आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सानो रकमको सानै पुल तर चर्चामा छ !

सानो रकमको सानै पुल तर चर्चामा छ !

४/६ इन्चको पक्कि बिमसहित केही फलाम र गिट्टी बालुवाको सहयताले पुल बनेको बागलुङ नगरपालिकाका प्राबिधिक दिपेन्द्र भण्डारीले बताए


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७७, शुक्रबार

बागलुङ, १२ असार– वर्षामा उर्लेर आउने गलुवा खोला । बागलुङ नगरपालिका–१० भकुण्डेका गाउँको वर्षाको पानी जम्मा पारेर बोकेर आउँछ । हिउँदको समयमा खोलाको कुनै प्रवाह नभए पनि बर्षामा भने कुनबेला उर्लेको भेलले झुक्याउँछ भन्ने त्रास हुन्थ्यो । खोलामा सामान्य पुलसमेत नभएका कारण बर्षाको भेलमा हेलिएरै वारपार गर्थे गाउँले र विद्यार्थी । पुल नहुँदा भकुण्डेको गलुवा गाउँका स्थानीयलाई समस्या नै थियो ।
खेतिपातीका लागि त्यहिं खोला तरेर गाउँमाथिको खेत जानुपर्ने, प्राथमिक तहको पढाई सकेका बालबालिका थप अध्ययनका लागि नजिकको विद्यालय जान पनि खोलाको सामना गर्नै पर्दथ्यो । हिउँदमा समस्या नभए पनि बर्षाको समयमा निकै कठिन थियो किसान र विद्यार्थीलाई । गलुवा गाउँका कक्षा ६ देखि १२ पढ्ने २५ जना विद्यार्थी छन् । उनीहरुको प्राथमिक तहको पढाईपछि नजिकको स्कुल भनेको बागलुङ नगरपालिका–१३ मा रहेको जनमत मावि हो । त्यहाँ पुग्न पनि एक घण्टा समय खर्चिनु पर्छ ।
एउटा सानो पुलसमेत बनाउन नसक्दा यसअघि सरोकारवालाको खुव आलोचना भयो । अहिले गलुवा खोलामा सानो पक्कि पुल बनेको छ । कुनैबेला जोखिमको सामना गर्दै वारपार गरेर सरोकारवालाको चर्को आलोचना गर्ने गलुवाबासीले अहिले बागलुङ नगरको खुलेर प्रशंसा गर्न थालेका छन् ।
गलुवाका स्थानीय मात्रै होईन अहिले गलुवा खोलामा बनेको पुलको सामाजिक सञ्जालमा निकै चर्चा छ । ‘हामीलाई निकै समस्या थियो, गलुवाका जनताको एकसुत्रे माग पुल थियो, तीन बर्षमा पुरा भयो’ स्थानीय महेन्द्र प्रकाश शर्माले भने ‘निकै मेहनत गरेर भाईहरुले पुल बनाए ।’ चालु आर्थिक बर्षमा बागलुङ नगरपालिकाले तीन लाख रुपैयाँ बजेट पुल बनाउनका लागि छुट्टाएको थियो ।
‘बजेट थोरै हो तर हाम्रा कयौं बाबालिका र किसान दाजुभाईको पातमा प्राण राखेर खोला तर्नुपर्ने बाध्यता हटेको छ’ शर्माले भने ‘बजेटले मात्रै होईन इश्चाशक्तिले पुल बनेको हो ।’ यो पुल ढलानसहितको हो । ४/६ इन्चको पक्कि बिमसहित केही फलाम र गिट्टी बालुवाको सहयताले पुल बनेको बागलुङ नगरपालिकाका प्राबिधिक दिपेन्द्र भण्डारीले बताए ।
सानो रकमलाई सामान्य काठको प्रयोग गरेर पुल बनाउने र बजेट सक्ने प्रबृत्ति बिरुद्धको नमुना भनेर पुलको बिषयमा सामाजिक सञ्जालमा चर्चा भैरहेको छ । गलुवा खोलामा बनेको जस्तो पुल बनाउन थप खर्चिलो हुने भएपनि स्थानीयले श्रमदान र कच्चा पदार्थकै प्रयोग गरेकाले थोरै रकममा पुल बनाउन सम्भव भएको भण्डारी बताउँछन् । पुल सानो र कम बजेटको भएपनि गलुवाबासीमा खहरेको भेल काट्ने गतिलो माध्यम बनेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->