बागलुङ, ४ असार– बागलुङ नगरपालिका वडा नम्बर २ को कार्यालयले बिना जानकारी क्याम्पसको पर्खाल भत्काएर पूर्वाधार निर्माणको काम गरेको भन्दै धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा क्रियाशिल विद्यार्थी संगठनले बिरोध गरेका छन् ।
पर्खाल भत्काएर पूर्वाधार निर्माणको काम धमाधम चलिरहँदा क्याम्पस प्रशासन मौन रहेको भन्दै उनीहरुले बुधबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा निर्माण भएको पर्खालमा नगरपालिकाले आँखा लगाउँदै क्याम्पस हाताभित्रै नाली निर्माणको काम गरेको उनीहरुको आरोप छ । क्याम्पसमा क्रियाशिल पाँच विद्यार्थी संगठनहरुले बुधबार स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसमा त्रियाशिल विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिबीच छलफल गरी साझा धारणा बनाएर क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले सबै पक्षसँग छलफल गरी निकास दिन क्याम्पस प्रशासनसँग माग गरेका छन् ।
क्याम्पसको नाममा भएको सम्पूर्ण जग्गालाई आधिकारिक रुपमा पहिचान गर्ने र विभिन्न समयमा गुमेको जग्गालाई संरक्षण गरी क्याम्पसको विस्तृत खाका लिएर मात्र निर्माण लगायतको काम गर्न विद्यार्थी संगठनहरुले आग्रह गर्दै बेवास्ता गरे आन्दोलनको चेतावनी दिएका छन् ।
स्वतन्त्र बिद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस, अनेरास्ववियूका केन्द्रिय सदस्य अखिल छैठौ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
यसैबीच, जग्गा मिचिएकोप्रति प्रध्यापक संघ इकाई समिति धौलागिरी बहुमुखी क्याम्पसले आपत्ति जनाएको छ । धौलागिरि क्षेत्रको धरोहरको रुपमा रहेको क्याम्पसको पर्खाल औपचारिक सहमति बिना संरचना निर्माण गर्नु आपत्तिजनक रहेको संघका सभापति विजयराज पन्तद्वारा जारी विज्ञप्ती उल्लेख गरिएको छ ।





