आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रवाद

आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रवाद


  • खुमकान्त अर्याल
  • जेष्ठ २८ २०७७, बुधबार

राष्ट्र भनेको के हो भन्ने सम्बन्धमा विभिन्न धारणाहरु छन् । तैपनि राष्ट्र भनेको कुनै एक विशेष भौगोलिक क्षेत्रभित्र रहेका विभिन्न जाति, धर्म, भाषा, संस्कृति भएका मानिसहरु रहेको सम्प्रभुसत्ता सम्पन्न समुदाय हो भन्ने बुझिन्छ । साझा ऐतिहासिक धारा र विरासतसंग जोडिएर रहेका विविध जाति, भुगोल, संस्कृति, भाषा र धर्मबाट सम्बन्धित भएर बनेको देशको मुल्य मान्यता राष्ट्रियता हो । राष्ट्रवाद एक आस्था वा भावना हो, जसले आफनो राष्ट्रलाई, सर्वोच्च ठान्दछ, राष्ट्रको संस्कृति, इतिहास तथा भाषा धर्म, साहित्यलाई प्रेम गर्दछ, राष्ट्रिय गौरव र गुणको गान गर्दछ, यसको सम्वर्धन, विकास र सुरक्षाको लागि आफ्नो बलिदान दिने सम्मको संकल्प गर्दछ ।
राष्ट्र भौतिक वस्तु भएकोले यसका आधारहरुलाई प्रत्यक्ष देख्न सकिन्छ तर राष्ट्रवाद त्यस राज्यका नागरिकहरुका मनमा राज्यप्रति हुने प्रेम, सम्मोहनजस्ता चेतनागत भावनाहरु हुन् । मानौ शरीर राष्ट्र हो भने शरीरलाई आँफु ठान्ने, चेतना वा भावना राष्ट्रवाद होे । सकाम कर्ममा अनुरुक्त भएका हामी गृहस्थहरुले आँफ्नो शरीरलाई म ठान्दछौ यसर्थ परिवारको संग्रह गर्दछौ, धन सम्पत्तिकोे आर्जन गर्दछौ, संग्रहित वस्तुसंग अभिन्न हुन्छौै । त्यसैगरी राज्यले आफ्नो परिवार, सम्पदा, साँस्कृति आस्थाको रक्षा गर्दछ र थप समुन्नत गर्दछ भन्ने विश्वासले र राष्ट्र प्रतिको कर्तव्यवोध हुने कारणले राज्यलाई आदर सम्मान गर्दछौँ, यससंग अभिन्न हुन्छौे, यहीं नै आधुनिक राष्ट्रवादको विश्वास मान्न सकिन्छ । मोक्षको लागि उपासना गर्ने निस्काम कर्मयोगीहरु आफ्नो शरीरलाई आँफु ठान्दैनन् वस्तु, देश, कालप्रति उदाशीन रहन्छन् । तसर्थ देशवादको सट्टा विश्व राष्ट्रवाद वा एकमात्र ब्रम्हवादको कुरा गर्दछन् तर उनीहरुले पनि आँफु बस्ने राष्ट्रको नागरिकता लिन्छन् र सबै नागरिकले देशको कानुनको सम्मान गर्दछन् । व्यक्तिगत आकांक्षा, आग्रह पुर्वाग्रहबाट माथी पुगेका प्रज्ञावान व्यक्तित्वहरु पनि राष्ट्रवादभन्दा पनि समग्र मानवतावादको चिन्तन गर्दछन् । बिसौं सताव्दीका प्रशिद्व दार्शनिक कार्लमाक्स र एङ्गेल्सले समाजलाई मजदुर वर्ग र मालिक वर्ग २ भागमा मात्र बाँड्छन् । उनको नारा छ– विश्वभरका मजदुर वर्ग एक हौं, यस हिसाबले राष्ट्र वा राष्ट्रवादको परिकल्पना गरिएको देखीदैन । पछि लेनिन र स्टालीनले कम्युनिस्ट क्रान्तीको क्रममा स्थान विशेषको हिसावले राष्ट्रवादको व्यक्ख्या र उपयोग गरेको देखिन्छ ।
हाम्रो हिन्दु तथा बौद्व धर्म ग्रन्थहरुमा प्राचिनकालमा विभिन्न राज्यहरुको वर्णन, राजाहरुको वंशावली, उनीहरुको पराक्रम उल्लेख हुनुका साथै राज्यहरु आपसमा लडेका कथाहरु भेटिन्छन् । महाभारत ग्रन्थमा पाण्डव र कौरवको लाडाईमा स्वयं भिष्म पितामह र दोर्णजस्ता नैतिकवान महारथीहरु युद्वमा सहभागी भएका थिए । राजाको आज्ञा भएपछि सो को कदर गर्नु तात्कालिन राष्ट्रवादको पद्वती भएको देखिन्छ । यसरी राज्य र राष्ट्रवादको उदय पौराणिककालबाट नै भएको अनुमान गर्न सकिन्छ । ईसा पुर्व करिव ५ हजार वर्ष अगाडिदेखीनै यस धर्तीमा विभिन्न राज्य तथा साम्राज्यको गठन तथा विघटनको वर्णन गरेको भटिन्छ । राजाको आज्ञालाई नै राष्ट्रवादको रुपमा मान्ने चलन युरोपमा, पुर्नजागरणको समयसम्म रहेको थियो । पुर्नजागरणको क्रममा युरोपका विभिन्न देशहरु बीचको सीमा तथा धार्मिक विवाद समाधानको लागि सन् १६४८मा वेस्ट फेलियामा सन्धि गरे । अन्तर्राष्ट्रिय रुपमा सन्धि गरी सीमाना कायम गरिएको सम्प्रभु राष्ट्रको उदय भएको मान्न सकिने आधुनिक कालको यो नै पहिला घटना थियो । युरोपमा परिवर्तनको चाहना बढिरहेको परिप्रेक्षमा फ्रान्सको राज्य क्रान्तिपछि सत्तामा आएका नेपोलियन वोनापार्टले छिमेकका राज्यहरुमाथी आक्रमण गर्दै साम्राज्यको विस्तार गरेपछि, यसको प्रतिक्रियामा फ्रान्सका विरुद्वमा युरोपभरि राष्ट्रवादको लहर फैलिन थाल्यो । फ्रान्सले क्रान्तिको गर्व गरेका नेपोलियन वोनापार्टको पछि छिमेकी देशहरुसंग युद्व हुँदा हार भएपछि, युरोपमा शक्ति सन्तुलन कायम राख्ने र कोही धेरै शक्तिशाली भएर फेरी आक्रमण नगरुन् भन्ने उद्देश्यले सन् १८१५ मा भियना कङरेसले इटली र जर्मनी देशहरुको भुभाग एता र उता पारेर सीमाना कायम गरिएको थयो । यो घटनापछि छुव्द भएका इटाली र जर्मनीका जनता राष्ट्रवादीै भावनाबाट संगठित भई लडेर पुर्नएकिकरण गर्न सफल भएका थिए । युरोपको यो राष्ट्रवादी लहर एसिया, अफ्रिका र अमेरिकामा समेत फैलदै गयो र आन्दोलन गरेर धेरै राष्ट्रहरु उपनिवेशबाट मुक्त भए र ल्याटिन अमेरिकामा केही नयाँ राष्ट्रहरुको उदयसमेत भयो ।
नेपालमा भने वडामहाराज पृथ्वी नारायण शाहले सन १७४५ देखी आधुनिक राज्यको स्थापना र राष्ट्रवादको अभियान एकैचोटी संचालन गरेका थिए । भारतमा फैलदै गएको ईष्टइन्डिया कम्पनीको सरकारले नेपालमाथी अतिक्रमण गर्न सक्ने आँकलन गदै राज्य जोगाउने उपदेश गर्दै जनताहरुलाई सचेत गराएका थिए । पृथ्वी नारायण शाहको शासनकाल पछि भएको नेपाल अङ्ग्रेज युद्दमा नेपाली वीर सपुतहरुले देशको रक्षार्थ देखाएको बहादुरीको इतिहासलाई अहिले पनि गौरवको रुपमा हामी नेपालीले सम्झने गर्दछौ । परिवर्तनको लागि एकतन्त्रीय राणा शासनका विरुद्वको क्रान्तिमा, सहीद दशरथ चन्द्र समेतका ४ देशभक्तहरुलाई राणाहरुले दिइएको फाँसी तथा जनतामाथी गरिएको शोषण तथा यातनाको प्रतिकृयामा सारा देशवासीहरु आन्दोलनमा जोडिएका थिए । फलस्वरुप २००७ को क्रान्ति सफल भएको थियो । वि.पी.कोइरालाको मेलमिलापको नीति होस वा पन्चायती सरकारका विरुद्व भएका विरोध र आन्दोलनमा जनतामाथी गरिएका दमन शोषणको विरुद्व र परिवर्तनका लागि पटक–पटक भएका क्रान्तीहरुमा देशभरिबाट भावनात्मक रुपमा आन्देलनसंग जोडिएर राष्ट्रवाद र राष्ट्रियता, हरेक नागरिकको मनमा फक्रदै थियो । जनतालाई अधिकार सम्पन्न गर्ने विषयमा नेपालका राजाहरुमा पहिला केही विमति रहेता पनि नेपाल देशको रक्षा गर्ने सम्वन्धमा वहाँहरुबाट देखाइएको राष्ट्रवादी व्यवहार भने अहिलेसम्म जनताले विर्सन सकेका छैनन् । वि.सं.२०७२ मा भारतबाट गरिएको ६ महिनाको दोश्रो नाकाबन्दीले राष्ट्रवादको भावना बढेको मात्र होइन आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने प्रेरणासमेत जागेको थियो र भारतीय बजारको निर्भरता घटाउन चीनसंग पारवहन तथा व्यापार सम्झौता पनि भयो । त्यसबखत वर्तमान प्रधानमन्त्री खड्क प्रसाद ओली ज्युले भारतसंग नाकाबन्दीको विरुद्वमा देखाउनु भएको अडानकै कारणले गत आमचुनावमा भारी बहुमतले विजयी हुनुभयो र अहिले फेरी उहाँ नै प्रधानमन्त्री वहाल रहेको बेला कालपानीमा रहेका भारतीय फौजको फिर्तीको माग र छुटेका लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकासन गरिएको छ । आम नेपालीहरु यतिबेला भारतीय पक्षको व्यवहारबाट बेखुसी छन् । सरकारको तर्फबाट अहिले चालिएका कदमप्रति देशवासी सबैले समर्थन गरिरहेका छन् तर आजभन्दा ७ महिनाअगावै नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेर सार्वजनिक गरिसकेपछि सो नक्सालाई नेपाल सरकारले विरोध त गर्यो तर त्यसको कार्यवाहीको लागि निरन्तर प्रकृया किन चालु राखिएन, भारतबाट सो क्षेत्रमा बाटो खन्ने काम धेरे पहिलेदेखी भैरहेको रहेछ सो कुरा थाहा थिएन किन भनिन्छ ? जनताले यी प्रश्नहरु गरिरहेका छन् र हालसम्म चित्तबुझ्दो उत्तर पाइरहेका छैनन् । यसअघिका सरकारहरुले अल्पमतमा रहेर शासन संचालन गर्नुपरेकोले पनि निरन्तर काम गर्ने अवस्था थिएन । तर अहिलेका प्रधानमन्त्री ज्यूसंग दुई तिहाईको बलियो सरकार थियो र जनताको पनि साथसमर्थन थियो । जे होस अहिले नयाँ नक्सा सार्वजनिक गरेर आँफुलाई राष्ट्रवादी प्रमाणित गर्ने अवसरमात्र होइन पार्टीभित्र उहाँको कार्यशैली र सरकारको २ वर्षको कामको आलोचना गरी नेतृत्वको विकल्प खोज्नेहरुबाट एकछिनलाई फुर्सद पनि पाउनु भएको छ ।
सरकारमाथी जब–जब विरोधको चाप बढ्न थाल्छ तब राष्ट्रवादको प्रशंग तेस्र्याएर आँफु सुरक्षित हुने रणनीति अहिले संसारका अन्य मुलुकमा पनि प्रयोगमा आउने गरेको देख्न सकिन्छ । जनसरोकारका विषयमा सरकारमाथी जनता असन्तोष देखिन थालेमा पाकिस्तान तथा चिनियाँ सीमानामा सीमा सुरक्षावलको गस्ती बढाएर होस वा आतंकवादी हमला देखाएर जनताको ध्यान अन्यत्र लगेर, आफ्रनो राष्ट्रवादीता प्रमाणित गर्ने कोशिश भारतमा पनि प्रयोग भएको देखिन्छ र यस्तै पाकिस्तानमा पनि हुने गरेको छ । शक्तिशाली देश अमेरिकामा अहिले महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पकै कार्यशैलीलाई लिएर नागरिकहरुबाट आलोचना बढ्न थालेको, कोरोना भाइरसको संक्रमणको विषयमा चीनको गल्ती देखाएर, उत्तरकोरियाको परमाणु मिसाइल परीक्षण तथा इरानको भुमिकालाई देखाउदै आफ्नो नीति सफल भएको छ भनेर प्रमाणित गर्ने प्रयास गर्दैछन् । यसैगरी कोरोना भाइरस संक्रमणपछि चीनले विश्वसमुदायको ध्यान अन्यत्रै केन्द्रित गर्ने प्रयास गरेको भनिकन केही समाचारहरुले संदेह व्यक्त गरिरहेका छन् ।
अहिले स्वतन्त्र विश्व व्यापार तथा सुचना प्रविधिको विकासले धेरै टाढा टाढाका देश र जनताका बीच सम्बन्ध विस्तार भएको हुँदा राष्ट्रवादी मान्यताहरु केही फराकिलो हुँदै गैरहेको छ । कतिपय क्षेत्रीय संगठनमा आवद्व देशहरुको एउटै मुद्रा छ, आउजाउ गर्न खुला गरिदै छ । युरोपियन युनियन यसको उदाहरण हो । त्यसैगरी हरेक महादेशस्तरमा क्षेत्रीय संगठन स्थापना गरी त्यस क्षेत्रभित्र स्वतन्त्र व्यापार गर्ने देशका समस्याहरु सामूहिक रुपमा मिलेर समाधान गर्ने कार्यले राष्ट्रवादी धारणामा केही परिवर्तन हुने क्रममा छ र एकापसमा संस्कृतिको आदानप्रदान गर्ने र परिचित गर्ने अवसर प्राप्त हुँदैछ । देश विकासको लागि विदेशबाट प्राविधि तथा पुँजिको सहयोग लिएता पनि आफ्रनो पहिचान, इतिहास, संस्कृतिको संरक्षण गरियो भने त्यस देशको अलग स्थान र सम्मान रहन्छ । आधुनिक लोकतान्त्रिक व्यवस्थामा सबैको पहिचान तथा नागरिक अधिकार र समावेशिताको सुनिश्चितता गर्दै राष्ट्रिय एकताका धरोहरहरुलाई संरक्षण गरी जनताका चाहना र आवश्यकता पुरा गर्न सकियो भने राष्ट्रवाद र देश प्रेमको भावना स्वस्फुर्त बलियो हुन्छ । जनसरोकारका विषय थाँती राख्दै जाने तर राष्ट्रलाई माया गर्नुपर्दछ भनेर एकोहोरो रटान गरेर दिमाग कव्जामा लिएर भोकै राष्ट्रका लागि मर्न तैयार रहनुपर्दछ भनेर शिक्षा दिइनु सायद खोक्रो राष्ट्रवाद हो । यसकारणले मानिसहरुको असन्तोष बढ्न थालेपछि शासकले आफ्रनो राजनैतिक शाख वचाउन उराल्ने राष्ट्रवादलाई मौसमी राष्ट्रवाद भन्ने गरेका छन् । नेपाल ४ वर्ण र ३६ जातको फुलबारी हो भनेर उपदेश गर्ने नेपाल राष्ट्रका निर्माता वडामहाराज पृथ्वीनाराण शाहको उपदेशलाई र उनको योगदानलाई मनन् गर्दै हाम्रा धार्मिक आस्थाहरु यससंग जोडिएका तीर्थस्थलहरु, भाषा, साहित्य, संस्कृति, जाति र राष्ट्रिय गौरवका स्थानहरु, सम्पदाहरु, सीमानाजस्ता आधारहरुलाई संरक्षण गर्दै आर्थिक समृद्वि हासिल गर्ने यात्रामा अगाडि बढ्न सकिएमा मात्र राष्ट्रवादी भएको प्रमाणित हुन सक्छ । यो नै नेपालको राष्ट्रवादको प्रमुख लक्ष हो ।
(अर्याल स्याङ्जा जिल्लाको वालिङ निवासी हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->