आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

साइक्लिङ युग सुरुवातको सुनौलो अवसर

साइक्लिङ युग सुरुवातको सुनौलो अवसर


  • दिवस गुरुङ
  • जेष्ठ २६ २०७७, सोमबार

विश्वव्यापी रुपमा फैलिएको कोरोनाले सारा विश्व आक्रान्त छ । संक्रमण फैलिन नदिन धेरै देशहरु अझै लकडाउनमै छन् । आम मानिसको जीवनशैलीमा यु–ट्रन आएको छ । भाइरसको कारणले भन्दा पनि यसले निम्त्याउने अन्य समस्याहरुले धेरै मानिसहरुको ज्यान जाने आँकलन गरिएको छ । हरेक अभाव, संकट र विपदपछि धेरै अवसरहरुका बाटा पनि खुल्छन् । युरोपका धेरै शहरहरु साइकलमैत्री र पैदलमैत्री सडकका लागि प्रसिद्ध छन् । कोरोना कहरले अमेरिका पछि युरोपलाई सबैभन्दा धेरै आक्रान्त पारेपनि यति सजिलै उनीहरु थाक्ने पक्षमा भने छैनन् । कोरोनालाई परास्त गर्न उनीहरु जति तल्लीन भएर लागेका छन्, त्यो भन्दा बढी महामारीलाई अवसरको रुपमा लिएर सुनौला भविष्यका योजनाहरु बुन्दैछन् ।
लकडाउनको समयमा अतिआवश्यक कामका लागि बाहिर निस्कँदा आम मानिसहरु साइकलकै प्रयोगलाई प्राथमिकता दिइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले पनि लकडाउनको समयमा एक मिटरको शारीरिक दूरी निर्धारण गरेर साइकल र पैदललाई विशेष जोड दिएको छ । कोरोना साम्य भइहाले पनि भविष्यमा आम मानिसमा भने यसको त्रास कायमै रहने विश्वास गरिन्छ । भर्खरै गरिएको एक अनुसन्धानले लन्डन शहरमा ६१ प्रतिशत मानिसहरु लकडाउन पछि सार्वजनिक यातायातको प्रयोग गर्न त्रासमा रहेको देखाउँछ ।
यता लडकाउनको समयमा विश्व वातावरणमा सकारात्मक परिवर्तनहरु पनि देखिएका छन् । लकडाउनमा खुलेको दिल्ली शहरको फोटो होस् वा लन्डन शहरको, खुलेको काठमाडौबाट देखिएको सगरमाथाको फोटो होस् वा भेनिस शहरको नहरमा डल्फिनको फोटो सामाजिक सञ्जालमा राम्रै चर्चाहरु बटुले । यता लकडाउनको समयमा ओजोनको सतह १.५ देखि २ गुणाले बढेको अनुसन्धानले बताएको छ । लकडाउनको अवधिमा चीनको हुवान प्रान्तमा नाइट्रोजन डाइअक्साइड ६३ प्रतिशतले घटेको एक सर्वेक्षणले देखाएको छ । कोरोना कारणले चीनमा ४६३४ जनाको मृत्यु हुँदा त्यही अवधिमा वायु प्रदुषणको दर घटेपश्चात यसले १०,८२२ जनाको ज्यान बचाएको दाबी विज्ञहरुको छ ।
इ.यु. वातावरण एजेन्सीको तथ्यांक अनुसार युरोपेली युनियनमा रहेका २७ देशहरु र ब्रिटेनमा वायु प्रदुषणले हरेक वर्ष ४ लाख भन्दा बढीको अकालमै ज्यान जान्छ । तर लकडाउनको कारणले वायु प्रदुषणबाट अकालमै ११,३०० मानिसको मृत्यु हुनबाट जोगिएको उनीहरुको अध्ययनले देखाउँछ । त्यसैले युरोपका धेरै देशहरु लकडाउन पछि पनि कार्बोन र नाइट्रोजनको उत्सर्जन कटौती गर्ने रणनीति तयार पार्न व्यस्त छन् । वायु प्रदुषणको एक मुख्य स्रोत यातायात नै हो । एक त कोरोना भाइरस सर्ने भय र अर्को लकडाउनमा वातावरणमा देखिएका सकारात्मक परिवर्तनहरुले गर्दा उनीहरु सार्वजनिक यातायातको साधनलाई कटौती गर्दै साइकल प्रयोगलाई जोड दिने योजनामा छन् ।
ब्रिटेन र युरोपको साइकलमैत्री कदमहरु :
कोरोना कहरलाई ब्रिटेन र युरोप अवसरको रुपमा बदलेर यातायात प्रणालीलाई रुपान्तरण गर्ने सोचमा देखिन्छन् । लकडाउन अन्त्य पछि ब्रिटेन र युरोप सरकार सार्वजनिक यातायातको सुरक्षा, आम मानिसको स्वास्थ्य र स्वच्छ वातावरणलाई मध्यनजर गर्दै साइकलमैत्री शहरहरु बनाउने पक्षमा छन् । यता लकडाउनको समयमा लन्डनमा साइकल लेक र फुटपाथ बनाउन ५ मिलियन पाउन्ड बजेट छुट्याएर काम अघि बढिसकेको छ । पेरिस शहरमा मात्र नयाँ ६५० कि.मी. साइकल लेनमा साइकल कँुदिसकेको छ । ब्रिटिस सरकारले २५० मिलियन पाउन्डको ‘आकस्मिक यात्रा कोष’ घोषणा गरेर साइकल लेन, साइकल करिडोर, पार्किङ एरिया, फुटपाट बनाउने कार्यहरु इङल्यान्डमा सुरु भएको छ । स्कटल्यान्डमा सरकारले साइकलमैत्री पूर्वाधार विकासका लागि अघिल्लो महिना १० मिलियन पाउन्ड घोषण गरेको थियो ।
कोरोनाले आक्रान्त बनेको इटालीको मिलन शहरमा २२ माइल सडकमा साइकल मात्र गुडिरहेको छ । सवारी साधनका लागि बनाएको अधिकांश सडक लकडाउन पश्चात साइकल र पैदलको लागि प्रयोगमा ल्याउने त्यहाँका उपमेयरले बताएका थिए । सन् २०३० सम्म सबै सार्वजनिक यातायातलाई विद्युतीय बनाउने बताउँदै उनले भनेका छन्, ‘हो, निश्चय नै हामी अर्थतन्त्र सुचारु गर्न आतुर छौं, तर हामीले यसलाई पहिलेकोभन्दा फरक ढंगले अघि बढाउनुपर्छ । यो हाम्रो लागि सुनौलो अवसर हो, मिलन सहरलाई साइकल र पैदलमैत्री बनाउने ।’
यता लकडाउनको दोस्रो चरणमा पुगेको इटालीको रोम शहर १५० कि.मी साइकल लेन बनाउने योजनामा छ । साथै पचास हजार भन्दा बढी जनसख्या भएको सहरका हरेक नागरिकले नयाँ साइकल र इ–बाइक किन्दा ५४८ डलर अनुदानको व्यवस्था सरकारले गरेको छ । बार्सिलोना शहरमा २१ कि.मी. पार्किङ क्षेत्रलाई हटाएर साइकलमैत्री बाटो बनेको छ । हंगेरीको राजधानी बुडापेस्टमा अस्थाथी साइकल लेनहरु मात्र बनेका छैनन्, साइकललाई किफायती मूल्यमा वितरण पनि गरेको छ । बर्लिन शहरले थप २२ कि.मी, बु्रसेल शहरले ४० कि.मी. साइकल लेन थप बनाउँदै छन् । फ्रान्समा साइकलको व्यापार ३०० प्रतिशतले बढेको छ । साइकल किन्न मात्र हैन, मर्मत गर्नका लागि राम्रो छुट दिइएको छ । कति ठाउँमा त निःशुल्क मर्मतको व्यवस्था गर्दै साइकल मर्मत पसलहरुलाई लकडाउन समयमा खुलाएका छन् ।
एकदिन पक्कै कोरोना साम्य हुने नै छ । लकडाउन समयमा बाध्यताले बनेको साइकल संस्कृति कोरोना पछि निरन्तर हुनेमा धेरै मानिसहरु विश्वास गर्छन् । निः सन्देह ब्रिटेन र युरोपले चालेका यी कदमहरु त्यहाँको सुनौलो भविष्यको बाटो भने पक्कै निर्धारण गर्नेछ । भविष्यमा आउने भवितव्य वायु प्रदुषण, जलवायु परिवर्तन, इन्धन अभाव वा यस्तै महामारीसँग जुध्न यसले ठुलो टेवा पुग्ने नै छ ।
नेपालको वर्तमान अवस्था ः
असामान्य र अस्थिर नेपालले युरोपका देशहरुले जस्ता दूरगामी योजनाहरु बनाउन सकेको छैन र सक्दैन पनि । नेपालले सन् २०१८ मा १.७ बिलियन डलर मूल्य बराबरको पेट्रोलियन पदार्थको आयात गरेको थियो जुन त्यस वर्षको आयातको १७.१ प्रतिशत थियो । त्यही वर्ष ७७७.१ मिलियन डलर बराबरको सवारी साधन आयात हुँदा सवारी दुर्घटनामा करिब पाँच हजार मानिसहरुले ज्यान गुमाएका थिए । वातावरण प्रदूषणले निम्त्याएको स्वास्थ्य समस्याले अकालमा ज्यान गुमाउनेहरुको संख्याको हिसाब नै छैन । काठमाडौंलाई विश्वकै सातौं प्रदुषित शहरको रुपमा एक अध्ययनले देखाएको छ । त्यसैले स्वास्थ्य, वातावरण, पर्यटन र अर्थतन्त्रलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि विभिन्न शहरहरुमा साइकलमैत्री पूर्वाधारहरु निमार्ण गर्ने कदमहरु चाल्नु आवश्य छ ।
नेपालले चाल्नु पर्ने कदमहरु :
नेपालको बढ्दो जनसंख्या, अव्यवस्थित शहरीकरण, सवारी साधनको बढ्दो चाँपले शहरी क्षेत्रहरु दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेका छन् । नेपालका ठुला शहरहरु काठमाडौं, पोखरा, चितवन, नेपालगंज, बिराटनगर, बुटवल र अन्य शहरहरु समेत शहरी योजना अनुरुप बनेका छैनन् । न त त्यहाँका सडकहरु साइकलमैत्री र पैदलमैत्री नै छन् । पिक आवरमा काठमाडौंको सडकमा केही कि.मी. छिचोल्न घण्टौ लाग्छ । साइकल र पैदलयात्री उस्तै जोखिम अनि त्रासमै यात्रा गर्छन् । बितेको समयलाई सम्झेर पछुताउनु भन्दा समयमै हामी सबैले कदम चाल्नुबाहेक हामीसँग विकल्प छैन ।
रत्नराम श्रेष्ठ नेपाल साइकल सोसाइटीका अध्यक्ष हुन् । करिब दुई वर्षदेखि निरन्तर साइकल लेन, व्यवस्थित साइकल पार्किङ, साइकल नेटवर्क तथा साइकल सम्बन्धित मुद्दाहरुको आवाज उठाउँदै आएको संस्था हो, यो । ललितपुर महानगरपालिकासँग सहकार्य गरेर ६५ कि.मी. साइकल लेनको गुरुयोजना नबनाएको होइन, संस्थाले । १० कि.मी. साइकल लेनको काम सुरु भइसक्दा नेपाली मिडियामा रामै्र प्रशंसा बटुलेको थियो । ठाउँठाउँमा साइकल पाकिंड र साइकल स्ट्यान्ड बनाउने कायहरु अघि बढिसकेका थिए । तर सोचे अनुरुप काम हुन नसकेको गुनासो श्रेष्ठको छ ।
उपत्यकामा दुई वर्ष अघिमात्र सम्पन्न भएको ८ लेनको २७ कि.मी. काठमाडौं चक्रपथ (रिड रोड) न साइकलमैत्री छ न पैदलमैत्री नै । चाक्लो सडक विकासको बिम्ब हो भने गलत मानसिकता हामीमा छ । यता लकडाउनको समयमा काठमाडौंको सडकको स्तरोन्नति भयो । श्रेष्ठ र टिमले यही मेसोमा साइकल लेन र साइलक पार्किङका कुरा समावेश गर्न आवाज नउठाएका हैनन् । तर सुन्ने कोही भइदिएनन् । युरोपका मुख्य सहरहरुले अन्य सवारी साधनलाई हटाएर साइकलमैत्री सडक बनाउने योजना हुँदा पनि हामी उल्टो बाटो हिँड्यौं ।
यस्तै पोखरामा पनि साइकलमैत्री शहरको बारेमा छलफल र गोष्ठी नभएका हैनन् । चिया गफ र कागजमा मात्र सीमित छलफल नियाल्दा पोखरा प्रदूषणको दृष्टिमा केही दशकमा दोस्रो काठमाडौं नबन्नेमा कुनै दुईमत छैन । फेवाताल देखि बेगनास ताल, गुप्तेश्वरी गुफा देखि महेन्द्र गुफा, राउन्ड भ्याली साइकल ट्रयाक र लेनका कुराहरु समयसँगै बिस्तारै सेलाएर गए ।
त्यसैले अब राष्ट्रिय रुपमै साइकल कानुन बन्नु जरुरत छ । बनिसकेका सडकहरुको स्तर उन्नति गर्दा होस् वा अब बन्ने सडकहरुमा, सबैमा साइकल लेनको अवधारणालाई प्राथमिकताका साथ समावेश गर्नुपर्छ । आम मानिसमा साइकल लेन, साइकल स्ट्यान्ड र पार्किङको महत्व दर्साउँदै चौतर्फी आवाज उठाएर दबाब सृजना गर्नुपर्छ । अर्बौ लगानीमा सडकहरु बनाउँदा केही रकम साइकल र पैदलमैत्री पूर्वाधार बनाउन खर्च गरिनुपर्छ । परिवर्तन एकै रातमा सम्भव छैन, तर असम्भव भने छैन ।
अब आम मानिसमा साइकलप्रतिको कुदृष्टि हटाउनु पर्छ । कार, गाडीलाई सम्पन्नताको मापकका रुपमा लिने प्रवृत्ति अन्त्य हुनुपर्छ । कागज, फलाम बटुल्दै हिड्दै मानिस होस् वा मजदुर गरेर बिहान बेलुका साइकलमा ओहोरदोहार गर्ने एक साधारण मानिस, उनीहरु सबैको सुरक्षा नितान्त जरुरत छ ।
अबको पर्यटन : साइकल पर्यटन
कोरोनाले नेपालको पर्यटन थला पारेको छ । यसको असर केही वर्ष सम्म रहने अनुमान गर्न सकिन्छ । कोरोना साम्य भएपछि साहसिक पर्यटन धेरैको रोजाई बन्न सक्छ । नेपालमा भित्रिने धेरै पर्यटकहरु साहसिक पर्यटन (एडभेन्चर टुरिजम) का लागि नेपाल आउँनेछन् । विश्वभर प्रसिद्ध कमाएका नेपालका पदमार्गहरु अव्यवस्थित सडक विस्तार र जलविद्युत परियोजनाहरुले ध्वस्त भएका छन् । त्यसैले नेपालमा पर्यटकहरुको बसाई छोटिने आंकलन गर्न सकिन्छ । यसले पु¥याउने क्षति अतुलनीय रहनेछ । यसलाई केही हदसम्म साइकल पर्यटनले पक्कै राहत दिनेछ । त्यसैले नेपालको अबको भविष्य साइकल पर्यटन नै हो ।
विशेषगरी नेपालका हिमाली क्षेत्रहरु हाई एल्टिच्युट साइकलिङ च्याम्पियनका लागि प्रसिद्ध छन् । लमजुङको बेसीशहरबाट मनाङ हुँदै मुस्ताङको मुक्तिनाथसम्म हरेक वर्ष आयोजन हुने ‘याक एट्याक साइकल रेस’ विश्वकै एक साहसिक साइकल रेसको रुपमा मानिन्छ । ताप्लेजुङदेखि बझाङलाई जोड्ने उच्च हिमाली ‘ग्रेट हिमालयन ट्रेल’ मा साइकल र पैदलयात्रा गर्नेको संख्या ह्वात्तै बढेको छ । प्राय यसका लागि नेपाल आउने विदेशीहरु ‘हाइ पेइङ गेस्ट’का रुपमा लिइन्छ । त्यसैले नेपाल सरकार र पर्यटनमा आवद्ध सरोकारवालाहरुले कोरोना कहरपछि साइकल पर्यटकको प्रवद्धनका लागि साइकल ट्रेलको अध्ययन र अनुसन्धान, पुर्वाधारको विकास र यसको प्रचारप्रसारमा जुट्नु पर्ने देखिन्छ ।
जय साइकल ! जय पर्यटन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->