सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लठ्ठा नआउँदा पुलको काम रोकियो, यो वर्ष नि टरेन जोखिम

लठ्ठा नआउँदा पुलको काम रोकियो, यो वर्ष नि टरेन जोखिम

लेखानी कादेश पुल निर्माणमा बाधक बन्यो लकडाउन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०७७, शनिबार

सांकेतिक तस्विर

बागलुङ, १० जेठ– काठेखोला गाउँपालिका–८ कादेशका नोवल पुन कक्षा दशमा पढ्छन् । उनले अध्ययन गर्ने विद्यालय र गाउँको दुरी निकै टाढा छ । कक्षा ८ सम्म कादेश आधारभूत विद्यालयमा अध्ययन गरेका नोवललाई माध्यामिक तहको शिक्षा आर्जन गर्न लेखानी मावि पुग्नुपर्छ । लेखानी पुग्न उनलाई एक घण्टाभन्दा बढी समय खर्चनु पर्छ । उनीजस्तै ४५ जना विद्यार्थी कादेशबाट लेखानी पढ्नका लागि पुग्छन् ।
दुई गाउँबीच बग्ने दोबिल्ला खोलाले बनाएको खोँचले उनीहरुको आउजाउमै दुई घण्टा लिने गर्छ । हिउँदमा ढुक्कले लामो बाटो हिँडेरै भएपनि विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई बर्खामा उर्लिने दोविल्ला खोलाको भेलले सधैं पिरोल्ने गर्छ । विद्यार्थी मात्रै होईन लेखानीको कादेशका सर्वसाधारणलाई स्वास्थ्य संस्था जाँदा होस वा प्रशासनिक कामका लागि वडा कार्यालय पुग्दा समस्या उस्तै छ । ‘बर्खामा केटाकटी लिन र छोड्न जानुपर्छ, बढेको खोलाको डर हुनि’ कादेशका स्थानीय कृष्ण बहादुर पुनले भने ‘खोलामा पुल बने बाटो छोटिन्थ्यो, ढुक्क पनि हुन्थ्यो ।’
कादेशका सर्वसाधारणको मर्का बुझेको स्थानीय सरकारको पहलमा पूर्वाधार बिकास कार्यालयमार्फत दोबिल्ला खोलामा झोलुङ्गे पुल निर्माण थालिएको छ । काम सुरु भएको ५ महिनामा धेरथोर काम भएको छ । यसै आर्थिक बर्षमा काम सक्नेगरी मुक्तिनाथ निर्माण सेवाले काम थालेको हो । तर यो बर्षको बर्खामा पनि लेखानीका सर्वसाधारणले पुलबाट वारपार गर्नभने नपाउने भएका छन् ।
लकडाउनका कारण लठ्ठा रोकिएपछि निर्माणाधिन झोलुङ्गे पुलको काम रोकिएको छ । लठ्ठा तान्ने बाहेकका पूर्वाधारको काम सकेको निर्माण कम्पनीले लकडाउनका कारण निर्माण समग्री र लठ्ठा नपाउँदा काम रोकिएको जनाएको छ । ‘माघबाट काम सुरु गरेको असार मसान्तसम्म सकिन्थ्यो तर लठ्ठा आएन’ निर्माण कम्पनीका प्रमुख ओम गौचनले भने ‘सरकारले जिम्मा लगाएको कम्पनीले दिनुपर्ने कार्यालय नै बन्द गरेर बसेका छन् ।’
नेपाल सरकारले जिम्मा दिएको ट्रायल ब्रिज युनिटले लकडाउनपछि कार्यालय खोलेको छैन । लठ्ठाका लागि पूर्वाधार कार्यालयले पत्र लेखेर पठाएको छ । तर कार्यालय नै नखुलेकाले सम्पर्क गर्नै कठिन भएको शेरचन बताउँछन् । ‘उहाँहरुले आएर हेर्ने र काम अघि बढाउन भने हामीले काम असारमै सक्थ्यौं’ उनले भने ‘अव त उपाय नै छैन, समय थपेर काम गर्नुपर्छ ।’
यो पुल बने लेखानीको कादेशका झण्डै ४५ जना विद्यार्थी र सो क्षेत्रका सर्वसाधारण पुल बने लाभान्वित हुने वडाध्यक्ष चित्रकला छन्त्याल श्रीष बताउँछिन् । ३ सय ५९ मिटर लम्बाई र १.२५ मिटर चौडाईको यो पुल बने ओहोरदोहोरमा दुई घण्टा लाग्ने बाटो २० मिनेटमा छोटिने छ । लठ्ठा र केही पुलमा प्रयोग हुने सामग्रीबाहेक २ करोड ९३ लाखको लागतमा यो पुल बनाउन लागिएको हो । लकडाउनको समयमा समेत सावधानी अपनाउँदै कामलाई सूचारु राखेको निर्माण कम्पनीले लठ्ठाका कारण समय र लागत बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->