दुईवटा प्रसंगबाट कुरा सुरु गरौं । एउटा प्रसंग हो : M. J. Morowitz को निबन्ध The Six Million Dollar Man को । लेखकले एउटा ग्रिटीङ कार्ड प्राप्त गर्छन् । पत्रको बाहिर पट्टी लेखिएको छ कि – मान्छेको जम्मा मूल्य ९७ पैसा मात्र । उनी तीन छक पर्छन् । उनलाई मान्छेको मूल्य जान्ने हुट–हुटीले सताउँछ । मान्छेको शरीर बन्न चाहिने रसायनको बजार मूल्यले हिसाब गर्छन् । मान्छेको मूल्य त ६ मिलियन डलर पो निस्कियो त । उनी आशावादी हुन्छन् । उनलाई याद आउँछ । मान्छेको स्थुल शरीर मात्र त हँुदैन् । यसमा सोल (आत्मरमन) पनि त हुन्छ । यस्ले त मान्छेलाई चलायमान बनाउँछ । यसको भौतिक अस्तित्व देखिदैन । तर मान्छेको शरीर तरतीप पार्ने आत्मको बजार मूल्य नै छैन् । अनमोल छ । उसो भए मानव अमूल्य, अनमोल छ । संख्यामा मूल्य तोक्न सकिदैन । मानव चोला अदित्तिय छ ।
अर्को प्रसंग हो कविताको । कवितामा राजा जोहन र पादरी अब्बोटको कथा छ । पादरीको यश र विलासीता देखेर राजालाई ईष्र्या लाग्छ । पादरीको शानलाई राजाले आफ्नो अपमान मान्छ । राजाले बदला लिन चाहन्छ । पादरीलाई मार्ने निऊ झिक्छ । पादरीलाई ३ वटा टेडा प्रश्न गर्छ । ‘म यो पृथ्वीलाई कति दिनमा फन्को मार्न सक्छु’ । ‘मेरो मोलमा एक पैसासंग के सम्बन्ध छ’ । ‘यस बखतमा म के सोचिरहेको छु’ । उत्तरको लागि उसले १५ दिनको समय पाउँछ । उत्तर नआएमा टाउको छिनाएर मारिने छ । उत्तर खोज्दै अक्सफोर्ड र क्याब्रिजका घगडान विद्वानसंग परामर्श गर्छ । उत्तर पाउँदैन । जीन्दगीसंग हरेश खान्छ । फतक्क गल्छ । अब यत्तिकै र’छ, भन्छ ।
दुःखी अब्बोटले गोठालोलाई भेट्छ । गोठालोले सहयोगको बचन दिन्छ । गोठालो पादरीको भेषमा दरवारमा जान्छ । उसले राजाको मूल्य जम्मा २९ पैसा बताउँछ । जीससको भन्दा जम्मा एक पैसा कम । किनभने जम्मा ३० पैसाको खाँतिर जीससका एक जना शिष्यले पोल खोलेर जीससको हत्या गराएका थिए । राजाको मूल्य जीससको समान हुने कुरै भएन । गोठालोले अब्बोटको ज्यान बचायो ।
यी दुई प्रसंगले मथिङ्गल घोलिन्छ, मथिन्छ । त्यसो भए मानव अनमोल छ कि नमोल छ त । उत्तर सजिलो छैन् । अत्यन्तै विरोधाभाषपूर्ण छ । मान्छेको मूल्य अनमोल छ । तात्पर्य, मान्छेको मोल नै छैन् । अथवा मान्छे यति मूल्यवान छ कि विज्ञानले लेखानै राख्न सक्दैन । त्यसो भए छैनको बराबर छ । अनन्तमा हुनु र नहुनुको स्थान एउटै हुन्छ ।
फेरि, दुईवटा प्रसंगको चर्चा गरौं । जेठ महिनाको शुरुतिर दुईवटा अमानविय र जघन्य घटना घटे । घटना घटाइयो । घटनाहरु समान प्रकृतिका देखिन्छन् । यी दुवै मानव हत्याका घटनाहरु हुन् । मानव सभ्यताका कलंक हुन् । एक्काइसौं शताव्दीका कहालीलाग्दा मध्यका हुन् । घटनाहरु छुत भेद र रंग भेदका पराकाष्ठ हुन् । भलै घटनाहरु पृथिवीका दुई विपरित गोलाद्र्वका नै किन नहुन् । जेठ १० गते, अविकसित भनिएको नेपालको पनि पिछडिएको रुकुममा घटना घट्यो । र, जेठ १२ गते विकसित, सभ्य र समुन्नत भनिएको अमेरिकाको मिनेसोटामा दुवै घटनाको साझा प्रकृति हो – मानव हत्या । रुकुममा नवराज सुनारसहित ६ जना मारिएका छन् । उनी साथीसंग ठकुरी थरकी प्रेमीका लिन गएका थिए । जातिभेदले द्धन्द र हत्या निम्तियो । उता अमेरिकामा ४६ वर्षीय अस्वेत जर्ज फ्लोयडको हत्या भएको छ । कुनै हत्या आरोपमा उनलाई पक्रियो । भूंइमा लडाएपछि ८ मिनेट ६ सेकेण्डसम्म घाँटीमा थिचेर सडकमै हत्या गरियो । उनले ३ वटा शव्द मात्रै बोल्न पाए कि – ‘आई कान्ट ब्रेथ’ । हत्यामा स्वेत पुलीस अधिकारीको संलग्नता देखिन्छ । यो घटनाले संसार स्तब्ध मात्र बनेन् कि मान्छेलाई जुरुक्क उठायो पनि । घटनाले गंभिर प्रश्न उठाएको छ । राज्य छ । कानून छ । सुरक्षा संयन्त्र छ । जस्तोसुकै अपराधीलाई पनि सजायको व्यवस्था छ । तर, जे–सुकै कसुरमा भए पनि मान्छे मारिनु भनेको दुखद त हुदै हो अमानविय पनि । मानव सभ्यताको कलंक नै हो ।
हत्याले संसारभर नै सन्नटा छाएको छ, स्तव्ध बनाएको छ । मान्छेहरु सडकमा ओर्लिएका छन् । सदनमा व्यापक विरोध भएको छ । अपराधीलाई कानूनको दायरामा ल्याउने बताईएको छ । छनविन समिती बनाईएको छ । उता, अमेरिकामा सबै राज्यमा जनता सडकमा उत्रेका छन् । व्यापक विरोध गरिएको छ । अन्य मूलुककमा पनि अमेरीकी दुतावस अगाडि दवाब जुलुस निकालिएको छ । शान्तिपूर्ण प्रदर्शनमा व्यापक दमन भएको छ । दमनले भीडलाई उत्तेजित बनाएको छ । उत्तेजित भीडले तोडफोड आगजनी र लुटपाट मच्चाएको छ । थप ५ जनाको मृत्यू भएको छ । प्रदर्शनमा उत्रेको शान्तिपूर्ण भीडमाथि गाडी, ट्याङकर कुदाईएको छ । घोडाले कुल्चाइएको छ । बुढा–बुढी केटा–केटी महिलाहरुलाई धकेलेर बाटोमा पछारिएको छ । टीयर ग्याँस, लाठीचार्ज र गोलीसमेत चलाईएको छ ।
त्यसो भए मान्छेको मानवता, मूल्य, मान्यता र सह–सम्बन्धमा गंभीर प्रश्न उठान भएका छन् । हामी एक्काइसौं शताव्दीको सभ्य मानवको कल्पना गरिरहेको बेला । प्राणी जगतमा मानव नै सर्वश्रेष्ठ भनिरेको बेला । हत्या दमन भेदभाव र अपमानले गिज्याईरहेको छ । मान्छे मानवको कोटीबाट दानवोन्मुख हुँदैछ । माया–ममता त शब्दमा सिमित भएका छन् । प्राणी जगतमा सबैभन्दा हिंस्रक, लोभी, अषन्तोषी र पाखन्डी मान्छे नै भएको छ । ईष्र्या गर्ने, संचय गर्ने र अरूभन्दा फरक छु भन्ने अहंले मान्छे नमान्छे भएको छ । क्रुर र निर्दयी भएको छ । मानव सभ्यतामा नै प्रश्न उठेको छ । मान्छेको रगत चौलानी समान भएको छ । मान्छे अनमोल होइन कि नमोल भएको छ ।
हाम्रो सनातनी सभ्यताले मान्छेहरुको बीचमा विभेदलाई स्वीकार्दैन । जन्मजात उँचो–निच र छुत–अछुतको भेदलाई मान्दैन । कर्मले नै मान्छेलाई फरक बनाउँछ । वाइवलले भन्छ – ईश्वरले मान्छेको श्रृजना गरे । मान्छेहरु ईश्वरका बालबच्चा हुन् । बालबच्चाहरु समान छन् । तर समाजले त अपमान र विभेदको कलंक त बोकिनै रहेको छ, अझसम्म पनि । नेपालको संविधानले विभेदलाई दण्डनीय मानेको छ । अमेरीकी संविधानले दासता र रंगभेदलाई चिन्दैन । सबै नागरीक समान भन्छ । जीवन, स्वतन्त्रता र सुखसंग बाँच्न पाउने अधिकारलाई मौलिक हक मानेको छ । तर, विभेदको खील गढेकै छ । घटीया संस्कारले मान्छेलाई खोटा सावित गरेको छ ।
एकसरो विगततिर फर्कौ । विगत पनि संङ्लो देखिदैन । मानव इतिहाँसले पनि मान्छेलाई धोका दिएको देखिन्छ । अवमूल्यन गरेको देखिन्छ । महाभारत कालमा कहालीलाग्दो महायुद्ध भएको छ, कुरुक्षेत्रमा १८ दिनसम्म । यो युद्ध पाण्डव र कौरव बीचमा पारिवारिक अंशबण्डा र शक्ति बाँडफाँडको कलहले निम्त्ताएको हो । युद्धमा ४७ लाख २३ हजारभन्द बढीले ज्यान गुमाएका छन् । पहिलो विश्व युद्धमा २ करोड त सेना मात्र मारिएका छन् । ३ करोडभन्दा बढी घाइते भएका छन् । एक करोड बढी हराएका छन् । आश्रित मान्छेहरु महिला बालबच्चा, बुढा–बुढी, रोगी र सम्पत्तिको हालत हामी अनुमान पनि गर्न सक्दैनौ ।
दोश्रो विश्व युद्धमा ९ करोड बढी मान्छेहरुको ज्यान गएको छ । ५ करोडभन्दा बढी निहत्था नागरिकको ज्यान गएको छ । ५० लाखभन्दा बढी थुनामा मारिएका छन् । रगत शुद्धताको नाममा ६० लाखभन्दा बढी यहूदी मात्रै मारिएका छन् । दैनिक ५ सयका दरले यहूदीलाई हिटलरी सेनाले भट्टीमा उसिने । युद्धले श्रृजित महामारी रोगको कारणले ३ करोड जति मान्छे मारिएका छन् । मारिएकामध्ये आधा त रुस र चाइनाका मात्र भन्ने पनि गरिन्छ । चाइनाका २ करोड र रुसका ३ करोड मान्छे मारिएको भनिन्छ । रुसका १ करोड त सेना मात्र मारिए । तत्थ्याँक भन्छ कि २ लाख नेपाली पनि यहीं घानमा पिसिए । फरक श्रोतले फरक फरक तत्थ्यांक प्रस्तुत गरेका छन् । लाखको संख्यालाई त ‘राउण्ड अफ’ ।
अमेरिकाको जुम्ल्याहा भवनमा दुइ वटा जहाज जोतिए, सन् २००१ सेप्टेम्वर ११ मा । तीन हजार मान्छेहरु अनाहकमा मारिए । ओसामा विन लादेनलाई मास्टरमाइण्ड भनियो । पाकिस्तानको अब्बोतावादमा लुकेर बसेको अवस्थामा मे २, २०११ मा मारियो । यहीं निहुँमा अफगानिस्थान युद्ध मच्चियो र लाखौंको जीवन स्वाहा भयो ।
२००३ मा इराक युद्ध भयो । अमेरीकी आक्रमणमा डेढ लाख मान्छेहरु मारिए । कतै त छ लाख मारिएको पनि भनिन्छ । ईराकका राष्ट्रपति सद्दाम हुसैनलाई फाँसीमा लटकाइयो । त्यसैगरी लिवियाका प्रधानमन्त्री कोलोनेल मोहम्मद गद्धाफीलाई मारियो, अक्टोवर २०, २०११ मा । सिरिया युद्धमा २ लाख बढी मारिएका छन् । गत अक्टोवर २०, २०१९ मा सिरियन नेता बक्दादी मारिए । उनलाई अमेरीकी ड्रोन बम आक्रमणमा उडाइयो । उनको मन पर्ने औंठी लगाएको हात भेटिएकाले मृत्यु पुष्टी भयो । नेपालमै १७ हजार मान्छेले ज्यान गुमाए, जनयुद्धको नाममा ।
र, अन्त्यमा, इतिहाँसले मान्छेलाई डरलाग्दो पाठ पढाएको छ । मानव सेवा र समृद्विमा लगाउनु पर्ने मानव चोला भड्कीएको छ । जेसुकै कारण र बहानामा भए पनि मन्छेले मान्छेलाई नै हेप्ने र विभेदको शिकार बनाएको छ । ज्यानै लिएको छ । मानवीय मूल्यको अवमूल्यन गरेको छ । चौलानी सरी रगत बगेको छ । मान्छे, शक्ति संकलन र अहंले, अन्धो भएको छ । तर के गर्नु मान्छे यति काफर छ कि शक्तिको वीचमा पनि असुरक्षित छ, धन दौलतले दरिद्र छ र अभिमानले पाखण्डी छ । हो यहीं मान्छेले मानवीय मूल्य र मान्यतालाई मूल्यहीन बनाएको छ । जय होस् ।





