मातृशिशु अस्पतालभित्र पानी थाप्न राखिएको भाँडाहरु तथा भत्किएको सिलिङ । तस्वीरः विजय नेपाली
पोखरा, १० असार – असार लाग्नासाथ पानी परेपछि किसानहरुमा खुसी छाएको छ । धान रोप्न किसानहरु व्यस्त भइरहेको बेलाम पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु अस्पतालका कर्मचारी भने बाल्टिन र बाटा थाप्दै पानी फाल्न व्यस्त छन् । छाना चुहिएर अस्पताल भित्रै पानी चुहिएपछि उनीहरुको दैनिकी बदलिएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको मातृशिशु अस्पतालमा अहिले दुईवटा काम एकैसाथ भइरहेको छ । पहिलो काम अस्पतालको पूर्वाधार निमार्ण र दोस्रो काम पानी चुहिएको ठाउँमा भाडो थाप्ने । अस्पतालको बच्चाालाई खोप लगाउन बनाइएको वैकल्पिक खोप कक्ष भत्किएको छ । माथिबाट टिनले छोपिएको छ तरपनि पानी रोकिएको छैन । पानी दर्किँदा अस्पतालभित्र आहाल बन्छ । अस्पताल भित्र प्रवेश गर्ने बित्तिकै भुइँमा ३–४ वडा भाँडा थापिएको देखिन्छ । किसानहरुलाई खुसी मिल्दा अस्पतालका कर्मचारीलाई भने पानीले सताएको छ । उसो त, कर्मचारीलाई भुइँमा पानी हालेर सफा गर्ने झन्झट भने हटेको छ । आकाशबाट आएको पानीमै टालो लगाइदिए निकै चम्किन्छ मातृशिशु अस्पताल । अस्पतालको सिलिङलाई जिप्सन बोर्डले ढाकिएको छ । त्यही जिप्सन बोर्ड पनि भत्किएको छ भने अस्पतालभित्र पानी चुहिएको छ । अस्पतालमा गण्डकी प्रदेशका मात्र नभएर बाहिरी जिल्लाबाटसमेत सेवाग्रहीहरु आउने गर्छन । पानीले चिप्लो भएको भुइँमा प्रसुतिको लागि आउनेहरु लड्ने हुन् कि भन्ने चिन्ता छ । पोखराको भिगनी सम्बन्ध कायम भएको जापानको कोमागाने नगरको सहयोग छ, अस्पताललाई । त्यसैले यो अस्पतालको नाम नै मितेरी मातृशिशु अस्पताल राखिएको हो ।
अस्पताल संचालमा आएको ८ वर्ष भयो । पोखरा उपमहानगरपालिका संरक्षकत्व र कोमागाने नगर जापानको सह–संरक्षकत्वमा स्थानीय जनताको सहयोगमा स्थापित अस्पतालले २०६७ साल कार्तिक २३ बाट पोलिक्लिनिकको रुपमा सेवा सुरु गरेको थियो । जनस्तरबाट महायज्ञ मार्फत सुरुआत गरिएको अस्पतालमा २०६९ साल माघ २२ गतेदेखि महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा १२ करोड रुपैयाँ बराबरको भवन, नेपाल सरकारको १ करोड १० लाख रुपैयाँ लगानी, स्थानीय जनताको ५२ लाख, कोमागाने नगरले करिब ४ करोड बराबरको महत्वपूर्ण उपकरण सहयोग गरेका छन् ।
नगरपालिकाले अस्पताल सञ्चालनको लागि वार्षिक रुपमा २५ लाख रुपैयाँ सहयोग गदै आएको थियो । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको १० औं वर्षगाँठको अवसरमा २०६९ सालमा अस्पताल स्थापना गरिएको थियो । अस्पताललाई नेपाल सरकारले २०७२ असोज २२ गते जिल्ला स्तरको २५ शैयाको सरकारी अस्पतालमा स्तरोन्नति गरेको थियो । साबिकको बाटुलेचौर स्वास्थ्य चौकी र मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको हो । यता,२०७३ असोज १२ गते अस्पताल सरकारलाई हस्तान्तरण गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट छममाया पुनले अस्पतालका प्रमुख डाक्टर प्रेमराज पंगेनीलाई अस्पतालको माइन्युट बुक, सम्पत्तिको सम्पूर्ण विवरण बुझाएर सरकारलाई हस्तान्तरण गरेकी थिइन् । सोही कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीसहित २० जना भन्दा बढीले अस्पतालाई स्तरोन्नति गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिपतिको हातबाट सम्मानसमेत गरिएको थियो । तर अहिले अस्पतालको अवस्था देख्दा निकै विजोग छ । करौडौँको लगानीमा बनेको अस्पतालमा पानी चुहिएको छ । 
बिग्रेको जिप्सन हो : अस्पताल
अस्पतालमा भएको समस्या पानीको कारणले मात्र भएको अस्पताल व्यवस्थापन समितिको दावी छ । अस्पतालमा बन्न लागेको पुर्वाधारको कारणले गर्दा पानी पसेको समितिको ठम्याँइ रहेको छ । ‘ जिप्सन बोर्ड पानी परेको कारणले बिग्रिएको हो, संरचना बिग्रिएको होइन’,अस्पताल व्यस्थापन समितिका प्रमुख उसा बरुवालले जानकारी दिइन् । “भत्किएको ठाउँ कुनै कक्ष होइन हामिले वैकल्पिक कक्ष बनाएका थियाँ,ै त्यो लिफ्ट निमार्ण गर्न राखिएको भाग हो त्यहीँ भाग बिग्रिएको हो’, बरुवालले भनिन् । अस्पतालको माथिल्लो तलामा संरचना बन्न लागको कारणले खुल्ला भएको ठाउँबाट पानी भित्र पसेको उनले बताइन् । ‘संरचनामा कुनै असर छैन जिप्सन बोर्ड भने पानीले विग्रिहाल्ने भएकाले हो अन्यथा सबै ठीकै छ’, उनले भनिन् । अस्पतालमा ३ करोडको लागतमा हाल डाक्टर क्वाटर, प्रशासनिक भवन, शौचालय, लुगाधुने स्थान लगायत संरचना बन्न लागेको उनले जानकारी दिइन् । साथै अस्पताललाई ५० शैयाको बनाउने काम समेत अघिबढेको उनको भनाइ छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमै यो अस्पतालाई स्तरोन्नति गर्ने घोषणा गर्दै बजेट विनियोजन गरेको छ ।





