बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘खोई गणतन्त्र ? भेरीमा बग्यो !’

‘खोई गणतन्त्र ? भेरीमा बग्यो !’

रुकुम पश्चिम नरसंहारको पोखरा र म्याग्दीमा विरोध


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

पोखरा, १५ जेठ – जातिय कारणले पश्चिम रुकुममा भएको ‘नरसंहार’को साँकेतिक विरोध गर्दै राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले पोखरामा विशेष कार्यक्रम गरेको छ । साथै सो घटनामा ज्यान गुमाउने नवराज बिक र उनका साथीहरुप्रति दीप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । गणतन्त्र दिवसकै दिन पोखरामा यो कार्यक्रमको आयोजना गरेर संघले गणतन्त्रको खोजी समेत गरेको छ । ‘परिवर्तनका थुप्रै लडाँईहरुमा दलित समुदायको मुद्दा उठेका छन् । तर समाजमा अझै पनि जातकै कारण दलितहरुलाई यस्तो विभत्स तरिकाले मारिन्छ । वास्तवमै दलित समुदायले गणतन्त्रको आभास गर्न सकिरहेका छैनन् ।’ राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीका अध्यक्ष रेम बिकले भने–‘गणतन्त्र कागजमा मात्र होईन, हरेक व्यक्तिको मानसिकतामा पनि आउनुपर्छ भन्ने कुरा हामीले साँकेतिक रुपमा भन्न खोजेका हौँ ।’
राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले रुकुम पश्चिममा जातकै आधारमा नरसंहार गरिनु अत्याधिक खेदपुर्ण भएको बताएको छ । साथै संघले सो नरसंहार गराउने सम्पूर्णलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग अगाडि सारेको छ ।
साथै पछिल्लो समय घटनापछि मुख्य मुद्दालाई तोडमोड गर्ने गरि गरिएका विभिन्न तर्कहरुप्रति ध्यानकर्षण जनाएको छ । ‘विभिन्न राजनीतिक दलका नेताहरु समेत यो मुद्दालाई फरक तरिकाले मोड्न उद्दत देखिएका छन् । साथै सामाजिक संजालमा पनि केही समूह यो मुद्दाको वास्तविक कुरालाई तोडमोड गराउने गरि कुतर्क गरिरहेका छन् ।’ संघका गण्डकी प्रदेश अध्यक्ष बिकले भने–‘यस्ता कुतर्कले सामाजिक सद्भाव खलबलाउने बाहेक अरु केही काम गर्दैन । र, यस्ता कुतर्कलाई आधार मानेर घटनाको अनुसन्धानलाई प्रभावित गर्ने काम गर्नु हुँदैन ।’
चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको सहआयोजना रहेको कार्यक्रममा पोखराका राजनीतिकर्मी, पत्रकार र सर्वसाधारणहरुको सहभागिता रहेको थियो । घटनाप्रति खेद जनाउँदै सहभागी सबैले जातिय विभेदको चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै रुकुम पश्चिममा घटेको अमानविय घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न दबाब दिएका थिए ।
रुकुम घटनाको निश्पक्ष छानवीनको माग
म्याग्दी – जिल्लाका दलित अधिकारकर्मीले पश्चिम रुकुमको चौरजहारी-८ सोतीमा अन्तरजातीय प्रेम सम्बन्ध र विवाह प्रकरणमा भएको घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानकर्षण गराएका छन् ।
रुकुममा अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुरमा लामिछानेले बताए । जिल्लामा रहेका विभिन्न १४ दलित अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले बिहिबार संयुक्त रुपमा प्रजिअ ढकालमार्फत सरकारलाई ध्यानकर्षण पत्र हस्तान्तरण गरेका छन् ।
गत जेठ १० गते जाजरकोट भेरी नगरपालिका–१४ रानागाउँका नवराज विकसहित रुकुममा उनकी प्रेमिकालाई लिन गएको युवाको समुहमाथि स्थानीयले कुटपिट गरि हत्या गरेको भन्दै घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->