शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जोखिम भत्ताले चर्चामा धौलागिरी अस्पताल, यस्तो छ बास्तविकता

जोखिम भत्ताले चर्चामा धौलागिरी अस्पताल, यस्तो छ बास्तविकता

डेडिकेटेड अस्पतालको चार महिनाको जोखिम भत्ता १ करोड ५३ लाख माग


  • तारानाथ आचार्य
  • जेष्ठ १६ २०७७, शुक्रबार

बागलुङ, १६ जेठ – दुई जना कोरोना संक्रमित र तीन जना कोरोना शंकास्पद बिरामीलाई आईसोलेसनमा राखी सफल उपचार गरेर हाईहाई बनेको धौलागिरी अस्पताल अहिले भने उपचारमा संलग्न चिकित्सकहरुको जोखिम भत्ताका कारण चर्चामा छ ।
अस्पताल प्रशासनले कोरोना भाइरस संक्रमित विरामीको उपचारमा जोखिम मोलेको भन्दै अस्पतालमा कार्यरत सवै स्वास्थ्यकर्मीको भत्ता माग गरेपछि चर्चा पाएको हो । अस्पतालका १ सय ६९ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई एकैचोटी चैत, बैशाख, जेठ र असार चार महिनाको १ करोड ५३ लाख रुपैयाँ जोखिम भत्ता माग गर्दै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयमा पत्र पठाएपछि अस्पताल चर्चामा छ । यो रकम अस्पतालमा नियमित खर्च हुने तलवभत्ता बाहेकको रकम हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र वि पोखरेलले ११ जेठमा मन्त्रालयमा पठाएको पत्रमा ‘धौलागिरी अञ्चल अस्पताल कोभिड–१९ को डेडिकेटेड अस्पताल घोषणा भएको हुँदा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नेपाल सरकारको तर्फबाट प्रदान गरिने नियमानुसारको जोखिम भत्ता’ उपलब्ध गराईदिन अनुरोध गरिएको छ ।
संघियत सरकारले जारी गरेको ‘कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता ब्यवस्थापन आदेश २०७७’ मा जोखिम भत्ताको व्यवस्था गरिएको छ । सोही आदेश अनुसार नियम अनुसारको भत्ता उलब्ध गराईदिन लेखी पठाएको डा. पोखरेलले वताए । आदेशमा उपचारमा संलग्न जनशक्तिको काममा खटाईको आधारमा १०० प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत जोखिम भत्ताको ब्यवस्था गरिएको छ । सोही अनुसार काममा संलग्नताका आधारमा चिकित्सक, स्वास्थ्यकर्मी, ल्याव टेक्निनिसियन सहित ११३ जनाको १०० प्रतिशत, प्रशासनमा काम गर्ने ३१ जनाको ५० प्रतिशत र अन्य चिकित्सक र स्वास्थ्यकर्मीको ७५ प्रतिशत माग गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयसंगको सल्लाहमा नियमानुसारको भत्ता मागिएको लेखा अधिकृत यामवहादुर थापाले वताए ।अस्पतालले पठाएको पत्र

पत्रमा प्रत्येक महिनाको ३८ लाख २९ हजार ५ सय ३९ रुपैयाँ ५० पैसाका दरले चैत, बैशाख, जेठ र असार चार महिनाको जम्मा १ करोड ५३ लाख १८ हजार १ सय ५८ रुपैयाँ पाउनुपर्ने दावी गरिएको छ । गण्डकी प्रदेश सरकारले कोरोना उपचारमा संलग्न जनशक्तिलाई संघिय सरकारले दिने सेवा सुविधामा २५ प्रतिशत थप गर्ने वताउदै आएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संक्रमित उपचार भइरहँदा बागलुङ अस्पतालमा आएको समयमा पनि संघिय सरकारले दिने सुविधामा २५ प्रतिशत थप गर्ने वताएका थिए । अस्पतालले अहिले माग गरेको जोखिम भत्तामा भने सो रकम समावेश छैन ।
सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख रामवहादुर केसीले अस्पतालले सवै जनशत्तिले काम गरेको भन्दै माग दावी पठाएको वताए । ‘अहिले यो रकम अस्पतालको माग दावी हो ।’ केसीले ढोरपाटनसंग भने, प्रदेशले पनि निर्देशिका बनाएको छ, संघको पनि आदेश छ, सोही आधारमा काम गर्नेहरुलाई प्रोत्साहन हुने गरी नै रकम भुक्तानी हुन्छ । निर्देशिकामा नै सवै सेवा, सुविधा र भुक्तानी प्रक्रियाको ब्यवस्था गरिएको छ ।’
चैतको दोस्रो सातादेखि संकास्पद बिरामीको उपचार थालेको अस्पतालले चैत १५ गते पहिलो कोरोना संक्रमितको उपचार थालेको थियो । नेपाल सरकारले चैत ९ गते देखि लागु हुनेगरी जोखिम भत्ता वितरण सम्बन्धि कार्यबिधि तयार गरेको भएपनि अस्पतालले भने चैत महिना सहित चार महिनाको जोखिम भत्ता माग गरेको छ ।संघिय सरकारले बनाएको जोखिम भत्ता निर्धारण कार्यविधि

अस्पतालले जोखिम भत्ता दावीका लागि मन्त्रालयलाई पत्राचार गर्ने बेलासम्म यो अस्पतालमा दुई जना मात्रै कोरोना संक्रमितको उपचार भएको थियो । अहिले भने थप ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा पहिलो संक्रमित बिरामीको रुपमा आएकी १९ बर्षिया युवती २७ दिन पछि घर फर्किएकी थिईन् । २७ दिनको अवधिमा अस्पतालले पहिलो पंक्तिमा रहेर काम गर्ने ११३ जना चिकित्सक तथा कर्मचारी रहेको दावी गरेको छ । प्रोत्साहन भत्ताका लागि पहिलो पंक्तिमा रहेका स्वास्थ्यकर्मी तथा कोरोनाका बिरामीको उपचार सुरु भएर सकिएको दिनको हिसाव गर्ने हो भने एक दिनमा चार जना स्वास्थ्यकर्मी पहिलो पंक्तिमा रहेर काम गरेको तथ्यांक आउछ ।
२७ दिनको अबधिमा पालो प्रणालीमा काम गरेका उनीहरु दोस्रो पटक संक्रमितको नजिक जानु परेन् । ‘नर्स नानीहरु खाना लिएर आउनुहुन्थ्यो केही चाहिए भन्नुस भन्नुहुन्थ्यो’ यहि अस्पतालमा उपचार गराएर घर फर्किएकी ६५ बर्षिया महिलाले ढोरपाटनसँगको सम्बादमा भनेकी छन् ‘डाक्टर बाबुहरुले फोनबाटै सोध्नुहुन्थ्यो मलाई प्रेसर बढेपछि आएर औषधि चलाउनुभयो, अरु दिन फोनबाटै सोध्नुभयो ।’ संक्रमितको कुरालाई मान्ने हो भने खाना पु¥याउने र अफ्ठेरो परेका समयमा बाहेक अग्रपंक्तिमा नर्सहरु मात्रै पुगेको देखिन्छ ।
अस्पतालका अनुसार अग्रपंक्तिका भन्दा केही कम जोखिममा काम गर्नेहरुको संख्या २५ जना छ । त्यो भन्दा धेरै कम जोखिममा रहेकाहरुको संख्या ३१ जना छ । ओपिडी सेवा नचलेकाले अस्पतालमा बिरामी आकस्मिक सेवामा मात्रै आएका छन् । अस्पतालले भने ओपिडी सेवामा काम गर्नेहरुको समेत जोखिम दावी गरेर मन्त्रालयलाई पत्र लेखेको छ । अस्पतालमा कार्यरत मध्ये दुई जना डाक्टरको मात्रै जोखिम भत्ता दावी गरिएको छैन् ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार एक जना दन्त बिभागका डाक्टर र अर्का एक जना बिरामी रहेकाले उनीहरुको जोखिम भत्ता दावी गरिएको छैन । ‘हामीले शंकास्पद बिरामीको उपचार पनि जोखिममै रहेर गरेका छौं, बिधि अनुसारकै दावी हो ।’ निमित्त मेसु डा.पोखरेलले भने, ‘यो दुई जना कोराना विरामीको उपचार खर्च होईन, पछिल्ला चार महिना जोखिम भत्ता हो ।’ प्रदेशमा माग गरिएको रकम चिकित्सक तथा कर्मचारीको प्रोत्साहन बापतको रकम मात्रै हो । त्यो बाहेक बिरामीको उपचारमा भएको खर्चको बिबरण सार्वजनिक भैसकेको छैन् । अस्पतालका अनुसार अनुसार जोखिममा हरेक महिना ३८ लाख २९ हजार ५ सय ३९ रुपैयाँ खर्च हुनेछ । कोरोनाका बिरामीको उपचार गर्नु पर्दा होस वा उपचारमा संलग्न नहुँदाको समयको समेत जोखिम भत्ता दावी भएको छ । यो बिचमा बिदामा बसेका चिकित्सकले समेत भत्ता पाउने गरी अस्पतालले दावी पेश गरेको छ ।
अस्पतालले जोखिम भत्ता दावी गरेको बिषयलाई गण्डकी प्रदेशसभाका सदस्यले भने दुई जना विरामीको खर्च १ करोड ६० लाख भएको विषय उठाएका छन् । म्याग्दीबाट निर्वाचित प्रदेशसभाका सदस्य विनोद केसीले बुधवार प्रदेशसभाको शुन्य समयमा बागलुङको अस्पतालले दुई जना कोरोना विरामीको उपचार गरेको १ करोड ६० लाख पायो भनेपछि यो बिषय चर्चामा आएको हो ।
१०० प्रतिशत जोखिम भत्ता माग गरिएका कर्मचारीको विवरण ।
७५ प्रतिशत जोखिम भत्ता माग गरिएका कर्मचारीको विवरण । ५० प्रतिशत जोखिम भत्ता माग गरिएका कर्मचारीको विवरण ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->