सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थानीय तहको संयुक्त बैठक, कोष बनाउनेदेखि मेसिन किन्ने निर्णय

स्थानीय तहको संयुक्त बैठक, कोष बनाउनेदेखि मेसिन किन्ने निर्णय

बाहिरबाट आउनेहरुका लागि पनि जिल्लाको दुई ठाउँमा होल्डिङ सेन्टर बनाउने निर्णय बैठकले गरेको छ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७७, मंगलबार

बागलुङ, २७ जेठ– जिल्ला कमाण्ड पोष्टको व्यवस्थापन फितलो देखिएपछि बागलुङका स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सामूहिक प्रयास थालेका छन् । बागलुङ नगरपालिकाको संयोजनमा मंगलबार बसेको स्थानीय तहको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि साझा कार्यक्रम बनाएका हुन् ।
जिल्ला समन्वय समिति, दशवटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरी अस्पताल बागलुङका प्रतिनिधिहरु सम्मिलित बैठकले कोरोनाका बिरामीको उपचारका लागि तत्काल जिल्लालाई दुई भागमा बिभाजन गरेर आईसोलेसनको प्रयोग गर्ने निर्णय गरेको छ । जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नरपालिकाका संक्रमितहरुलाई बुर्तिबाङस्थित स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसन र बाँकी छवटै पालिकाका संक्रमितलाई धौलागिरी बहुमुखी क्याम्पसको आईसोलेसनमा राखेर उपचार गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भूषालले बताए ।
संक्रमित देखापरेपछि उपचार गर्ने कहाँ गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना देखिएको हुँदा समाधानका लागि स्थानीय तहले यस्तो निर्णय गरेका हुन् । त्यस्तै, बाहिरबाट आउनेहरुका लागि पनि जिल्लाको दुई ठाउँमा होल्डिङ सेन्टर बनाउने निर्णय बैठकले गरेको छ । बडिगाड गाउँपालिकाको खर्वाङ बजार र बागलुङ बजारमा होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने निर्णय भएको भुसालले बताए ।
लक्षण देखिएका बिरामीलाई मात्रै धौलागिरी अस्पताल पु¥याउने र बाँकी संक्रमितको प्रि आईसोलेसनमा उपचार गर्ने निर्णय पनि बैठकले गरेको छ । दशवटै स्थानीय तहले साझा कार्यक्रमको रुपमा बिदेशबाट आउनेहरुलाई होल्डिङ सेन्टरमा राखेर मात्रै क्वारेन्टाईनमा पठाउने व्यवस्था मिलाउन सहमति गरेका छन् । होल्डिङ सेन्टरको व्यवस्थापन र थप आईसोलेसन निर्माणका लागि प्रत्येक नगरपालिकाले ५ लाख र गाउँपालिकाले २ लाख रुपैयाँ बजेट उपलव्ध गराउने निर्णयसमेत बैठकले गरेको छ । उक्त रकम पश्चिमका चार पालिकाले बडिगाड गाउँपालिकाको खातामा र अरु छ वटा पालिकाले बागलुङ नगरपालिकाको खातामा जम्मा गर्ने सहमति बैठकमा भएको छ । बुर्तिबाङमा रहेका २५ शैया र धौलागिरी बहुमुखी क्याम्पसका ५० शैया आईसोलेसन तत्कालका लागि प्रयोगमा ल्याउने र संक्रमित थपिँदै जाँदा स्थानीय तहमा नै आईसोलेसन निर्माण गर्ने निर्णयसमेत बैठकमा भएको छ ।

दिए माग्ने नभए किन्ने

बागलुङका स्थानीय तहहरुको संयुक्त बैठकले कोरोना भाईरसको जाँचलाई द्रुत बनाउनका लागि धौलागिरी अस्पतालमा प्रयोगशाला स्थापना गर्नेगरी गण्डकी प्रदेश सरकारसँग पिसिआर जाँच मेसिन माग गर्ने निर्णय गरेका छन् । प्रदेश सरकार खरिद प्रकृयामा रहेकाले एउटा मेसिन साविकको धौलागिरीका लागि उपलव्ध गराउन पहल गर्ने निर्णय बैठकले गरेको छ । प्रदेश सरकारले मेसिन उपलव्ध नगराए पालिकाहरु मिलेर संयुक्त रुपमा मेसिन किन्ने सहमति भएको उपप्रमुख भुषालले बताए । ल्यावका लागि आवश्यक जनशक्तिको भने बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राविधिकहरुको सल्लाहका आधारमा व्यवस्थापन गर्ने निर्णय बैठकमा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->