बागलुङ, २१ जेठ– कोरोनाका बिरामीको उपचार गरिरहेको धौलागिरी अस्पताल बागलुङमा बुधबार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले निरिक्षण गरेकी छन् । ६ जना कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालका चिकित्सकको आत्मावल बढाउन भन्दै मन्त्री पुन बागलुङ आएकी हुन् ।
अस्पतालको निरीक्षण गर्दै पुनले अस्पताल प्रशासनले दाबी गरेको जोखिम भत्ताका कारण भैरहेको आलोचनाबाट बिचलित नहुन चिकित्सकहरुलाई ढाडस दिएकी थिइन् । सरकारले बनाएको विधिअनुसार नै अनुगमन समितिको सिफारिसका आधारमा काम गरेकालाई जोखिम भत्ता उपलव्ध गराईने भन्दै पुनले हल्लाका पछि नलाग्न स्वास्थ्यकर्मीलाई आग्रह गरिन् । उनले उच्च मनोवलका साथ कोभिड–१९ र अन्य सेवाका बिरामीको उपचारमा समेत लाग्न चिकित्सकहरुलाई आग्रह गरेकी थिइन् ।
नेपाल सरकारले बनाएको निर्देशिकाकै आधारमा माग गरिएको जोखिम भत्तामा बिनाकारण आलोचना भएको भन्दै चिकित्सकहरुले मन्त्रीसँग असन्तुष्टि जनाएका थिए ।
कोरोना संक्रमितको उपचारमा धौलागिरी अस्पतालले अपनाएको बिधि गण्डकी प्रदेशकै नमुना भएको भन्द्यै मन्त्री पुनले अझ धेरै बिरामीको कसरी उपचार गर्ने भन्ने बिषयमा योजना बनाएर काम गर्न आग्रह गरिन् । भारतबाट आउनेहरुको जाँच चलिरहेको र संक्रमित थपिनेतर्फ संकेत गर्दै उनले धौलागिरी क्याम्पसमा बनाउने भनिएको आईसोलेसनका लागि जिल्लास्थित कमाण्ड पोष्ट र स्थानीय सरकारसँगको सहकार्यमा आईसोलेसन बिस्तार गर्नुपर्ने बताईन् ।
अस्पतालले चिकित्सकको व्यवस्थापन गर्ने र स्थानीय सरकारले भौतिक तथा आवश्यक पूर्वाधारको व्यवस्थापन गर्नेगरि समन्वय गर्नुपर्नेमा उनको जोड थियो । संकटको समयमा नागरिकको उपचारमा खट्ने जो–कोहीलाई सरकारले बनाएको बिधि अनुसारनै सुविधा उपलव्ध गराउनु भन्ने संघ सरकारको निर्देशनसमेत रहेकाले ढुक्क भएर जिम्मेबारी बहन गर्न उनले चिकित्सकहरुलाई आग्रह गरिन् ।
मन्त्री पुनसँगै निरीक्षणमा आएका सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. राम बहादुर केसीले बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका थिए । मन्त्री पुनको टोलीले बुधबार पर्वत र म्याग्दी जिल्ला अस्पतालको निरिक्षण गरेको थियो ।
भारतबाट आएकाहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि धौलागिरीका चार जिल्लामा संक्रमितको संख्या बढेको छ । यहाँका बिभिन्न अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । यसअघि संक्रमण पुष्टि भएका बागलुङका दुई जना भने निको भएर घर फर्किसकेका छन् ।





