संसार कोरोना कहरले क्षतविक्षत छ । मान्छेको ज्यान कसरी बचाउने भन्ने सवालमा लठ्ठिएको मानवीय समावेदना, निक्षम्य अधिकारको दबदबामा निशासिँदो रहेछ । मानवजातिको क्षमता विकास, त्यसले प्रदान गरेको उर्जाशक्ति, उत्तरदायित्व सहितको कर्मले कर्मठ मान्छे कर्म, विवेक र साक्षत विद्धताबाट समेत हारेको देखिंदैछ । हर मान्छेको विद्धता बढेको इतिहासमा महामानवहरुको कथा निशर्त मानवजातिको सेवाकर्ममा जोडिन्थ्यो । आदर्श र सत्चिन्तनका घोतकहरुका जीवन जगत अध्ययनबाट आपत–विपतको सारथी मानवबुद्धि अब्बल पढिन्थ्यो । आजको कोरोना कहरमा विद्धताप्राप्त गरेका उनी आदर्शपात्रहरु समेत नितान्त लालचको लज्जा घुँडामुनी ओरालेको देखियो । भन्ने, गन्ने र मान्ने गरिएका सबै शासक लोकसेवी रहँदैनन् भन्थे, असत्यीहरुको राजकाज हाबी भएको बल्ल देखिन थाल्यो । बौद्धिक चरित्र र त्यसबाट उपल्ला ओहोदामा पुगेका मान्छेहरुको विद्घता, उनीहरुको कर्म असल भएको नदेख्नु हाम्रा आँखा र मानसिकताको कमजोरी होईनन् । यो त प्रष्ट विम्व हो, जो हामी भोग्दै आएका छौं । हाम्रो सामाजिक मर्यादा, मूल्य र मान्यताले भरिपूर्ण चरित्रले प्राप्त जीवनलालसा र स्वार्थले मुर्खजस्तो देखिनु शोभनीय होईन ।
इमान्दारिता र सद्चरित्रको घोतक मानसिकताले, मान्छे आफ्नो कद् उचो राखोस् । सबै इमान्दारहरु उच्च पदस्थ हुन सकियोस् । यहाँभन्दा पर हटेर, नाजायज कामबाट भएपनि समाजबाट मानसम्मान पाइयोस् । सबैले जयजयकार गरुन् । आफ्ना वरपर कोही अरुपनि घुमुन् । हजुराँई पाइयोस् । यत्ति चाहनामा बाँचेको मान्छेको मन र यत्रो ठूलो कद बोकेको महाननायकहरु साना–मसिना व्यभिचारमा अलमल गर्नु कति जायज होला । सबैको प्यारो मान, सम्मान, ईज्जत, प्रतिष्ठा उत्तिकै महत्वपूर्ण हुन्छन् । ‘समाजमा जस्को ईज्जत हुन्छ, त्यसको व्यर्थ बेईज्जत छैन’ कथन त ठीकै छ । तर त्यहीं मान्छे, आज आफ्नो निष्ठा निचोरेर जिन्दगी भिजाउँदो रहेछ । यो पनि सत्य रहेछ ।
हाम्रो सामाजिक मूल्य, मान्यताले उच्च पदमा आसिनहरु जो, जसप्रति जनताको अहम विश्वास छ । उनीहरुलाई उँचो कदको मान्दै आइएको छ । मानवीय निष्ठा, आदर, सत्कार र सद्भाव सबैको प्रिय चिज पनि हो । मान्छेले जनमनको विश्वास जति लियो उति सामाजमा प्रतिष्ठित हुने, सहानुभूति प्राप्त हुने, सद्भावना बढ्ने, व्यक्तित्वको शाख बढ्ने र श्रद्धा अनुभूत गराउने शान हो । अरुको ईज्जत, मान सम्मानले आफ्नो कद उँचो बन्ने हो । अरुप्रति घृणा, व्यभिचार, बेइमानी, कपटपूर्ण व्यवहार गर्न खोजियो भने यत्तिकै पनि त्यही कद होंचो हुने हो । सबैलाई त्यो थाहा छ । विषयको ज्ञान पनि छ । समाजमा ईज्जत, इमान र शानका खातिर लामो समय लगाएर गरिएका प्रयास, अभ्यास र त्यसको परिणामस्वरुप स्थापित कदम यत्तिकै रोक्न कसैलाई मन पनि हुँदैन । विडम्बना ! आज ठूला भनिएका मान्छेबाटै समाजप्रतिको घात, अन्तरघात, बेइमानी, विश्वसनियताका प्रश्नले जनभावनाको श्रद्धामा दरार पैदा भइरहेको देखिन्छ । यस्ता तमाम उदाहरणहरु पर्दाअघि आइरहेका छन्् । कारण केही होईन्, जुन भावनाको भ¥याङबाट त्यो चाङसम्म पाइला टेकियो त्यहाँबाट तलतिर हेर्ने विचार र चिन्तनमा खोट (एक प्रकारको मानसिक खिया) उत्पन्न हुन्छ, त्यसले दिएको उपहार हो । मान्छे आफै आफ्नो उँचो कद घटाएर होचो कर्मको स्यावासी किन लिइरहेको हुन्छ ।
हाम्रोजस्तो मुलुक र यहाँ गुज्रँदै गरेको कोरोना कहरबाट हामी कसरी उन्मुक्त हुने भन्ने सोंच्दैछौं । देश लकडाउनमा थुनिएको छ । जनता अत्तालिएर भन्न थालिसकेका छन्, ‘सरकार लकडाउनमा घर बस्यो, गरिब, मजदुर र दैनिक काम गरेर पेट पाल्नेहरु सडकमा बाक्लिन थाले ।’ तर, एकाएक यस्तो खबर बाहिर आयो, घरभित्र कोचिएको सरोकारवालाहरु यहीं मौका छोपेर गरिबको खुुन पसिना डामेर निजी जीवन उर्भरतातर्फ उल्मुख हुन्छन् । पत्याउने कसरी ? राष्ट्रसेवक, देशभक्त, राष्ट्रका गहन जिम्मेवारीमा रहेका व्यक्तिहरु नै कोरोना कहरमा राज्यकोषमा डढेलो लगाएर दुबोखेतीको प्रस्ताव गर्छन् भन्ने ! तथाकथित उदाहरुणहरु जे जहाँ छन्, तपशिलमा राखेर नागरिकले आफ्नो आङ थापेर डामेको सहन गर्नुनै पर्नेछ । जो जस्ले अफ्ठेरोमा लोक हसाउने घृष्ट कर्मको सूली चढे र आफ्नो लाज आफै च्याते । अरुनै कारण च्यातिएको लाज छेक्न सकिन्छ तर आफैले च्यातेर नंग्याएको लाज कस्ले ढाक्ने, कस्ले छेक्ने ? संक्रमणबाट देशलाई कसरी उठाउने भन्नेमा नागरिक तहबाट संयममता र सजगता अपनाउनुको विकल्प नछोडौं । जे जसरी परिवेशले चारैतिरबाट कर्म के हो र सत्कर्ममा सही मागज लगाउँ भन्दै गर्दा एकाएक उचालिएको भूतकर्मले जनमानसमा नचाहिंदो बहर सिर्जना ग¥यो ।
जनताका आवश्यक र महत्वपूर्ण सवालमा नीति कुर्ने, बहस र सल्लाह हुनुपर्ने, एकआपसको राय लिनुपर्ने अनेकन बहालाले थलिएको दुनियाँले देखेको परिवेशमा लोकजाल फटालेर दही मथ्ने गिदीको प्रयोग हुन्छ भने अहिलेलाई छाडौंला, परिवेशले ताकेर ताकेता नगरे के होला एकदिन सबैकुराको छिनोफानो जीवनजगत जितेको मदानीले मथेर घ्यू निकालौला । कथनी र कहानीको व्यथा केहीलाई नौनीजस्तै लाग्यो त केहीलाई त्यहीं कडा चट्टानी पथ्थर सावित भयो । यही त सामाजिक मानमर्दनको सार र तत्वबोध हो ।
मानवीय जीवन सृष्टिले दिएको अनुपम उपहारको दुरुपयोग गरेर मोज गर्नेहरुसँग थाक्ने मन छैन । घृष्ट कर्मबाट सत्ताराज चलाउनेहरु यति काम गर्नुलाई सामान्य र नयाँ दिमाग भनेका पनि छन् । तर यो कहीं न कहीं वर्तमान कठिनाईबाट मानवीय समवेदनामा गरिएको व्यालमेलिङ आम सचेतकले जान्दछ र बुझ्दछ । संकटका पहरेदारहरुलाई जनमनले सम्मान गरिरहँदा, सम्मानको उल्टो अपमान, मनोवल प्रदान गर्नेहरुलाई हस्तान्तरण गर्नु मनीवलको भूत उद्धेलित हुनु स्वभनिय थिएन । काम गर्ने बेलामा गफ दिने, देश बनाउने ठाउँमा भेष बनाउने, आसपास र गाँसका भूतहरुको नाट्यमञ्चबाट हुँकार गरिदै आएको गणतन्त्रात्मक राष्ट्रका राष्ट्रसेवक, राष्ट्रप्रेमीहरुलाई लज्जाको शिखर उक्लने मत्र्यको बाटो सुहाउँदो यात्रा होईन होला । त्यसलाई साथ दिने उच्च ओहोदाको बद्नामी कदमले कहीं कसैलाई गतिलो सन्देश दिएको छैन । यसलाई पनि राम्रो कर्म मान्नेहरु सबै मसानघाटबाट उठेका मानसिकता हुन् । जस्ले भूत सवारहरुलाई जिउँदो कन्धामा बोकेर स्वर्गको बाटो लागेको गलत वात बताएका हुन्छन् ।
देशमा उच्चतम शासन प्रणाली र व्यवस्था व्यवस्थापकहरुले बिर्सेको पाटो, केही दिनमात्र देशका जनताले १३ औं गणतन्त्र दिवसका अवसरमा दीप प्रज्जवलन गर्दै व्यवस्थाको सम्मान गरिरहेका हुन्छन्, त्यहीं व्यवस्थाका स्थायी व्यवस्थापक र अस्थायी व्यवस्थापकले फुकेर त्यो दियो निभाउन मिल्छ कि मिल्दैन ? देशमा शान्ति, अमनचयन माग गर्दै रगतको अहालबाट उठ्न नसकेका शहीद, तिनका परिवार र समर्थक जनताको गास, बास र कपासको व्यवस्था गर्ने उच्चतम राज्य प्रणालीमा लज्जाको खेती मौलाउनु हाम्रो बारीको ड्याङमा कुन मुला फल्यो भनेर सोध्ने कि नसोध्ने ? सोध्नेहरुलाई गोध्ने राज्य प्रणालीको कस्तो रापमा हुर्केको बिरुवा हो भनेर विचार मोथ्ने कि नमोथ्ने ? के यसकै लागि होला जिउँदो शरीर मारेर जनताले ल्याएको गणतान्त्रिक व्यवस्थाको उपज ? च्यातिएको लाजमाथि नजर जानु पाप पनि होईन गल्ती पनि होईन । लज्जाबोधको मानसिकताका पात्रहरुले मानसिकता सन्तुलित बनाउने बेला आफै गन्हयाएको ढुँगुर देखेर आलोचना गरेको भेटिन्छन् । कोरोना संक्रमण बरु सहन सक्लान, त्योभन्दा खतरनाक संक्रमणले देश थलिने हो कि भन्ने चेत भएकाले आलोचना गरेका होलान । सत्य यत्ति हो ।
आलोचना सच्याउन, सुझाउन र बुझाउन गरिन्छ । तर सबै चेत गुमेका अहंकारलाई विदाईभन्दा अर्को विकल्प हुँदैन । लज्जाहिन मान्छेहरु हात हल्लाएर विदाई गर्दैनन् । लात खाएर पो विदाई हुने हुन् कि ? कालान्तरले यस्तो अवस्था नकुरोस् । सहीलाई सहीभन्दा, मरिन्छ भने बरु बेसरमहरुको नाजायजी हर्कत अरु देख्न नपरोस् । कुमर्म गरेकाहरुको हाई–हाई गर्ने मानवजातिहरु लामो समय भूत मानसिकताका रोगी भएर पनि नबसुन् । खान पाएकाहरु, लाउन पाएकाहरु र पापकर्ममा मन्द्राएकाहरुलाई छाडौं । जो दुस्कर्मबाट अलग छ र यस्तो कर्म बेकार ठान्छ उ भने अझै सचेत होस् । नागरिकमा चेतना वृद्धि होस् । गलत गर्नेहरुलाई गलहत्याएर नयाँ संस्कारको नयाँ युग जन्माउने जनता जनार्दन अझै सचेतताका पात्र बनोस् । अनमत्त र च्यूत मान्छेका मानसिकताले च्यातेको लाज नयाँ टालो लगाएर ढाक्ने र स्वावास् भन्नेहरुसमेत बस्त्रहिन भइरहँदा, खाली आँखाले त्यो अस्त्र हेरेर लठ्ठ हुने होईन । यो त एक हदको चरित्र गुमाएकाहरुको भीडले मच्याएको नैतिक हत्या हो । चित्रमाथि बहुरंगी तरंगले ल्याएको नाजायज परिदृश्य हो भन्ने मानसिकताले जायज निर्णय गर्ने बेला पनि यही हो । हाम्रो संस्कार विपद्मा सहयोग र सद्भाव हो । यस्तो बेला व्यभिचार र बद्मासी होईन । मानवीय समवेदनाको समकालिन आदर्श जगाएर, फ्रन्टलाइनमा अहोरात्र खटिने पात्रहरुको उच्च मनोवलमा हातेमालो गर्ने र सत्यकर्मको थोरै भएपनि फलबाट उत्कृष्ट कर्म देखाउने समय हो ।





