पोखरा, १९ असार– गण्डकी प्रदेश सरकारले पोखराको लेखनाथ सामुदायिक अस्पताललाई ७० लाख ३४ हजार रुपैयाँ अनुदान दिएको छ ।
कोरोना संक्रमितहरुको उपचारको लागि ‘डेडिकेटेड अस्पताल’ बनाउने क्रममा जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधार निर्माणको लागि सो रकम प्रदान गरिएको गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । गण्डकीमा कोरोना संक्रमण बढ्दै गर्दा र संक्रमितको लागि छुट्टै अस्पतालको व्यवस्था नहुँदा अन्य रोगका बिरामीहरुको उपचार प्रभावित हुँदै आएको छ । पोखराको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै डेडिकेटेड अस्पताल बनाउने निर्णयका कारण धेरै बिरामीहरुले सेवा पाउन नसकेको स्वयं सत्तापक्षीय सभासदहरुले गुनासो गर्दै आएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधि पनि संशोधन गरेको छ । मन्त्री बस्नेतका अनुसार सो कार्यविधिको संशोधनको क्रममा उपनियम १२ मा रहेको ‘स्थानीय तह’ भन्ने शब्द हटाइएको छ । ‘योजना विनियोजन गरिरहँदा स्थानीय तहमा जुन योजना परेको थियो, त्यो संशोधन गर्न त्यही स्थानीय तहमा नै हुने भन्ने थियो, त्यो हटेको छ’, उनले भने,‘ अब जुन स्थानीय तहमा पनि बजेट विनियोजन गर्ने गरि १२ को उपनियम ‘क’ को थप व्यवस्था गरिएको छ । ’यसैगरि मन्त्रिपरिषदले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी दरबन्दी र लोकसेवा आयोगको दरदबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठानमा ६ जनाको दरबन्दी सृजना गरिएको छ । लोकसेवाको हकमा भने मौजुदा कर्मचारीहरुबाटै काम चलाइने र कार्यालय सहयोगी एवं सवारी चालक भने थप्न सकिने उल्लेख गरिएको छ ।





