साँच्चै नै आज मन एकाएक विछुप्त छ, हाम्रो समाज कति चेतनाहिन छ है ! मानव भएर मानवलाई नै हिंसा गरिरहेको छ । आजको २१ औं शताब्दीमा आएर पनि जातभातको कुराले देशमा अकल्पनीय घटनाहरु निम्त्याएको छ । कस्तो सन्त्रास सृजना भयो यो देशमा, एकातिर कोरोनाको महामारी अर्कोतिर रुकुमको अकल्पनीय कहालीलाग्दो घटना । किन यति तुच्छ सोच छ हाम्रो समाजको, मान्छेले मान्छेलाई नै दबाइन्छ । आखिर काटे रगत रातै त हो नि । यो जातभात भन्ने कुरा भगवानले बनाएको हुँदै होइन, पटक्कै होइन । न त जन्मदै जात लिएर आएको हुन्छ । यो जात त्यो जात, यो धर्म त्यो धर्म, धनी र गरिब, यो सब मानिसले नै बनाएको हो । यथार्थमा भन्नुपर्दा केबल दुई जात हुन्छन् महिला र पुरुष । यी सबै नकारात्मक अन्धविश्वासि सोचाई हुन् ।
आज तिनै नकारात्मक सोचले भयानक रुप लिएको छ, यतिबेला विभिन्न मिडिया तथा सामाजिक सन्जालहरुमा यसैको बारेमा चर्चा परिचर्चा भइरहँदा मलाई पनि कता–कता नरमाइलो लाग्यो र आफ्ना मनमा उठेका अनेकौं विचारहरु अभिव्यक्त गर्न मन लाग्यो । सदियौदेखि जरा गाँड्दै आएको जातिय विभेदले अन्ततः विकराल रुप ल्याईछाड्यो ।
जसले सिंगो देश नै ठूलो हलचल मचाइरहेको छ । आखिर किन यति ठूलो घटना घट्न पुग्यो त ? आज हामी र हाम्रो समाज अन्धविश्वासि र कुसंस्कार भएको छ जातियताको नाममा मानिसलाई मार्नु कहाँसम्मको अपराध हो ? बिनागल्ती सजाय पाएका छन् भर्खरैका ती कलिला युवाहरु, यो कस्तो विडम्बना । यसरी जातियताकै कारण एउटी आमाको काख रित्तिएको छ । कति दुःखले हुर्काइ, कति सपना आज अधुरो भएको छ । यहाँ प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउनुपर्छ, बिनाकसुर कानुनले त सजाय दिन पाउँदैन भने यसरी विभत्स हत्या गर्ने ती मानिसलाई कस्ले दियो अधिकार ? निकै नै दुःख लाग्छ, मानवता नै हराइसकेको छ ।
चाहे जतिसुकै प्रवृधि र विकास निर्माण भए हिजोको तुलनामा समाज धेरै परिवर्तन भएको छ तर सामाजिक सोच भने जहाँको त्यहिँ । मानिसहरुमा खानपान, रहनसहन हरेक कुरा फेरिदै गयो तर सामाजिक सोच भने फेरिन सकेन । आज त्यहिँ नकारात्मक सोचले नै विभत्स हत्याको ठूलो रुप लियो– कारण जातिय हिंसा । आखिर कहिलेसम्म समाजमा यस्ता घटना रोकिएलान त ? प्रायजसो यस्ता घटनाहरु प्रेम सम्बन्धकै कारण घट्ने गर्दछ । कतै हत्या गरेर फालिन्छ त कतै आत्महत्याका घटनाहरु । यी र यस्ता घटनाले मानवता नै बिर्साएको छ ।
ईशाको चौथो शताब्दीमा मैथिली वंशजका तत्कालीन राजा जयस्थिति मल्लले सामाजिक सुधारको नाममा समग्र मानवलाई चार वर्ण छत्तिस जातमा विभाजन गरेर नियम बनाएका थिए, जुन विद्यालयको पाठ्यक्रम हामीले पढ्दै आएका पनि हौ । त्यसैगरी मुुलुकी ऐन, १९१० ले जातिय भेदभाव तथा छुवाछूतलाई मानेका थिए जसमा छोइछिटो हाल्नु पर्ने नपर्ने, पानी चल्ने नचल्ने भनी उल्लेख गरिएको छ ।
विस्तारै विस्तारै परिवर्तित हुँदै जयपृथ्वी बहादुर सिंह र चन्द्रशमशेरको पालामा तल्लो जात, अछुत जातजस्ता शव्दहरु प्रयोग हुन थाले । यसका साथसाथै पेशागत रुपमा समेत विभाजन हुन थाल्यो, जुन परम्परागत रुपमा चल्दै आएको हो । त्यसैगरी नेपालमा नयाँ मुलुकी ऐन २०२० सम्म आइपुग्दा नयाँ ऐेन कानुन पनि बन्यो, जुन यस प्रकार छ– कसैलाई जातिपाती, धर्म, वर्ण वा कामका आधारमा छुवाछूत, भेदभावको व्यवहार गरि बहिष्कार र वञ्चितिकरण गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको पाइन्छ । त्यसैगरी जातीय भेदभाव तथा छुवाछूतजन्य कार्यविरुद्धको सजाय तोकिएको छ ।्
त्यस्तै नागरिक तथा राजनीति अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञा १९६६ को धारा २६ मा सबै व्यक्तिलाई समान र प्रभावकारी संरक्षणको प्रत्याभूति प्रदान गरिने व्यवस्था रहेको छ । त्यस्तै जातिय भेदभाव र छुवाछूत ऐन २०६८ को धारा ३ ले समेत जातिय भेदभावविरुद्ध विभिन्न ऐन कानुन बनाएको छ । जस्तो कि दफा ४ को उपदफा २, ३, ४, ५ वा ७ बमोजिमको कसर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना दफा ४ को उपदफा ८, ९, १०, ११, १२ वा १३ बमोजिमका कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि दस हजारसम्म जरिवाना वा दुवै सजाय, छुवाछूत तथा भेदभाव गर्न मद्दत गर्ने दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्ने उद्योग गर्ने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने आधा सजाय हुने, दफा ४ बमोजिमको कुनै कसुरमा सजाय पाएको व्यक्तिले पुनः सोहि दफाबमोजिमको कसुर गरेमा त्यस्तो व्यक्तिलाई पटकैपिच्छे उपदफा १ को खण्ड क वा ख मा उल्लेख दोबर सजाय हुनेछ ।
तर जतिसुकै ऐन कानुनमा उल्लेख भए पनि कार्यान्वयन भने न्यून देखिन्छ । हाम्रो देशको कानुन बलियो नभएकै कारणले पनि पटकपटक जनता जातीय हिंसाको शिकार हुन पुगेका छन् । हरेक वर्ष जेठ २२ गतेका दिन छुवाछूत भेदभावको दिवश मनाइन्छ तर पनि यो जातीय छुवाछूत अहिले फैलिरहेको महामारीजस्तै एउटा रोग हो जसले मानव सभ्यतामाथि कलंकित तुल्याएको छ । साँच्चै नै आजको आधुनिक युगमा पनि जातीय छुवाछूतको भेदभाव गर्नु, मानव भएर मानवकै हत्या गर्नु यो एक अमानवीय व्यवहार हो । आखिर कहिलेसम्म यी र यस्ता हिंसात्मक गतिविधि सहने ? यहाँ जातीयताकै नाममा कंयौ घरवार उजाडिएको छ र कैयौं आमाको काख रित्तिएको छ ।
उफ ! आखिर कहिलेसम्म जातियताको खोल भिरेर हिड्छौ, हे मानव अब त बन्द गर । रुकुम घटनाले साँच्चै नै भावुक बनाएको छ । कति चेतनाहिन छौ है हामी, छुवाछूतको नाममा मान्छे मार्नसमेत पछि पर्देनौ । भर्खरैका कलिला युवामाथि निर्घात कुटपिटपछि हत्या गर्नुपर्ने विकल्पबाहेक केही थिएन त ? के कतिथ उपल्लो जातकै राज चल्छ यहाँ ? माया गर्नु सबैको अधिकार हो । गैरदलित जातकी केटीसंग प्रेम गर्दैमा यति ठूलो सजाय ? आज रुकुम घटना खुलेर बाहिर आयो, यस्ता कयौं घटना छन् जुन पीडा र शोषण खेप्न बाध्य भएका छन् । तसर्थ जसरी निर्मला हत्याकाण्डले न्याय पाउन सकेन, त्यसरी नै यो घटनाले न्याय पाएन भने अपराधीलाई प्रोत्साहन मिल्ने छ, यसरी नै कंयौ युवाहरु मारिने छन्, त्यसैले घटनाको छानबिन होस र पप्डित पक्षलाई न्याय दिलाइयोस् र जातीय हिंसाको अन्त्य हुनैपर्छ ताकप् भोलिका दिनहरूमा यीता घटना नदोहोरिहुन ।





