बागलुङ, २६ जेठ– प्रदेश सरकारले घोषणा गरेको कोभिड अस्पतालमा बनाईएको आईसोलेसन वार्ड भरिएपछि जिल्लामा पहिलो पटक अस्पताल बाहिर राखेर कोरोना संक्रमण भएका बिरामीको उपचार थालिएको छ । सदरमुकाममा रहेको धौलागिरी अस्पतालका सबै आईसोलेसन शैया भरिएपछि सदरमुकाम बाहिर बुर्तिबाङमा एक जना र सदरमुकाममै रहेको धौलागिरी बहुमुखी क्याम्पसमा निर्माणाधिन प्रि–आईसोलेसनमा ९ जना कोरोना संक्रमितको उपचार थालिएको हो ।
गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई कोभिडको उपचार गर्ने अस्पताल घोषणा गरेको थियो । अस्पतालमा रहेका १६ शैया आईसोलेशन भरिएको छ । अन्य वार्डमा निर्माण भएका केही आईसोलेन कक्षसमेत भरिएपछि अस्पताल बाहिर नै आईसोलेन निर्माण गरेर उपचार थालिएको हो ।
आईतवार संक्रमण पुष्टि भएका दशै जनाको अस्पताल बाहिरै राखेर उपचार थालिएको जिल्ला कमाण्ड पोष्टका एक सदस्यले बताए । ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा रहेको क्वारेन्टाईनमा संक्रमण पुष्टि भएका एक युवाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा उपचार थालिएको हो । जिल्ला सदरमुकाम बाहिर उपचार थालिएको यो पहिलो घटना हो । जिल्ला कमाण्ड पोष्टको सल्लाहका आधारमा स्वास्थ्य केन्द्रमा बनाईएको आईसोलेसनमा राखेर बिरामीको उपचार थालेको स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।
त्यस्तै, अस्पतालका चिकित्सकहरुकै निगरानी रहनेगरी धौलागिरी बहुमुखी क्याम्पस मा बनाईएको प्रि–आईसोलेशनबाट ९ जना बिरामीको उपचार थालिएको धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले बताए । जिल्लाभर कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेपछि क्याम्पसमा ५० शैयाको प्रि–आईसोलेसन बनाउने काम जिल्ला कमाण्ड पोष्टले गरिरहेको छ ।
बुर्तिबाङमा रहेको स्वास्थ्य केन्द्रमा पनि २५ शैयाको आइसोलेसन कक्ष निर्माण गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । बुर्तिबाङमा निर्माण गर्न लागिएका आईसोलेसन पाँच शैया महिला बिरामीको लागि छुट्टाईएको नगरप्रमुख नेपालीले बताए ।
भारतबाट आएकाहरुको कोरोना जाँचका क्रममा धमाधम पुष्टि भैरहेको भएपनि जिल्ला कमाण्ड पोष्ट र सम्बन्धि पालिकाहरुको तयारी भने आईतबारसमेत फितलो देखियो । बिरामी पुष्टि भएको १६ घण्टापछि मात्रै उनीहरुलाई प्रि–आईसोलेसनमा पु¥याईएको छ । ‘सरकारको निर्देशिकाअनुसार होम आईसोलेसन र प्रि–आईसोलेसनमा नै राख्ने भन्ने छ’ धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले भने ‘स्वास्थ्यमा समस्या रहेका बिरामीलाई मात्रै अस्पतालमा राख्ने प्रावधान छ ।’ धौलागिरी अस्पतालको आईसोलेसनमा भने कोरोनाका कुनैपनि लक्षण नभएका १७ जना बिरामीले उपचार गराई रहेका छन् । प्रि– आईसोलेसनमा उपचाररत कसैमा समस्या आएमा कुन अस्पतालमा भर्ना गर्ने भन्ने बिषयमा भने कमाण्ड पोष्टले कुनैपनि निर्णय गरेको छैन ।





