
पोखरा, २५ जेठ – गण्डकी प्रदेशका सभासदहरुले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षणमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टी जनाएका छन् । उनीहरुले स्थानीय तहलाई पीसीआर मेसिन किन्नको लागि सहजिकरण तथा परीक्षणको गति तीब्र बनाउन माग पनि गरेका छन् ।
सभासद ईन्द्रलाल सापकोटाले बागलुङमा भारतबाट फर्केका १५६८ जना क्वारिण्टाइनमा भएको र तीमध्ये २९ जना बागलुङको धौलागिरी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क पेश गर्दै परीक्षणको गति ढिला भएकोमा असन्तुष्टी जनाए ।
‘यी क्वारेण्टाइन, १३ दिन, १४ दिन १५ दिन बसेको भएको छ,गण्डकी प्रदेशको हस्पिटलमा रहेको जामको कुरा गरिएको छ, अस्तिसम्म भिटीएमको अभावको कुरा गरिएको छ’,आइतबारको प्रदेशसभाको विशेष समयमा बोल्दै सापकोटाले भने,‘चाहे जामको कुरा होस् वा भीटिएम अभावको कुरा होस्, १५ दिन हुँदासम्म क्वारेण्टाइनमा स्वाब लिने काम गरिएको छैन, जसले गर्दा गाउँपालिकालाई खुवाउने र राख्न समस्या भएको छ, यसमा म गण्डकी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५÷७ दिनसम्म पनि परीक्षणको नतिजा दिन नसकेको गुनासो पनि गरे ।
सत्तापक्षको प्रतिनिधित्व गर्ने सापकोटाले बागलुङ ठूलो जिल्ला भएको दलिल पेश गर्दै बागलुङ अस्पताल भरिएकाले बागलुङ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन माग गरे । त्यसमा लगानी गर्न वरपरका गाउँपालिका तयार भएको उनको भनाई थियो । बागलुङमा संक्रमित बढ्दै गएपछि थप आइसोलेसन केन्द्र बनाउनको लागि सहयोग मात्रै मागेनन्, बागलुङ अस्पतालको लागि पीसीआर मेसिन खरिद गरेर माइक्रो बाइलोजिष्टको व्यवस्था गर्न माग गरे ।
संक्रमण फैलेको स्याङ्जाका सभासद भागवतप्रकाश मल्लले पीसीआर मेसिन किन्न वालिङ नगरपालिका तयार रहे पनि मेसिनका दलालहरुको अवरोधले त्यसमा समस्या परेको जिकिर गरे । ‘हामी आफै किन्छु भन्दा त्यसको मूल्य डेढ करोडसम्म भनियो, जबकि त्यसको मूल्य ३६ लाखजति पर्छ भन्ने सुनेको छु’, उनले भने,‘प्रदेशले यसको व्यवस्थापन गर्नुप¥यो ।
अर्का सभासद विन्दुकुमार थापाले संक्रमण फैलँदै गर्दा प्रदेशमा स्रोत साधन सम्पन्न अस्पताल बनाउन अत्यावश्यक देखिएको बताए । उनले पोखराको वडा नम्बर ८ मा संक्रमण देखिनु समुदायमा संक्रमण फैलेको प्रमाण भएको जिकिर गर्दै आइसोलेसन वार्ड बढाउन र परीक्षण बढाउन माग गरे । उनले बनाइएका क्वारिण्टाइनहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको हुनुपर्ने सुझाव पनि दिए ।
पर्वतबाट प्रतिनिधित्व गर्ने सभासद जुनादेवी नेपालीले कोरोना परीक्षणको दायरा बढाउन र अविरल वर्षाबाट भएको क्षतिमा ध्यान दिन माग गरिन् । सभासद दोबाटे विश्वकर्माले पनि स्थानीय निकायहरुले पीसीआर मेसिन किन्न पाए किन्छौँ भन्दा पनि किन्न नपाएको गुनासो गरे ।
सभासद राजिव पहारीले कोरोना कम्युनिटीमा फैलिन नदिन ध्यानाकर्षण गराए । शुन्य समयमा बोल्दै सभासद खिमविक्रम शाहीले कोरोना भाइरसले गण्डकी प्रदेश प्रताडित बन्दै जाँदा बागलुुङ जिल्लाको पश्चिमी भेग निसीखोला, तमानखोला, बढिघाट गाउँपालिका र ढोरपाटन नगरपालिकामा बढी संक्रमित थपिएको सुनाए । आइसोलेसनको व्यवस्था धौलागिरी अञ्चल अस्पतलामा मात्रै भएको र बिरामीको संख्या थपिंदै गएको हुनाले बुर्तिबाङ स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्डको व्यवस्था गर्न उनले प्रदेश सरकारसँग माग राखेका थिए ।
बागलुङका सभासद मणिभद्र शर्माले सभाबाट पारित भई सकेको मुख्यमन्त्री नमुना गाउँमा ७० परिवारले मात्रै हालिमुहाली गरेकोले त्यसमा धेरै जनता समेट्न माग गरे । गोरखाकी सभासद मनकुमारी गुरुङले भारतबाट जिल्ला छिर्नेको उपक्रम बढेको हुँदा आइसोलेसन र पिसिआर परिक्षणको दर बढाउन माग राखिन् । सभासद धनमाया पोखरेल लामाले स्थानीय तहलाई पिसिआर किन्न अनुमति दिनुपर्ने माग नै राखिन् ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक पारित
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयकमाथि उठेको प्रश्नमाथि सामाजिक विकास मन्त्री नरदेवी पुनले जवाफ दिएपछि सो विधेयक बहुमतले पारित भएको छ ।
सांसदले उठाएका प्रश्नमाथि जवाफ दिंदै मन्त्री पुनले सांसदहरुबाट सकारात्मक सुझाव आएको बताइन् । फरक आदर्शमा बोकेर, फरक पार्टीमा आबद्ध भएकाले पनि विमति हुनु स्वभाविक रहेको उनको भनाई छ । जे जसरी आबद्ध भए पनि सबैको साझा उद्देश्य आर्थिक रुपमा सक्षम बनाउने रहेको सुनाइन् ।
प्रदेशलाई समृद्ध बनाउन केही चुनौति पार गर्न पनि विधेयक ल्याएको उनले सुनाइन् । प्रदेशमा ८६ हजार घरपरिवार गरिबीको रेखामुनी रहेको र ९ प्रतिशत पूर्ण रुपमा बेरोजगार भएकाले पनि प्रदेशमा स्वरोजगार सिर्जना गर्न आवश्यक रहेको उनले सुनाइन् । अन्तर्राष्ट्रिय श्रम बजारमा गण्डकी प्रदेशबाट साढे ४ लाख नागरिक रहे पनि कोरोनाको कारण बेरोजगारी बढ्ने उनले बताइन् । उच्च शिक्षामा ७० प्रतिशत नागरिक साधारणतिर, ३० प्रतिशत प्राविधिक शिक्षामा रहे पनि अधिकांश बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको उनले सुनाइन् । सिटिइभिटीले के गरेको छ भनेर प्रश्न उठ्न गरे पनि अहिले सिटिइभिटीले आफ्ना कलेजबाट उत्पादन गरेको जनशक्ति बजारलाई चाहिने उत्पादन नभएको उनले सुनाइन् । ‘पुरानो पाठ्यक्रम ऊ सँग छ । बजारमा सरकार र नीजि क्षेत्रले आफ्नो जनशक्ति चाहिए अनुसार पाएका छैनन्’, उनले भनिन्, ‘गण्डकी प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन प्राविधिक प्रतिष्ठानको आवश्यकता महुसु गरेर सोही अनुसार विधेयक आएको छ । बजारको माग अनुसार जनशक्ति उत्पादन गर्ने छौं ।’ प्रतिष्ठान सञ्चालनमा आएपछि बेरोजगारी घट्ने उनको अनुमान छ ।
संरक्षकको रुपमा मुख्यमन्त्री नै किन ? भन्ने सांसदहरुले उठाएको जिज्ञासामा महत्वपूर्ण विषय भएकाले पनि मुख्यमन्त्रीलाई संरक्षकमा राखिएको बताइन् । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा आर्थिक भौतिक रुपमा सहयोग गर्ने दुई जना मनोनित गर्न नागरिकता चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्नमा गैरआवासीय नागरिकलाई इंगित गरिएको उनले प्रष्ट्याइन ।
विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयकमाथिमाथि दफाबार छलफल सुरु
उद्योग वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयकमाथि दफाबार छलफलको लागि समय मागेपछि सो विधेयकमाथिको दफाबार छलफल सुरु भएको छ । दफाबार छलफलमा आफ्ना भनाई राख्दै सांसद दीपक कोइरालाले आजको समय विज्ञान र प्रविधिका युग भएकाले हरेक कुरा विज्ञानबाट मात्र सम्भव हुने बताए । विकासको गतिमा हिंडेका राष्ट्र विज्ञान र प्रविधिको सही ढंगले सञ्चालन गर्न सक्दा मात्र ति देश अघि बढेको उनले सुनाए ।
अर्का सांसद बिन्दुकुमार थापाले चौतर्फी दीगो विकास गर्न विधेयक महत्वपूर्ण रहेको बताए । भविषयमा कसरी लागु हुन्छ त्यसले फरक पार्ने उनले सुनाए ।
सांसद रोशन गाहामगरले विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान गर्न बनेको विधेयकले प्रदेशलाई सक्षम अब्बल दर्जाको बनाउने बताए । राजनीतिको आभाष कहींकतै नमिलेको हुनाले पनि विधेयकमाथि शंका नगर्न उनले सांसदहरुलाई सुझाए । दफाबार छलफलमा सरिता गुरुङ, मधु अधिकारी गुरुङले पनि बोलेका थिए । छैटौं अधिवेशनको अर्को बैठक सोमबार १ बजे बस्ने छ ।





