
बागलुङ, ८ असार – आइतवार मात्रै बागलुङमा १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि कुल संक्रमित १ सय १७ जना पुगेका छन् ।
थपिएका र थपिंदै गरेका संक्रमितलाई कता राखेर उपचार गर्ने भन्ने अन्यौल सुरु भएको छ । झण्डै तीन महिना लामो लकडाउन र भारतबाट सयौं मानिस फर्काउने तयारीका बीच संक्रमित भेटिन्छन् र राख्नुपर्छ भन्ने जिल्ला कमाण्ड पोष्ट र स्थानीय पालिकाले हेक्का नराखेको पाइएको जनप्रतिनिधिहरुले गुनासो गरे ।
फलस्वरुप आइतवारै संक्रमितलाई कता राख्ने भन्ने अन्यौल सुरु भएको हो । सोमबारदेखि थपिने संक्रमितको अबस्था बारे योजना समेत जिल्ला कमाण्ड पोष्टमा छैन । पहिलो पटक जैमिनीमा भेटिएका एक जना संक्रमितलाई कुनै अस्पताल लगिएको छैन । जिल्ला कमाण्ड पोष्टले दोश्रोपटकको स्वाब परीक्षण पनि पोजेटिभ आयो भनेमात्रै अस्पताल ल्याउने त्यस अघि संक्रमितलाई क्वारेन्टाइनमै राख्न भनेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले बताए । ‘हामीले आइसोलेसन बनाउने योजना बनाएका छैनौ, संक्रमित देखियो, जिल्लाले नपठाउ, त्यही राख भन्यो’ शर्माले भने, ‘जिल्लामा पनि बेड खाली छैन भनेपछि संक्रमितलाई क्वारेन्टाइनमै राखेका छौं ।’ दुइ साता अघि जिल्ला कमाण्ड पोष्टले जैमिनी नगरपालिकालाई कम्तिमा १० बेड आइसोलेसन बनाउन भनेको थियो । नगरपालिकाले वेवास्ता गरेपछि आइतवार सम्म आइसोलेसन बनेको छैन ।
गलकोट नगरपालिकामा २७ जना संक्रमित पुगेका छन् । संक्रमित बढेपछि आइतवार वडा नं. २ को नरेठाँटीमा २० जना राख्नेगरी आइसोलेसन बनाइएको छ । यसअघिका संक्रमित बागलुङ आएपनि अब भेटिने संक्रमितलाई गलकोटमै राखिने वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘संक्रमित बढ्दैछन् भन्ने जानेर पनि संघ र प्रदेश सरकारले तयारी नगर्दा स्थानीय पालिका मारमा परे’ भण्डारीले भने, ‘साधन श्रोत र दक्ष चिकित्सक नभएकोले संक्रमितलाई अप्ठ्यारो पर्दा उपचार गर्ने ठाउँ छैन ।’ पोखरामा हजारौं बेडका अस्पताल खाली हुँदा एकदुइसय संक्रमित व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको उनले टिप्पणी गरे ।
ताराखोलाले आइतवार हिल स्वास्थ्यचौकीमा ३ बेडको आइसोलेसन बनाएर भेटिएका एक संक्रमितलाई त्यही राखेको छ । आबस्यक पर्दा अमरभूमीमा पनि ३ बेड बनाएर राख्न सकिने अध्यक्ष प्रकाश घर्तीले बताए । बडिगाड, निसीखोला र बरेङमा पनि आइसोलेसनको समस्या छ । ती स्थानमा दक्ष स्वास्थ्यकर्मी अभावले आइसोलेसन बनाउन नसकेको जनप्रतिनिधिले बताए । ‘संघ र प्रदेशले कम्तिमा १ जना डाक्टर रहेको स्थानमा मात्र आइसोलेसन बनाउन भनेको छ, हामीलाई जिल्लाले जवरजस्ती गर्छ’ बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘आफ्नै पालिका भवन र स्वास्थ्यचौकीका भवन नभएको स्थानमा आइसोलेसन कसरी बनाउनु ?’ उनले जिल्ला कमाण्ड पोष्टको कमजोरीले आइसोलेसन बनाउन ढीला भएको बताए ।
पछिल्लो समय होम आइसोलेसनको अबधारणा मार्फत घरघरमा राख्ने तयारी भैरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘अब लक्षण नदेखिएका संक्रमित घरमा सुरक्षित बस्नुपर्ने पनि हुन सक्छ’ गुरौले भने, ‘लक्षण देखियो भने अस्पताल ल्याउने, नत्र दुइसाता आइसोलेसन बसाल्नुपर्ने छ, यो विश्व स्वास्थ्य संगठनले पनि प्रावधान ल्याएको छ ।’ लक्षण नदेखिएकाबाट संक्रमण नसर्ने भएकोले होम आइसोलेसन पनि उपयुक्त हुने उनको तर्क थियो ।
बागलुङमा हाल सम्म १ सय जना क्षमताको आइसोलेसन मात्र बनेका छन् । १७ जना डिस्चार्ज गर्दामात्रै १ सय जनालाई राख्न सकिने गुरौले जानकारी दिए । धौलागिरी अञ्चल अस्पतालमामात्रै २४ बेडको आइसोलेसन वार्ड छ । धौलागिरी बहुमुखी क्यामपसमा ४५ जना, बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २५ र गलकोट स्थित आरोग्य अस्पतालमा २ बेड प्रिआइसोलेसन् छन् । निसीखोला र तमानखोलामा पूर्वाधार अभाव र दक्ष स्वास्थ्यकर्मी अभावमा आइसोलेसन बनाउने तयारी छैन । बरेङले सर्वोदय माबिमा १० बेड बनाउने तयारी थालेको छ ।
कहाँ के तयारी
– बागलुङ नगरपालिका भित्र धौलागिरी अञ्चल अस्पतालमा २४ बेड
– धौलागिरी बहुमुखी क्याम्पसमा ५२ बेड
– गलकोटमा आरोग्य अस्पतालमा २ बेड
– गलकोटको नरेठाँटीमा २० बेड निर्माणाधिन
– प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा २५ बेड, ५० बनाउने लक्ष
– ताराखोला गाउँपालिकामा ३ बेड निर्माण, ३ थप्ने योजना
– बरेङ गाउँपालिकामा १० बेड निर्माणाधिन
– जैमिनीमा १० बेड बनाउन भनिएकोमा अहिले सम्म शुन्य बेड





