वारेमा स्पष्ट हुनुपर्ने लगायतका माग लिएर मुख्यमन्त्री गुरुङसहित आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, स्वास्थ्य निर्देशक विनोद विन्दु शर्मा, मन्त्रालयका सचिव, महाशाखाका प्रमुख लगायतलाई आईतवार नै भेट गर्यो । सो अवसरमा आर्थिक मामिला मन्त्री किरण गुरुङले भौतिक पुर्वाधारको विकाससंगै दक्ष जनशक्ति पनि आवश्यक हुने भएकाले त्यसका लागि समुचित सहयोग प्राप्त हुने विश्वास दिलाए ।
सामाजिक विकास मन्त्री पुनले कोरोनाको उपचारमा धौलागिरी अस्पतालले देखाएको सक्रियता र त्यहाँका स्वास्थ्यकर्मीले उच्च मनोवलका साथ गरेको कार्य सम्पादनबाट आफु प्रभावित भएको वताउदै चिकित्सक र अन्य स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न प्रदेश सरकारले ध्यान दिने वताईन । प्रदेश सांसद इन्द्रलाल सापकोटाले धौलागिरी अस्पताल र अन्य जिल्ला अस्पतालका विचमा फरक भएको स्मरण गराउदै त्यसलाई गण्डकी प्रदेशको दोस्रो ठूलो अस्पतालका रुपमा विकास गरेर लैजानुपर्नेमा जोड दिए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबि राना मगर, सदस्य शालिकराम शर्मा र मेसु शैलेन्द्र वि पोखरेलले हाल अस्पतालले गरेका कार्य सम्पादन, भौतिक पुर्वाधारको अवस्था र थप जनशक्ति र भौतिक पूर्वाधारको आवश्यकताका वारेमा मन्त्री र सचिवसमक्ष जानकारी गराएका थिए । 





