बागलुङ, १३ जेठ– बागलुङमा दलित अधिकारको क्षेत्रमा क्रियाशित दश संघ संस्थाले पश्चिम रुकुममा गैरदलितबाट भएको आक्रमणमा परि दलित युवाले ज्यान गुमाएको घटनाप्रति भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेका छन् ।
मंगलबार संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै घटनामा संलग्नहरुलाई हदै सम्मको कारवाहीको माग गरेका हुन् ।
नेपालको कानुनले छुवाछुतलाई दण्डनिय अपराध भनेको भन्दै रुकुममा भएको घटना सिंगो मानव जगतकै कलंक भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
अहिले पनि दलितमाथि गैह्रदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘अन्तरजातीय प्रेमका कारण व्यक्ति हत्या गरिनु र नरसंहार मच्चाउनु निन्दनीय छ’ बिज्ञप्तीमा भनिएको छ ‘बिगतमा भएका घटनाको न्यायिक निरुपण नहुँदै चौहरीमा भएको हत्याले सिंगो दलित समुदायको राज्य प्रणालीमाथि दलित
समुदायको आश र भरोसा गुम्दै गएको छ ।’
गत जेठ १० गते राती जाजरकोटको भेरी नगरपालिका–४ का नवराज बिक, टिकाराम बिक र गणेश बुढालाई स्थानीयले हत्या गरेको र सञ्जु बिक, गोबिन्द शाही र लोकेन्द्र सुनुवारलाई वेपत्ता बनाएको घटनाप्रति ति संघसंस्था भत्र्सना गरेका छन् ।
जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटी बीचको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न गएका दलितमाथि सांघातिक हमला भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारबादी संस्थाहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।





