बागलुङ, ११ असार– भारतबाट आएर क्वारेन्टाइनमा बसेको धेरै दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आयो । गर्भमा रहेको बच्चाको बिषयमा निकै चिन्ता हुँदाहुँदै आईसोलेसनको यात्रा तय भयो । पहिलो बच्चा जन्मिँदै मृत जन्मेकाले उनलाई दोस्रो बच्चाको बिषयमा निकै चिन्ता थियो । कोरोना संक्रमण पुष्टि भएपछि थप पीडाको अनुभव गरिरहेकी बागलुङको ढोरपाटन नगरपालिका–८ की १९ बर्षिया युवतीले बुधबार राती आफ्नो दोस्रो सन्तानलाई धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा जन्म दिईन् ।
उनी कोरोना संक्रमण पुष्टि भएपछि तिन दिनअघि मात्रै अस्पतालको आईसोलेसनमा आएकी थिईन् । गर्भवती रहेकाले खतरा हुनसक्ने देखेर उनलाई बुर्तिबाङको आईसोलेसनमा नराखी धौलागिरि अस्पतालको आईसोलेसन ल्याईएको थियो ।
बुधबार राती ८ बजेपछि व्यथा लागेको जानकारी गराएकी उनलाई अस्पतालले रेखदेख गरिरहेको थियो । राती १२ ः ३० मा बच्चा जन्मिएपछि उनलाई छुट्टै बर्थिङ कक्ष बनाएर राखिएको प्रसुती बिभाग प्रमुख डा. सौगात कोईरालाले बताए । ‘उहाँ निकै चिन्तामा हुनुहुन्थ्यो हामीले काउन्सीलिङ गरिरहेका थियौं’ कोईरालाले भने ‘हामी शल्यक्रियाको समेत तयारीमा थियौं तर उहाँले नर्मल डेलिभरी चाहनुभयो ।’
आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको कोईरालाले बताए । उनले छोरा जन्माएकी छिन् । कोरोना संक्रमण पुष्टि भएपछि आईसोलेसन ल्याएर संकलन गरिएको थ्रोट स्वावको नतिजा नेगेटिभ आएको खबर भएपनि आधिकारिक जानकारी नआएकाले उनलाई डिसचार्ज गरिएको थिएन् ।
बच्चा जन्मिएपछि निकै खुसी रहेकी उनी कोरोनाको रिपोर्ट पनि नेगेटिभ आउनेमा विश्वस्त छिन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले एक÷दुई दिनमा डिस्चार्ज गरिने कोईरालले बताए । भारतबाट सँगै आएका उनका श्रीमानलाई समेत कोरोना पोजेटिभ देखिएकाले आईसोलेसनमा छन् । दुवै जनाको दोस्रो पटक लिईएको स्वावको नतिजा नेगेटिभ आएको भएपनि आधिकारिक कागजात नआएकाले डिस्चार्ज नभएको अस्पतालले जनाएको छ ।





