आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

रुकुम घटना : जातिय विभेद कि अपराध ?

रुकुम घटना : जातिय विभेद कि अपराध ?


  • पर्शुराम गैह्रे
  • जेष्ठ २७ २०७७, मंगलबार

केहि हप्ता पहिले पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीगाउँमा पाँचजना युवाहरुको ज्यान जाने गरि भएको एक भयावह मानब नरसंहारले जातिय रुप लिँदा नेपाली समाज एवं सामाजिक संजाल एकाएक गर्मायो । एकछिनलाई जातपातका कुरा तपसिलमा राखेर हेर्ने हो भने जो कसैको घरमा परिवारको मन्जुरीबिना हुलदंगा गरेर जर्बजस्ती एउटी युवतीलाई अपहरण शैलीमा उठाउन खोज्नु सरासर गलत कदम हो । र यो जति नै खराब कदम भएपनि व्यक्ति हत्या गर्नु वा मृत्युवरण गर्न बाध्य पार्नु कुनैपनि हालतमा क्षमायोग्य कार्य हो । यो एक क्रुर नरसंहार हो । त्यसैले दोषीहरुलाई कानुनको कठघरामा उभ्याई कडाभन्दा कडा सजायको भागिदार बनाउनै पर्छ । तर यो घटनालाई जातिय रुपहुँदै राजनीतिक रुप दिन खोज्नु हाम्रोजस्तो सामाजिक विविधिता भएको समाजमा द्वन्दको खेती गर्नु मात्र हो ।
यो घटनामा प्रेमी दलित समुदायका छन् अनि उनकी प्रेमिका गैरदलित वा ठकुरी समुदायकी छिन् । १९ जनाको युवा दलबलसहित प्रेमिकालाई लिन गएकाहरुमध्ये युवाहरु दलित एवं आधा संख्या जति गैरदलित समुदायका छन् । यदि सामाजिक संजाल गर्माएजस्तो दलित भएकै कारण नवराज बिकको हत्या भएको हो भने उनका मल्ल, शाही, कार्की र मगर समुदायका साथीको मृत्यु हुँदैनथ्यो । जातिय विभेदकै करण नवराज बिक मारियो भन्ने डा. बाबुराम भट्टराईलगायत जातिय मुक्तिदाताका रुपमा विभिन्न कारखाना खोलि बसेका तत्वहरुले ‘नाजायज कार्यकै लागि भएपनि नवराज बिककै लागि यति जना गैरदलितहरुले आफ्नो ज्यान आहुती दिए’भन्न किन सकेनन् ? विभिन्न जातिय समुदायका यी युवाहरुको मृत्युसम्मको साथ एवं एकताले तपाइको जातिवादी चस्मालाई गिज्याएन र ? रुवाण्डामा अप्रिलदेखि जुन १९९४ सम्म आठ लाखभन्दा धेरै जनाको ज्यान जाने गरि भएको हुतु र तुत्सी समुदाएको नरसंहारबाट केहि शिक्षा लिने कि ? त्यसैले यो एउटा नरसंहारलाई जातिय रुप दिई सामाजिक संजालमा सस्ता एवं बिकाउ टिप्पणीहरु सम्प्रेषण गर्दा पीडितले न्याय नपाई घटना विषयान्तर हुनसक्छ । सोही प्रकारको घटनामा यदि दलितकै घरमा कथित उपल्लो थरका युवाहरुयुवतीलाई अपहरण शैलीमा लिन जाँदा प्रतिकार नै हुन्थ्योहोला । होइन र ?
समाजमा जबजब यस्ता घटनाहरु हुन्छन् ठ्याक्कै त्यति बेलानै यस्ता अपराधिक घटनाहरुमा जातिय खोल ओढाएर आफ्नो राजनीतिक रोटी सेक्न खोज्ने तत्वहरु एकाएक सल्बलाउछन् । डा. बाबुराम भट्टराइको ‘अब सबैले आफ्नो नामको पछाडी कामी लेखौं’ भन्ने भनाई कुनैपनि कोणबाट विश्लेषण गर्दा समाधान दिने देखिदैन् । के साँच्चै नै आफ्नो थर हटाएर कामी वा यस्तै अन्य कुनै लेख्दैमा हाम्रो समाजमा विद्यमान जातिय विभेद अन्त्य हुन्छ त ? यदि हुन्छ भने त्यहि जातिय विभेदकै नाममा हजारौंलाई जातिय मुक्ति भन्दै आन्दोलनको नाममा किन मराइयो ? नाम वा थर फेर्दैमा समाजले छलाङ्ग मार्छ भने राख्नुहोस् तपाइको नाम बुद्धि प्रसाद, प्रचण्डको धर्मराज, कसैको विकास, समृद्वि आदि इत्यादि ।
यस्ता घटनाहरु घट्नासाथ डा. सापहरुबाट प्रहार हुने अर्को पाटो हो हिन्दुधर्म अनि बर्णाश्रम । के हिन्दु धर्मग्रन्थले विभेदयुक्त जातपातको व्याख्या गरेको छ त ? अलिकति विश्लेषण गरौं । हिन्दुधर्मले मानावजातिलाई कार्यकौशलताका आधारमा चारवर्णमा बर्गिकरण गरेको छ । १) ब्राम्हण–बुद्धिजिबीवर्ग २) क्षेत्रीय–शासन तथा सिपाहीवर्ग ३) वैश्य–ब्यापार तथा उद्योगीवर्ग ४) शुद्र–श्रमिक तथा सिप र कलाकौशलवर्ग । यो वर्णविभाजनमा केवल कार्यकौसलताको ब्याख्या गरिएको छ । हिन्दुग्रन्थमा जन्म र कर्मको बर्गिकरण यसरी गरेको छ । जन्मनाजायतेशुद्र ।। अर्थात् ः– जन्म भएको बेला सबै मान्छे शुद्रनै हुन्छन् । मानिसहरुको शिक्षा अनि आचरण जस्तो हुन्छ तिनीहरुले त्यस्तै बर्ण प्राप्त गर्छन् । ब्राम्हण भनेको ब्रम्हबिद्यायुक्त व्यक्तिलाई भनिन्छ । यो एउटा गुणबाचक शब्द मात्र हो जसले बुद्धिजीवी वर्गलाई जनाउँछ । ब्राह्मणबादको कल्पना तथा व्याख्या कहिँकतै उच्चारणसम्म गरेको छैन । बेदकाअनुसार ब्राम्हणको घरमा जन्म लिएकै आधारमा ब्राम्हण भईदैन । कुनैपनि बर्णमा जन्मिएर वेदको ज्ञान गुरुकुलबाट ग्रहण गर्ने मान्छेलाई ब्राम्हण भनिन्छ । ब्राम्हणको घरमा जन्मेर वेदबिद्यान भएको मान्छेको बर्ण परिवर्तन हुन्छ र त्यो अरु बर्णहरुलाई प्राप्त हुन्न । जस्तैः ब्राम्हणको घरमा जन्मिको मान्छे यदि व्यापार गर्छ भने त्यहिं समय त्यसको बर्ण परिवर्तन हुन्छ र त्यो वैश्यबर्णमा जान्छ । त्यस्तै यदि सुद्रको घरमा जन्मेको मान्छे गुरुकुलबाट वेदहरुको ज्ञान लिन्छ भने त्यो ब्रम्हिण बर्णमा जान्छ । सुद्रो ब्राम्हण तमेति ब्राम्हण शचैति सुद्रातम् ।। क्षत्रिया ज्जात मेवन्तु विधा द्वैश्यात्त्तथैवच ।। (मनुस्मिति १०÷६५) अर्थात्ः–शुद्र कुलमा जन्मेर ब्राम्हण, क्षेत्री, वैश्यजस्तो गुण कर्म र स्वभाब भएको मान्छे शुद्रबाट आफ्नो कर्म र क्षमताअनुसार ब्राम्हण, क्षेत्रीय वा वैश्यबर्णलाई धारण गर्छ । त्यस्तै ब्राम्हण क्षेत्रि वा वैश्य कुलमा जन्मेको मान्छे आफ्नो नराम्रो कर्मले गुणहिन भएर शुद्रबर्णमा रुपान्तरण हुन्छन् ।
यति प्रस्ट लिखित धार्मिक ग्रन्थहरु हुँदाहुँदै पनि हिन्दुधर्मलाई जातिय अतिबाद भन्दै भ्रामक प्रचार गरि जनतालाई उत्तेजित बनाउन खोज्नु निन्दनीय कार्य हो । जातिय तथा धार्मिक बिभेद एवं उत्पीडित बर्गका प्रतिनिधि भन्नेहरुले कहिल्यै पनि समस्याको समाधान दिन चाहेनन् । यो बिषय केवल राजनीति गर्नकै लागि प्रयोग गरियो । डा. भट्टराई अथवा अन्य राजनीतिक दलहरुले बर्ण व्यवस्था कुनै जन्मको आधारमा हुने जात व्यवस्था होइन, ब्राह्मणको घरमा जन्म लिँदैमा तिमी ब्राम्हण हुँदैनौ र शुद्रको घरमा जन्मदैमा तिमी शुद्र हुँदैनौ यो त तिम्रो कर्मअनुसार तिमीलाई दिइने उपाधि मात्र हो भनेर अभियान चलाउन किन सक्दैनन् ? म बाहुनको छोरो अब मलाई कामी भन्नुस भन्ने बाबुरामले कामी समुदायको मानमर्दन गरेका छन् । डा. साप तपाईको बुझाइमा जातिय विभेदको मुख्य दोषी हिन्दुग्रन्थ एकपटक राम्रोसंग अध्ययन गरि आफ्नो बर्ण छुट्ट्याउनुहोस अनि तपाइको कुन कर्म अनि कस्तो सीपले गर्दा आफुलाई कामीमा दर्ज गराउनुभयो ?
इतिहासको विभिन्न कालखण्डमा दलित उत्थानका निमित्त विभिन्न सकारात्मक प्रयासहरु नभएका होइनन् । १९१० सालमा जंगबहादुर राणाले जातिय बिभेद अन्त्यका लागि कानुन निर्माण गरे । त्यसैगरि दलितहरुले अन्य जातजातिले जस्तै समान रुपमा लेख्न र पढ्न पाउने अधिकार २००७ सालको अन्तरिम संविधानले सुनिश्चित गर्यो । सार्वजानिक स्थानमा दलितहरुलाई विभेद गरेमा दण्ड÷सजाय तोक्ने र समान अधिकारको प्रत्याभूति २०४७ को संविधानले गर्यो । २०७२ को संविधानले सार्वजनिक तथा निजी स्थानमा समेत जातिय विभेद गर्न नपाइने गरि दलितहरुका हक अधिकार प्रत्याभूति गरायो । यस्ता संबैधानिक एवं कानुनी ब्यबस्थाहरु हुँदाहुँदै पनि हाम्रो समाजमा जातिय भेदभाव पटक्कै छैन भन्ने मेरो मनसाय होइन । समाजमा जातपात तथा छुवाछुतजस्तो रुढिवादी सोचाईमा ब्यापक परिवर्तन भने पक्कै आएको छ । २०÷३० वर्षअघिसम्म दलितलाई छोईछिटो गर्ने, पानीपँधेरो एउटै हुन नहुने, संगै उठबस गर्ने नहुनेजस्ता कुरीतिहरु ब्याप्त थिए । यस्ता कुरीतिहरु, सामाजिक तथा राजनीतिक चेतना एवं शिक्षाको प्रभावले हदैसम्म हटेर गएका छन् । दोश्रो कुरा अहिले रोजगारीको लागि बिश्वभर छरिएका हामी नेपालीहरु विभिन्न भूगोल, धर्म, संस्कृति तथा परम्परा अंगाल्ने मानिसहरु संगको सहकार्य तथा उठबसले यस्ता बिषयहरुमा चेतनास्तर अबस्य पनि वृद्धि गरेको छ । अहिलेको युवापुस्ताहरु आफ्ना अभिभाकहरुले जातपातका कुरा गर्दा आफैमा लाज मान्नेर आफ्नै अभिभाकहरुलाई चेतना नभएका भन्नेसम्म भए । र अब त्योभन्दा तल्लो पुस्ता आपसी सहअस्तित्व एवं बिहेबारी नै गर्ने क्रममा तिब्र रुपमा अगाडी बढ्दैछ । अझैपनि बिकट गाउँ एवं दुरादराजमा चेतनाको कमीले जातिय विभेद छन् । अन्यायबिरुद्ध आवज उठाउनु, तिब्ररुपमा जनचेतना फैलाउनु, जातिय विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । समाजमा विद्यमान जातिय छुवाछुत अन्त्यको लागि सर्बोपरि उपाय भनेको चेतनावृद्धि एवं पीडकलाई उचित दण्डनै हो ।
जातिय छुवाछुतका बारेमा मानिसहरुमा चेतनास्तर बढेर सकरात्मक बहस भैसक्योभने केहि बुद्धिजिवीहरु र माननीय एवं उच्च पदस्त ब्राह्मण परिवारमा अन्तरजातिय बिवाह भएका भन्ने खालका तथ्यांकमा बहस गर्न थाल्नु हुन्न । यसको उद्देश्य भनेको समाजमा कुनै न कुनै खालको जातिय विभाजन जीवित गराउनु हो । विभिन्न समुदायका आ–आफ्ना सामाजिक मूल्यमान्यता, धर्मसंस्कृति, रितीरिवाज परम्पराहरु छन् । एउटा अध्ययनकाअनुसार नेपालमा ९० प्रतिशतभन्दा धेरै मागी बिवाह हुन् । एउटै समुदायभित्र कुनैपनि सामाजिक मान्यता, मूल्य र परम्परालाइ एउटै किसिमको बुझाइ एवं दृष्टिकोण राख्ने भएर नै विभिन्न समुदायका आ–आफ्ना कर्मकाण्डहरु चलिआएका छन् । उदाहरण लिउ, दुइजना उत्तरआधुनिक युवायुवतीबीच बैबाहिक सम्बन्ध गाँसियो । पुरुष हिन्दु र महिला मुस्लिम समुदाय । गाईलाई आमा समान मान्ने, दुध, गोबर र गहँुत प्रयोग गर्ने पुरुष र गौमांस प्रयोग गर्ने युवतीबीच सम्बन्ध गाँसिएको दिनदेखिनै सो बस्तुको उपयोगिताबारे फरक मतभेद पक्कै हुन्छ नै । समाजमा विभिन्न जातजाति, समुदाय, भूगोलमा प्राक्टिस भैरहेका सामाजिक मूल्य र मान्यतालाई अन्य समुदायलाई हानिनोक्सानी वा अपहेलना नगरेसम्म गलत भन्न सकिन्न । सबै समुदायका स्थापित सामाजिक मूल्य र मान्यताहरुलाई सद्भाव एवं ख्याल राखेर नै होला, पश्चिमा राष्ट्रहरुको तुलनामा हाम्रो देशमा बैबाहिक सम्बन्ध बिच्छेद अत्यन्त न्युन । जस्तैः गतबर्ष युरोपियन राष्ट्रहरुमा ६५ प्रतिशतसम्म, संयुक्तराज्य अमेरिकामा ५० प्रतिशत, बेलायतमा ४२ प्रतिशत, अस्ट्रेलियामा, ४० प्रतिशत, क्यानडामा ३८ प्रतिशत र भारत तथा नेपालमा १ प्रतिसतभन्दा कम बैबाहिक सम्बन्धबिच्छेद भएको तथ्यांकहरुले देखाउँछन् । हामीले हाम्रो परम्परा, संस्कृति, रितिरिवाज, धर्म, सामाजिक मूल्य र मान्यताहरुलाई जहिले पनि नकारात्मक तवरबाट बहस गरेर यसका अन्तरसम्बन्धहरुको सकरात्मक पाटो हेक्का राखेनौं ।
अन्त्यमा डा. भट्टराईलगायतहरुलाई म यो निबेदन गर्न चाहन्छु कि तपाइको एक ट्विट वा एकबाणीले माथिदेखि तल जनस्तरसम्म लाखौंलाई अवश्य सूसुचित गर्नेछ । समाजमा घट्ने हरेक अपराध केवल अपराध मात्र हुन्छ । कृपया हिन्दुधर्म एवं बर्णश्रमको सहि ब्याख्या गरिदिनुस् । अहिलेको चेतनशील समाजमा जातिय एवं क्षेत्रीय मुद्धाले तपाइलाई राजनीति गर्न भारी अवश्य पनि पुग्दैन । एउटा भनाई सापटी लिँदै यो लेखलाई बिट मार्न चाहान्छ– तिमीले एकपटक सबै मानिसहरुलाई मुर्ख बनाउन सक्छौं तर पटक–पटक कोहि मानिसलाई पनि मुर्ख बनाउन सक्दैनौ । रुकुमघटनाका सम्पूर्ण मृतकहरुमा भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै अपराधीलाई कडाभन्दा कडा कारवाहीको लागि जोडदार माग गरौं ।
सर्वेक्षण अधिकृत

Department of Primary Industry and Resources

Northern Territory Government, Australia

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->