बागलुङ, १२ जेठ– स्वास्थ्य कार्यालय बागलुङले भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणका लागि स्वाब संकलनको काम सुरु गरेको छ । आइतबार जिल्लाको काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १४ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ३ जना काठेखोला र ११ जना ताराखोला गाउँपालिकाका हुन् ।
भारतबाट आएपछि क्वारेन्टाईनमा पाँच दिन समय बिताएका जिल्ला ६४ जना छन् । उनीहरु सबैको स्वाव संकलनको काम थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । पाँच दिन समयअबधि नपुगेका २५० जना भारतबाट आएका पनि क्वारेन्टाईनमै छन् । सरकारले बनाएको प्रोटोकल अनुसार क्वारेन्टाइनमा बसेको पाँच दिनपछि कोरोना परीक्षणका लागि स्वाव संकलन गर्नुपर्छ । तर जिल्लामा कोरोना जाँचका लागि स्वाव संकलनमा प्रयोग हुने किट नै छैन । अहिले स्वास्थ्य कार्यालयसँग रहेको ६० वटा किटले जिल्लाका नौवटा स्थानीय तहका क्वारेन्टाईनमा रहेका ६४ जनाको स्वाव संकलन थालिएको हो । त्यो बाहेक धौलागिरी अस्पतालसँग आपतकालिन अवस्थाको लागि भनेर राखिएका ७० किट छन् । जुन किटको प्रयोग गरेर बागलुङ नगरभित्रका क्वारेन्टाईनमा रहेकाको मात्रै स्वाव संकलन गर्ने योजना स्वास्थ्य कार्यालयले बताएको छ ।
‘पाँच दिन पुगेपछि सबैको परीक्षण गर्नुपर्छ तर हामीसँग भिटिएम छैन’ गुरौले भने ‘पहिलो चरणको संकलनको काम सकेर विकल्पको बिषयमा सोच्नुपर्छ ।’
दुई महिना पहिलेनै कोरोना संक्रमित देखा परेर पनि निको भैसकेको बागलुङमा स्वाव संकलनका लागि चाहिने किट निकै कम आउने गरेको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले प्राप्त किट नपठाउँदा बेला बेलामा किटको अभाव हुने गरेको गुरौले बताए ।
किटकै अभावका कारण भारतबाट आएकाहरुलाई चौध दिन क्वारेन्टाईनमा राखेर आरडिटी जाँच गर्ने विकल्पमा स्वास्थ्य कार्यालयले छलफल गर्ने गुरौले बताए । आईतबार समेत भारतबाट आउनेहरुको संख्या उच्च रहेको र अर्को व्यवस्था नहुने बेला सम्मको लागि सिमा नाकामा आएकाहरुलाई उद्धार गर्दा संख्या उच्च हुने देखिन्छ ।
स्थानीय तहले भारतबाट आउनेको आँकलन गर्दै क्वारेन्टाईनको क्षमता बढाउने काममा लागेको भएपनि परीक्षण हुने सम्भावना भने किट अभावका कारण न्यून हुँदै गएको छ । संक्रमण फैलिईरहेको भारतबाट आएकाहरुबाट संक्रमण फैलिनेमा सर्वसाधारण त्रसित छन् । तर, उनीहरुबाट जोगिन क्वारेन्टाईनमा राखेर चेकजाँचपछि मात्रै घर पठाउने काममा भने किटका कारण बाधा उत्पन्न भएको छ ।





