प्रिय कमरेड जनार्दन, अभिवादन
म तपाईको फ्यान हुँ । अनि विचारको अनुयायी पनि । यी शब्दहरु लेखिरहँदा मन निकै खिन्न भएको छ । कता–कता आक्रोसको ज्वाला उठेको छ, कतै ज्वालामुखी उठे जस्तै । अपराधी र विभेदले भरिएको नेपाली समाजमा जन्मिनु परेकोमा आफुलाई पश्चाताप पनि भएको छ । मानवता र विकासबारे विश्व समुदायसंग बहस गर्ने ल्याकत राख्ने म आज अन्तरजातिय प्रेमकै कारण भएको नरसंहारजस्तो निकै लज्जित विषयमा तपाइलाई पत्र लेख्नुपर्दा दुखी छु ।
हो कमरेड, जब तपाईले राम्रा कदम चाल्नु हुन्छ हामी त्यसलाई बुट्टा हालेर अनि तेजाबले सुन टल्काएझै गरेर बढाइचडाइ प्रचार गथ्र्याै । जब तपाईविरुद्वका कुनै पनि शब्द कसैले खर्चिन्थे तब हरेकसंग हामी प्रतिकार गथ्र्याै । अझ यसो पनि भनौ तपाईका हामी अन्धा समर्थक थियौं र तपाई हाम्रो एउटा आइइडल ।
सिंगो क्रान्तिको नाक काट्ने गरि युद्वको उद्गम भुमि रुकुममा भएको यो लज्जास्पद हर्कतले हामी सबैलाई दुखी बनाएको छ । हो कमरेड, तपाईकै आफ्नो जिल्लामा भएको नरसंहारले सायद तपाइ अरुभन्दा अझै बेसी दुखी हुनुभएको छ । तपाईँलाई यो पनि भनिदेउ कि अहिले सिंगो उत्पीडित समुदाय तपाइको भुमिका देखेर अझै बढी दुखी भएको छ । तपाईकै कार्यशैलीप्रति सशंकित भएका छन् । विश्वास नलागे तपाईको प्रतिक्रिया पछि उत्पीडित समुदायले तपाईप्रति देखाएको आक्रोस हेर्नुस् ।
जनयुद्वमा तपाइलाई हानिएका गोली छातीमा थापेर हाँसी–हाँसी मृत्युबरण गरेका दलित समुदायका योद्वाहरुको आत्मा तपाईको अहिलेको भुमिका देखेर भड्कीएको हुनुपर्छ, ग्वा ग्वा रोइरहेको हुनुपर्छ । तर मसँग शहिद बनेका मान्छेहरु रोएको देख्ने दुरबिन छैन । तर अन्तरजातीय प्रेमका कारण ढालिएका ६ जना कलिला युवाहरुलाई देख्न हामीलाई नत दुरबिन चाहिन्छ नत टेलिस्कोप नै, त्यो हरेक नेपालीको आँखा आँखामा छाएको छ कमरेड ।
हो कमरेड, तपाईमाथि पहिलो पटक प्रश्न उठ्न थालेको महसुस गरेको छु, त्यसैले पनि हामीलाई बढि दुःख लागेको छ । विस्तारै तपाइको निष्ठा, स्वच्छन्दता र समानतावादी परिचयमा शंकाका धर्साहरु कोरिन थालेका छन्, जसरी सेतो तन्नामा काला रेखाहरु तानिन्छन् ।
तपाइले भन्ने गरेको मान्छे अन्तराष्ट्रिय जातिको परिभाषाले तपाइलाई कुरिकुरि गर्न थालेको छ होला । मान्छे अन्तराष्ट्रिय जाति ठान्ने दर्शन आफंैमा चाहिँ लागु नहुँदो रचकि भन्ने पनि लागेको छ । हुनतः मान्छे आफु परिवर्तन हुन चाहदैन तर अरु परिवर्तन भएको हेर्न चाहन्छ भन्ने पनि त हामीले सुन्दै आएको हो, तर त्यसो हुनु हुन्न ।
र, अर्को कुरा पनि सुन्दै आएको छु सिद्धान्तका माछा खाना हुन्न तर खोलाका माछा त खाना हुन्छ नि । कतै सिद्धान्त र खोलाका माछाको यो कथन सावित हुन त लागेन, मलाइ शंका लाग्दै छ ।
मुस्ताङको उपल्लो भेगको भेडी गोठमा दिनभर सँगै चर्ने भेडा र बाख्राहरु साँझ परेपछि आफ्ना बथानतिर लाग्छन्, कतै कठिन परिस्थितीको यो घडिमा तपाई पनि आफ्नै बथानमा केन्द्रित हुन थाल्नु भएको होकि धेरैले यस्तै सोच्न गर्न थालेका छन् । तर कमरेड त्यस्तो कदापी हुने छैन किनकी तपाई न्यायको पक्षमा हुनुपर्छ । तपाइ पीडीतको आसुका तालहरुमा पौडिन पाउनु हुन्न ।
यतिखेर तपाईको अनुहारमा जातिवादको हिलो जर्बजस्त छ्यापिएको छ । मेरो आग्रह छ अनुहारमा छ्यापिन लागेको यो पापयुक्त आरोपलाई पीडितको न्यायको जाले रुमालले पोछेर जनयुद्वको तातो भट्टीबाट पोलिएर निस्किएको प्रभाकर हो भन्ने सावित गर्ने क्षमता राख्नुहोला । घटनाका दोषिलाई कारबाही गराउने काममा कुनै अवरोध नहोस् । घटनामा राजनीतीको तुरुप नफ्याकियोस् ।
यतिखेर देशमा कोरोनाको प्रकोप छ तर यो समाजमा कोरोनाभन्दा पनि ठुलो जातिय विभेदको भाईरस विद्यमान छ रत विभेदको भाइरसविरुद्ध कोरोनालाई पर हट भन्दै माइतघर मण्डला र देशभरमा अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।
कमरेड, यो पत्र मैले सम्मानिय प्रधानमन्त्री केपी ओलीको नाममा लेख्न पनि सक्थे । तर उहाँलाई दलितहरु मारेकोमा एउटा समवेदना लेख्ने फुर्सद छैन । किनकी उहाँ अहिले समृद्ध नेपालका गितहरु लेख्न व्यस्त हुनुहन्छ र एउटा गित त आज मात्रै पत्रिकामा पढे । प्रम ज्यू अलि विरामी मान्छे सायद उहाँ ‘समृद्व देश र सुखी नेपाली’को सपना साकार पार्न दिनरात खटिँदा यस्ता झिनामसिना कुरामा अल्झिन चाहना राख्नु हुन्न क्यारे । उहाँले दलित समुदायका युवाहरु मर्दा श्रद्धाञ्जली लेख्न जरुरी ठान्नु भएन, उहाँलाइ जरुरी लागेन पनि त होला । बरु दलितले बुढो गोरु काट्यो भने पानीमुनि पुगे पनि पक्रन आदेश चाहिँ उहाँको सरकाले दिँदै आएको छ र गोरु काटेर भोका पेट भरेका लिम्बु र केहि दलितहरु नभएको देशका कुनै जेल छैनन् होला ।
त्यसैले तपाइलाई नै यो पत्र लेखियो र यसको तात्पर्यता त तपाइले झर्लङ्गै बुझ्नु भएको छ । किनकी तपाई त निकै दुदर्शी पनि हुनुहुन्छ नि ।
आजभोलि सामाजिक सञ्जाल र ट्वीटरहरुमा तपाईप्रतिका सामग्री हेर्दा कतै रुकुम घटनाले तपाइको निष्ठा, अहिलेसम्म खडा गरेको व्यक्तित्व र माक्र्सवाद दर्शनको धहरा बर्लङ्ग ढल्छ कि भन्ने चिन्ता बढेको छ । कमरेड तपाईको आस्था, विचार र हाइट ढल्न दिन हुन्न त्यसलाई ढल्नबाट जोगाउनु होला ।
छोरा गुमाएका आफन्त र पीडित परिवारको विलापहरुले मलाई मनैदेखि झक्झकाएको छ । यो युगमा दलित भएकै कारण प्रेम गर्दा मारिनुपर्ने अवस्थाले फेरि म भित्रको चेतनाले विद्रोह सुरु गरेको छ । मभन्दा बढि ती आक्रोसित छन्, जसले भर्खरै फक्रदै गरेका फुलरुपी आफ्ना सन्तान गुमाए । अझै बढि दुःखी त गोपाल बिकहरु छन्, जो जातिय विभेदको दासताबाट मुक्ति पाउने आशामा तपाईसंगै दाङ, रोल्पा र जाजरकोटको युद्ध मैदानमा लडे । उनीहरुले त्यतिबेला तपाइको पछि लागेर गल्ती गरिएछ कि भन्ने आशायका आक्रोशित शब्द लेखेर कतारबाट तपाइलाई गाली गर्दैछन् । कमरेड, ती गोपालहरुको आक्रोसको आगोमा घ्यु नथपिदिनुहोला ।
दुई दिनअघि १२ औं गणतन्त्र दिवश थियो । तपाइहरुले गणतन्त्र दिवशको अवसरमा दिप प्रज्वलन गर्दैगर्दा कथित उपल्लो जातकी केटीलाई प्रेम गरेकै कारण मरेका नवराजको चिता भेरी किनारमा बल्दै थियो । लाग्यो, उनको चितासंगै ७० लाख दलित समुदायको मुक्तिको सपना जल्यो, विभिन्न कालखण्डमा गरेको त्याग र बलिदान बग्यो अनि यो खोक्रो गणतन्त्र पनि जल्यो । प्रेम गरेकै कारण मर्नुपर्ने दलितका लागि गणतन्त्र कहिले आउँछ होला कमरेड ? मलाइ सारै सोध्न मन लागेको छ ।
सर्वहारा वर्गको सत्ता लिन हिँडेकाहरुमध्ये धेरै देशका मुख्य पदमा पुगे । तपाइ पनि त दुइदुइ पटक मन्त्री हुनुभयो नि हैन र ? गणतन्त्र स्थापना र देशमा नयाँ सँविधान जारी भएपछि पनि १४ जना बढि दलित समुदायका व्यक्तिहरुले ज्यान गुमाए । कथित उच्च जातकी केटी विहे गरेकै कारण मारिएका अजित मिजारको लास अझै टिचिङमा सडेको छ । पानी छोएको निहुँमा, मन्दिर पसेको निहँुमा आज पनि उनीहरु पिटिन्छन्, बलात्कारमा पर्छन अनि मर्छन् पनि ।
फेरि अहिले रुकुमको अति निष्कृष्ट नरसंहार पनि जातसंगै जोडिएको छ । र, त्यो घटनामा तपाइले लिनुभएको जातिय पक्षधरताको चर्चा झनै चुलिदै गएको छ । आग्रह गर्न चाहन्छु घटनामा कुनै पनि अपराधीलाई कुनै पनि ढंगले ढाकछेप नगरियोस् । लासहरुमाथि कसैले राजनीति नगरुन । हो कमरेड, तपाईले संसदको रोस्टममा उभिएर भन्नुभएको थियो– ‘घटनामा राजनिति हुन्न’ । यो शब्द कसैलाई स्पष्टीकरण थियो वा आफैभित्रबाट अकस्मात निस्किए, मलाइ अचम्म लागेको छ ।
जनार्दन कमरेड तपाइ उज्यालो नेपालको अभियान्ता हो यसमा दुईमत छैन । तपाईले केही समयअघि रातारात कोरोना अस्पताल बनाउँदा पनि खुब खुसी लागेर तपाइप्रति श्रद्वा जागेर आएको थियो । दक्षिण कोरियाबाट फर्कने दिनमा तपाईले घाँटीमा पैराएको खादा अझ पनि म संग सुरक्षित छ र, त्योभन्दा पनि बेसी तपाइले भन्ने गरेको सर्वहारा वर्गको मुक्ति र उत्पीडित समुदायको पक्षमा गरेको हुंकार यी कानमा गुञ्जिएका छन् ।
तपाई सदनमा उभिएर रुकुम घटनाबारे बोल्दा लाखौं मान्छेका आँखा र कान तपाईमा केन्द्रित थिए । तपाइलाई निकै कठिन भएको महसुस गरेको थिए । गला निकै अबरुद्व भएको पनि त थियो नि हैन ? मास्कले मुख छोप्नु भएको थियो तर त्यो भन्दा पनि बढि त जातिवादी कालो पर्दाले तपाईको चिन्तन र सिद्वान्तलाई छोपेको तपाईको प्रस्तुतीमा देखिन्थ्यो ।
तपाईका दुई आँखालाई सघाउने अझै दुइवटा सिसाका आँखा थिए । ती चश्माभन्दा पनि समाज व्यवस्था र मान्छेलाई हेर्ने माक्र्सवाद र साम्यवादको मुख्य शक्तिशाली आँखा त झन् तपाईको मगजमा थियो तर ती आँखालाई बन्द गरेर तपाइले जातियताको एउटा आँखा खोल्नु भयो । तो जातिय आँखाले भर्खरै कोपिलामा खेल्दै गरेको दलितका छाउराहरुलाई थिचीथिची कोपिलामै निमोठेको देख्न सकेन । नत उनीहरु मर्नुको यथार्थ कारण दिनुभयो बरु घटनालाई भवितब्यतिर मोडिदिनु भयो, दार्जेलिङको घुम्तिमा रेल मोडे जसरी । अनि फ्याट्ट भनिदिनु भयो वडा अध्यक्षले प्रहरीलाई बोलाए, झडपको अवस्था भयो अनि ज्यान बचाउन केटाहरु भेरीमा हाम फाले ।
हो कमरेड, राजकुमार बगरले लेखेको एउटा गित निकै पहिले सुनेको थिए…।
पराइले ढुंगै हानोस् एकछिन दुःछ निको हुन्छ
आफ्नाले फूलले हानोस् जिवनभरि दुखी नै रहन्छ ।
आफ्ना ठानेकाले सानो कुरामा चित्ता दुखाउँदा पनि धेरै दुख्ने रहेछ । किनकी हामीले तपाइलाई आफ्नो ठानेका थियौं र आम उत्पीडित समुदायले तपाइलाई आफ्नो ठानेको छ । श्रमजीवि र उत्पीडत वर्गको सारथी । संसदमा तपाइको घटना ब्रिफिङको गलत प्रस्तुतीले न्यायको निम्ति हात थापेर बसेका मृतक परिवारको अञ्जुलीभरि आँसु भरिएको थियो । उनीहरुले भने– आफ्ना आफन्त छाडेर, किन हामी पीडितको बारेमा बोलुन ? कतै यो जघन्य अपराध अन्तै मोडिन्छ कि कतै शक्तिशाली नेता आफन्त पीडकको पक्षमा उभिएर न्याय मिल्दैन की भन्ने त्रासमा छन् पीडित परिवार ।
तपाइले संसदमा उभिएर बोलिरहँदा बाघजस्तै प्रस्तुत हुने तपाइको शिर झुकेको पहिलोपटक मैले अनुभव गरेको थिए । मान्छेलाई मनमा सत्य कुरा राखी, मुखबाट झुट बोल्न कति कठिन हुँदोरहेछ भन्ने प्रमाण तपाईको अवस्थाले देखाउँथ्यो । त्यत्रो जनयुद्वमा तोप र मृत्युसंग नझुकेको तपाइको त्यो शिर कसरी झुक्यो होला कमरेड ?
अझै लाजमर्दो त के भयो भने नि उग्र क्रान्तिकारी माओवादी र कम्युनिष्टहरु अपराधको पक्षमा र पुरातनबादी भनेर तपाई हामीले आरोप लगाउने कांग्रेसीहरु विभेदको विरुद्वमा उभिएजस्तो देखिनु । ओहो ! यो भन्दा ठुलो लज्जा के हुन सक्ला र ? यस्तो लाग्यो कि त्यो बेला त दशबर्षे युद्वले पनि नाक छोप्दै हुँदो हो ।
हो कमरेड, सत्य थाहा नै नभएको भए झुट नबोल्नु पथ्र्याे । ती युवाहरु आफै भेरीमा हेलिन अवश्य गएका थिएनन् होला । यदि नदीमै हेलिन गएको भएपनि हेलिनुपर्ने कारण छ होला नि । हेलिन बाध्य किन बनाईयो भन्ने पनि त थियो होला नि होईन र ?
तपाईँ त गृहमन्त्री भै सकेको मान्छे, सम्पर्कमा देशभरका प्रहरी प्रशासन छन् । अझ नरसंहार भएको ठाउँ त तपाईको आफ्नै जिल्ला । अझै अघि बढेर भन्ने हो भने तपाइको अफन्त पनि त रहेछन् त्यो ठाउँमा । कतै यसैले पनि तपाइलाई अप्ठ्यारो भएको हो कि ? बोल्दा घाँटीमा ती आफन्तको अनुहार आएर पो अल्झिए छ कि कमरेड ! तर यस्तो पासविक घटनाका दोषी जो हुन तीनलाई कारबाहि नगरे भेरीमा तैरिएका युवाका लासहरूले पोल्ने छ, आफैले खाएको कसमले पोल्ने छ ।
मिडियाहरुले यति धेरै समाचार, भिडियो र अन्तर्वाता छापेका छन् । हात बाँधेर खोलामा फ्याकिएयो कुरा लास भेट्याउने पौडीबाज जनक रोकायालाई सोध्नुस् । लासको अवस्था के छ ? अस्पतालमा शब पोस्टमार्टम गर्ने डाक्टरलाई सोध्नुस् । अब मैले भन्छु तपाइलाई– युवाहरुलाई कुटेरै भेरीमा हेलिएको हो ।
हो, आफ्नाको माया लाग्छ । किनकी हामीमा केहि न केहि त आफ्नोपन छ, अझै रुकुमेली माटोको माया पनि लाग्छ नि । नेता भएकोले भोट त झन् संरक्षित गर्ने परि गो । भोटहरुको हिसाबकिताबले मन बहकियो कि कमरेड ? तर त्यस्तो कदापी नहोस् र हुन दिनुहुन्न । कमरेड, तपाईका समर्थक केवल रुकुमको सोतीमा मात्र छैनन् भाइको ससुराली भए पनि । सोतीका मल्लहरुको मात्र जिवन होइन जाजरकोट रानागाउँका दलितहरुको पनि त जीवन हो नि होइन र ?
त्यसैले कमरेड यो घटना केवल भाइको सालो र मेयरको भतिजसंग मात्र जोडिएको छैन । यो त यहाँ मान्छे बाँच्न पाउने नैसर्गिक अधिकारसँग जोडिएको छ । स्वतन्त्रपुर्वक प्रेम गर्न पाउने अधिकारसँग जोडिएका छ । घटनामा विभेद मात्र जोडिएन सिंगो सोती गाउँको मावता, रुकुमलाई हेर्ने दृष्टिकोण र जनयुद्वको सफलता असफलताका अनेकौ पाटाहरु पनि जोडिएको छ ।
हिजो अत्याचारको बिरुद्व बारुद पिएर रगत ओकल्न सिकाउनु भयो । तपाईका जोशिला भाषणले खेतमा कुटो खन्दै गरेका युवाहरु युद्वमा होमिए । छुवाछुत र विभेद मुक्तिको निम्ति दलितको मनोविज्ञानलाई रिस र आक्रोसको बम बनाएर बिस्फोट गराइदिनु भयो । तीनै सर्वहारालाई भर्याङ बनाएर सत्तामा पुगेको कुरा बिर्सनु भएको छैन होला । हो कमरेड, बिर्सनु हुँदैन किनकी त्यो कुरा विर्सिनु भनेको आफैलाई बिर्सनु हो ।
यदि बिर्सनु भयोभने महान जनयुद्वमा रगत बगाउने दलितहरुमाथि उपहास हुनेछ । सोध्नुस् तपाइलाई भोट हाल्ने ती दलितहरुलाई । अनि सोध्नुस झुटो बोलेको आफ्नो आत्मालाई ।
भेरी नदीको उर्लदो भेलमा बगिरहेका कम मगज र अपरिपक्क जोस भएका अल्लारे युवाहरुलाई विधीबारे थाहा थिएन पक्कै । केही गल्ती उनीहरुबाट भएका पनि होलान् तर घर नजिकको जनताको सरकारका स्थानीय प्रधानमन्त्री डम्मर मल्लकै नेतृत्वमा सिँगो गाउँनै उठेर गरिएको यो नरसंहारलाई जति निन्दा गर्दा पनि कमी हुन्छ । नदीबाटै छोपेर मुखमा बालुवा कोचीकोची मारेको घटनाले तपाइलाई दुख्नुपर्छ । राजा, मल्ल र मुखिया खलकसँगको छाया र माया लागेर आउनु हुन्न किनकी उनीहरुले गरेको अपराधको सजाय उनीहरुले पाउनुपर्छ भन्ने सबैको माग छ ।
त्यहिँ भेरी नदीका किनारहरु अझै साक्षी छन्, तपाइले अन्याय अत्याचार र विभेदविरुद्व गरेका प्रतिबद्वताहरु के–के थिए ? जनयुद्वमा मारिएका वरपरका ती मान्छेहरु को–को थिए ? यसो आँखा चिम्लेर सोच्नु होला । ‘खोला तरेर लौरी बिर्सने’ भनेझै रुकुमबाट काठमाण्डौ पुगेपछि लौरो नबिर्सिनु होला ।
भनिन्छ, मौकामा हिरा फोर्न सक्नुपर्छ । कुशल नेतृत्वको परीक्षा विशेष समयमा हुन्छ र यहिँ घटनाले तपाईको परिक्षा लिने छ । म र मजस्ता लाखौं तपाईका समर्थकहरुको विश्वासको धरहरा भत्किन नपाओस् । निश्पक्ष छानविनमा सघाएर दोषीलाई कारबाही गराउन तपाई अग्रमोर्चामा उभिनुपर्छ ।
जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहका अध्यक्ष नै यो घटनाका मुख्य जिम्मेवारी देखिन्छन् । तसर्थ उनी लगायतका सम्पुर्ण दोषीहरुलाई सजाय होस् । जसले गर्दा कानुनी राज्यको महशुस हुने छ । यदी यसो हुन सकेन र यसलाई विभिन्न बहानामा दोषीहरुले बिगतमा जस्तै उन्मुक्ति पाएभने सरकारको नियमनकारी निकायले घटनाको अनुसन्धान फेरि पनि तथाकथित उपल्लो भनिने जाति र बर्गको एकलौटी सत्ता र शक्तिको छत्रछायाँमा पर्यो भन्ने कुरा प्रस्ट हुने छ । फ्रान्सियो बाकेनले भनेजस्तै यदि हामीले न्याय राख्दैनौ भने न्यायले हामीलाई सधै राख्दैन भन्ने नै हुन्छ । पीडित समुदायले पनि कानुनको पालना गर्नुपर्छ भन्ने हुँदैन । तसर्थ, आशा गरौं यो घटनाले सिंगो मानव समुदायको मनमा लाएको घाउलाई न्यायिक निकायको फैसलाले मल्हम लगाउने छ र यसमा कमरेडहरुको विशेष भुमिका हुनेछ भन्ने विश्वास लिन्छु र यदि त्यसो हुन सकेन भने यसको मुल्य भबिस्यमा निक्कै महंगो पर्नेछ भन्ने कुराको हेक्का समेत राख्न जरुरी छ ।
तपाईको शुभचिन्तक
हाल बागलुङ





