कोभिड–१९ को संक्रमण शुरू भएदेखि सामाजिक संजालमा केही दिन भयो निकै टिका टिप्पणीहरू देखिरहेको छु । विद्वताको परिभाषा मलाई कठिन लाग्छ । लागिरहेको छ । यतिबेला म दुर छु । संयुक्त राष्ट्र संघीय शान्ति मिसन, वाहु । साउथ सुडानमा कोरोना संक्रमणले आतंकित बनाइरहेको बेला निकटताले मलाई सम्मोहित पार्छ । दुनियाँ फौजी हृदयलाई कठोर मान्ला । मन न हो । सपथ, मातृभूमिको ममता र परिवारको बिल्ला बोकेर मैनजस्तै पग्लिरहेका साथीहरूको मनसँग एकाकार हुन्छु । ममता, भय, छटपटी र वियोगान्तभित्र संक्रमित जीवन बाँचिरहेको सानो झुण्ड !
हाम्रो अनादि कालदेखी अचुक जडिबुटीहरू घरेलु औषधिको रुपमा प्रयोग हुँदै आईरहेको छ । हाम्रो भान्सामा उपलब्ध हुने बिबिध खाद्य वस्तुहरुको बारेमा समाजका प्रबुद्ध बर्गले समेत सामाजिक सञ्जालमा विविध नकारात्मक टिका–टिप्पणी गर्दै आएको देखिरहेको छु । यस्ता टिप्पणीले छुब्द हुन्छु ।
म सानो छँदा हैजा, बिफर अनेक फ्लुको महामारीले समाज आतंकित बनेको सम्झन्छु । हजुरबुवा हजुरआमाहरूले सुनाएका संक्रमणका कथाहरु सम्झन्छु । बिरामी हुँदा अनि चिसो लाग्दा हजुरआमाले मलाई बेसार पानी पकाएर दिएको, बाबा रूघाले ग्रसित हुँदा आमाले बेसार पानी र पानीमा तुलसी पकाएर खुवाएको, छोरी जन्मिदा आमाले गाउँबाट ज्वानो बोकेर सुत्केरी स्याहार गर्न आएको र ज्वानोको झोल खुवाएको सम्झन्छु । बिभिन्न देशमा रहनुभएका एनआरएन संस्थाले समेत सुत्केरी हुने बेलामा बिबिध सुत्केरी मसला मगाएको नेपाली डायस्पोराहरूमा देख्न अनि सुन्न पाईन्छ । अदुवा कति लाभदायी हुन्छ जब औषधिमा रूपान्तरण हुन्छ । आज हामी हाम्रै परम्परा, संस्कार र संस्कृतिलाई किन नङ्ग्याउन उद्यत भैरहेका छौं ? आफ्नै आमाको दोहोलो काढिरहेका त छैनौँ ?
सामाजिक सञ्जालभरि हामीले प्रयोग गर्ने यिनै मुल्यवान चिजको लाजमर्दो खिल्ली उडाईरहेको देख्दा हिनताबोधको अल्नो मन र अपुरो दैनिकी । अझ फेसबुक प्रोफाईल र कभर पेज पनि पुरै रङ्गिएका छन् । हाम्रो घरेलु अनि दैनिक भान्सामा प्रयोग हुने अचुक चिजहरुको प्रबर्द्धन अनि व्यापक रुपमा प्रयोग गर्नुको सट्टा खिल्ली उडाउनु उचित होला कि नहोला ? सदियौंदेखि चलिआएको परम्परा माथिको ब्यंग्य । जननीको आँचलमा छर्किएको मन्द विष ।
जडिबुटी यत्तिकै औषधी बनेका होइनन् । हजारौं बर्षको पुस्तामा प्रयोग गरेर प्रमाणित भएका प्रमाणिक तथ्य हुन् । वेदको शुक्ष्म ज्ञानले अलिकति बाँचिरहेको जीवन । तिमी वेदको भेद गर्न सिक्नु । नसिक्नु विभेद ! थप खोज गर्नुको सट्टा हामी भुल्दै गरिरहेका छौं । हामीले हाम्रो पहिचान भुल्यौँ । हाम्रो संस्कृति भुल्यौँ । गुर्जो, सर्पगन्धा, धोलटाप्रे, श्रीखण्ड, अचुक जडिबुटीहरूको खोज गर्न बिभाग कहाँ छ ?
हालसालै मैले स्वास्थ्य सम्बन्धी अनलाईन साक्षात्कार अन्तरक्रियामा कतिपय रोगको उपचार नै नभएको विषयवस्तुमा समावेश भै रहेको छु । आ–आफ्नो देश र परिवेशअनुसार उपयोगमा आएका केहि यस्ता घरेलु उपचार पद्दति हुनसक्छन् । जुन केहि बिरामीहरूको लागि प्रभावकारी सिद्ध हुनसक्छ । जस्ले मान्छेको रोग प्रतिरोधक क्षमतासमेत बढाउन सक्छ भन्ने सिकेको छु । सिकाइएको छ । म सँगै कार्यरत केही साथीहरू यस्तै फ्लुजस्तै लक्षणबाट ग्रस्त हुँदा उहाँहरूले अपनाउनु भएको तरिका हाम्रै गाउँले सँस्कारको अनुकरण थियो । हाम्रो गाउँघरमा पाउने बेसार, कागती, अधुवा, तुलसीपानी प्रयोग गरेको, तातोपानीको बाफ लिएको, अनि त्यसबाट धेरै मात्रामा छुटकारा मिलेको थाहा छ । म आफै पनि संक्रमणको समस्याले ग्रसित हुँदा बरिष्ठ चिकित्सककै सुझावअनुसार यहि पद्दतीको प्रयोग गरेँ र आफ्ना सहकर्मी साथी भाईहरूलाई समेत यस्तै गरियो र धेरै हदसम्म सुधार भयो ।
कोभिड–१९ को प्रारम्भमा साबुन पानीले हात धोऔं । तातो पानी नियमित पिऔं । यति कुराको लागि हदैसम्म नकारात्मक प्रतिक्रियाको आतंक फैलियो । तपाई केही राम्रो विषयवस्तु फेसबुकमा पोस्ट गर्नुहोस् र प्रतिकृया हेर्नुहोस । सकारात्मक प्रतिक्रियाभन्दा नकारात्मक आलोचनाहरू मात्र देख्नु हुनेछ । बेसार र बेषारेको अर्थ बिभेद कति भयङ्कर हुन्छ ?
न हामी गर्न सक्छौं न त अरूको अस्तित्वलाई स्वीकार्न सक्छौं । न हामी आफू हुनुको सत्य खोज्छौं न त अरुलाई स्वीकार्छौं । चाहे सकारात्मक होस् चाहे नकारात्मक नै किन नहोस् । म को दम्भ यसरी लम्पसार छ तनमा । अरूको विचारले हामीलाई भाउन्न हुन्छ । तर्क भन्दा कुतर्क, सकारात्मकभन्दा नकारात्मक, अँ भन्दा न सामाजिक सुत्रको प्रयोगले आश्चर्यचकित हुन्छु । गलत सूत्रले बिग्रिएको हिसाबको जोडफल ।
सामाजिक सञ्जालमा प्रतिक्रिया देख्दा एकातर्फ कतै हामी बढी नै नकारात्मक त भएका छैनौ वा हाम्रा पुर्खाहरुबाट हस्तान्तरण हुँदै आएका उत्कृष्ट अभ्यासहरूप्रति आगामी पुस्तालाई नकारात्मक बनाईरहेका त छैनौं ?
एउटा उधाहरण मात्र हो यो । यस्तै विषयवस्तु सामाजिक सञ्जालमा पोष्ट गर्दा खिल्ली उडाएको उदाहरण हाम्रो दैनिकी बनेको छ । हाम्रा बुवाआमा अनि हजुरआमाले प्रयोग गर्ने औषधियुक्त गुण भएका घरेलु खाद्यवस्तुहरू जुन दैनिक रूपमै हामीले भान्सामा प्रयोग गरिरहेका हुन्छौं । यतिसम्म कि अमृत समान पानीको समेत ।
संक्रमणको बेला हामीले सेवन गरेका औषधीहरू दुरुस्त हाम्रो गाउँले जडिबुटीहरू नै थियो–
बेसारोमाइसिन २०० एम.जी.लसुनोजोल २५० एम.जी.
अदुवाजोनिक्सिन १०० एम.जी.
ज्वानोनोर्म ५० एम.जी.
तातोपानीलिन ५०० एम.जी
यसरी हामीले आफ्ना अग्रजहरूले अनुसरण गर्दै आएका उत्तम अनुकरणीय अभ्यासहरूलाई अवमुल्यन गर्दै गयौँ भने हाम्रो पारम्परिक पहिचान भावी पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिएला ?
लेखक वालिङ–६ मिर्दी स्याङ्जा निवासी हुन् ।





