आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

दुःखका बेलामा परोपकार

दुःखका बेलामा परोपकार


  • खुमकान्त अर्याल
  • असार २१ २०७७, आइतबार

अहिले कोरोना भाइरस रोगको विश्वव्यापी चर्चा चलेजस्तै २०५५ सालतिर एचआइभी एड्स रोगको वारेमा हामीकहाँ पनि ठुलो हल्ला चल्यो, फरक के हो भने उतिबेला लकडाउन गरिएको थिएन र जनजनको हातमा मोबाइल र फेसबुक थिएन । उक्त समयमा एड्स रोगको महामारीबाट दक्षिण अफ्रिकाका धेरै देशका जनताहरुको मृत्यु भएको थियो, कति गाउँहरुमा त एउटै युवा पनि बाँकी रहेनन् भनिन्छ । यो रोग अफ्रिका, युरोप अमेरिकाहुँदै नेपालमा पनि पहिलो पटक सन् १९८८ सालमा विदेशबाट आएका एक नेपाली र एक पर्यटकमा देखिएको थियो । पछि भारत, अरब, मलेसियामा कामका लागि जानेहरुबाट एड्स भित्रिने गतिक्रम बढ्दै गयो र समुदाय स्तरमा पनि देखियो । एचआइभी एड्स संक्रमित भएको मानिससंगको असुरक्षित यौनसम्पर्क, त्यस्ता व्यक्तिले प्रयोग गरेको सुई अर्को व्यक्तिमा प्रयोग गरिदा मिसिने रगत र संक्रमित आमाबाट जन्म लिएको नयाँ सन्तानमा मात्र सर्ने यो रोगको नाम सुनेर नै मानिसहरु डराउन थाले ।
कुनै गाँउटोलमा एचआइभी एड्स रोग लागेको व्यक्ति भएको वा उसको मृत्यु भएको थाहा हुन आएमा त्यस परिवारका सदस्यसंग मानिस टाढा रहने र सकेसम्म त्यो गाउँतिर फर्केर हेर्नसमेत डराउने गर्दथे छिमेकीहरु । संक्रमितले खाना, सुसार, माया पाउनुको सट्टा घृणा अपमान हुन थाल्यो, मरेमा मलामी पाउनसमेत समस्या भयो, यो साँच्चै दयनीय अवस्था थियो उनीहरुको । यो एउटा नयाँ सामाजिक तथा मानवीय समस्या भएकोले यसको न्युनीकरण गर्न र संक्रमण बढ्न नदिन सामुदायिक रुपमा सचेतनाका कार्यक्रमहरु संचालन गरिए । एड्स भएको मानिससंग हात मिलाउँदा, संगै बस्दा–खाँदा, बोल्दा, एउटै शौचालय प्रयोग गर्दा, चुम्बन गर्दा नसर्ने भएकोले उनीहरुलाई तिरस्कारभन्दा मानवीय व्यवहार गरी मनोवल उच्च पारेर नियमित औषधिको व्यवस्था तथा परामर्शवाट सकेसम्म धेरै बाँच्न सकिने र भरोसा दिलाउने काम गरियो, जस्को कारणले रोगीहरुको बाँच्ने समय बढीरहेको देखिन्छ र थप संक्रमण रोकिएको छ । अहिले कोभिड १९ बाट सबै सखाप हुन लागेको जसरी हल्ला भएको छ । त्यस्तैगरी त्यतिबेलाको एचआइभीको हल्ला हेर्दा खै अब मानिस सखापै हुने भए भनिएको हो तर अहिले एड्सको सामान्य स्थिति देखिएको छ ।
विज्ञहरुको रायअनुसार कोरोना भाइरस संक्रमित मानिसले हाच्क्ष्युँ गर्दाको छिटा अर्को मानिसमा पर्न गएमा, एकै ठाउँमा छोइएर बस्दा, हिड्दा, सुत्दा रोगीले प्रयोग गरेका लुगाफाटो, सरसामान प्रयोग गर्दा ३ फिटभन्दा नजिकै आम्ने–साम्ने भएर सास फेर्दा, हातले आँखा, कान, नाक र मुखमा छोइरहँदा सर्ने भनिएको छ । संकमित व्यक्तिसंग नछोइने, मास्क लगाउने, हात खुट्टा सावुनपानीले धोइरहने, हात नमिलाउने, संक्रमितले प्रयोग गरेका सरसामान प्रयोग नगर्ने, नछुने र उसलाई अलग्गै राखेर उपचार गरिदा धेरै विरामीहरु सन्चो भएको तथ्याँकले देखाएको छ । तैपनि मानिसहरु यत्रतत्र सबै भयभित देखिन्छन् । उही ‘वनको बाघले खान्छ कि खादैन, मनको बाघले खान्छ’ भनेजस्तै । हामी कहिलेसम्म डराईरहने ? यही डरको कारणले हामी दुःख पाइरहेका छौं र हाम्रो सामाजिक दायित्व, परोपकार गर्ने सहयोगी परम्परासमेत भुलेर निष्ठुरी हँुदै गएको त छैनांै ? संक्रमित मानिसको मृत्युपछि लास जलाउने ठाँउ नदिने, गाडीले बिरामीलाई अस्पतालसम्म लैजान नमान्ने, अस्पतालले उपचारको लागि भर्ना गर्न नमान्ने, विदेशबाट आएर सीमानामा अलपत्र नागरिकलाई ल्याउन गाह्रो मान्ने, क्वारेन्टाइन बनाउन लागिएकोे ठाउँमा विरोध गर्ने, कोही परोपकारी मानिसले आँफु सुरक्षित भएर अलपत्र पेरकाहरुको सेवा गरेर घर फर्कदा गाँउलेले बहिस्कार गर्ने सम्मका अमानवीय व्यवहार देखिनु पक्कै पनि मानवता हामी वीचबाट हराउँदै जान लागेको भान हुन लागेको छ ।
कति मानिसहरु यो व्यवहारबाट निरास भएर आत्महत्या गर्न तैयार भएका छन् । विदेशमा बसेर फर्कनेहरु परिवार पाल्नको लागि गएका हुन्, उनीहरुले कमाएर ल्याएको पैसाले अर्थतन्त्र धानिएको थियो, आँफै विरामी भएर फर्कने रहर पनि त थिएन । उनीहरुलाई रोग लिएर आएको भन्ने कठोर वचन कसैले प्रयोग गरिनु सरासर पाप हो । हाम्रा भाईछोराहरु अहिले पनि विभिन्न देशहरुमा छन्, उनीहरुलाई सकेसम्म मानवीय व्यवहार गरेरै राखेका छन् मित्र देशहरुले, सायद हाम्रो देशले भन्दा बढीनै सुविधा दिएर तर हाम्रै व्यवहार हाम्रै माथी किन कठोर ? मानिसलाई परेको कष्टको उद्दार मान्छेबाहेक अरु कुनै जीव जनावरले गर्न सक्दैन, मानौं हामी कुनै खाडलमा खसेउ भने के हामीलाई हात्ती, घोडा, कुकुरले झिक्छ ? मान्छेले नै झिकेर उद्दार गर्नुपर्ने हुन्छ, त्यसै भएर मानिस समाजमा बस्नुपरेको हो, नत्र जंगलतिर बसेपनि हुने थियो होला । ल मानौ अहिले डाक्टरहरुले, नर्स तथा स्वस्थ्यकर्मीले उपचारै नगरिदिए हाम्रो के गति होला ?
हाम्रो देश नेपाल, बुद्व जन्मेको तथा ऋषि महर्षिले तप गरेको भूमि हो भनेर गर्व गर्दछौ । भगवान बुद्वको शरणमा घाउचोट लागेका मान्छे मात्र होइन हरिण, स्याल, बाघ र पंक्षीसमेत आउँथे र भगवान आँफैले उनीहरुको सेवा गरी निको गराएर पठाउने गर्नुहुन्थ्यो । बुद्वलाई सबैले त्यो बाटोबाट अगाडि नजानुहोस्, व्याधा अङ्गुलीमालले हजुरलाई मार्नेछ भन्दा पनि उँहा नडराई अङ्गुलीमाल भएको ठाउँमा पुग्नु भयो । भगवानको मृदुल वाँणीबाट प्रभावित भएर अंगुलीमालले संधैको लागि हिंसात्याग गर्यो, यसरी बुद्वले धेरै मानवजातिको रक्षा गर्नुभयो । देवता र समस्त मानवजातिको हित र रक्षाको लागि वृत्तासुरलाई मार्ने ‘वज्र’ नामक हतियार बनाउनको लागि ऋषि दधीचिले आफ्रनो शरीरबाट रिडको हडड्डी निकाल्न दिएको कथा हामीले धेरै पटक श्रवण गरेकै छौं । राक्षसको आहारा हुन जानको लागि तोकिएका एक व्राम्ह्णको सट्टा भीमसेन आँफै राक्षसको आहार बन्नको लागि गएर, व्राम्हणलाई जीवनदान गरेको महाभारतको कथा पनि हामीले सुनेकै छौं । पुर्वजहरुले बेला बेलामा ज्ञान आर्जनका लागि, पुण्यलाभका लागि गर्ने विभिन्न धार्मिक कार्यक्रम सप्ताह पुराण लगाएर सुन्ने गर्दा यसैका प्रेरणाले यज्ञ दान परोपकार गर्थे । यही प्रेरणाले धर्मका खातिर बनाएका कतिधेरै पाटीपौवा, चौतारी, सत्तलहरु, पाठशाला, मन्दिर, पोखरी र गुठी अहिले हामीले प्रयोग गर्न पाएका छौं, बरदान भएका छन हामीलाई । यिनै विशिष्ट गुणहरु नेपालीको राष्ट्रिय चरित्र बनेको थियो, त्यसैले हिमालयको काखमा रहेको देश नेपालको गौरव र इज्जत थियो । हामीले अहिले गर्ने परोपकारका कर्महरुलाई हाम्रा सन्तानले देख्ने छन् र भोली उनीहरुले पनि यो परम्परालाई निरन्तरता दिने छन्, जसरी हामीमा पुर्वजहरुको केही अंश बाँकी छ । अहिले पनि हाम्रोमा उपकारी महान आत्माहरु धेरैनै हुनुहुन्छ जसले यही कोभिड १९ संकटका बेला तन, मन, धन, सीप, इलम र क्षमता अनुसारको सहयोग गर्नु भएको छ, सलाम छ वँहाहरुलाई । कोभिड १९ संक्रमण नियन्त्रणको कार्यान्वयनका शिलशिलामा जनस्तरबाट आएका अलोचनाहरुलाई सरकारले सच्याओस् । रोगबाट बच्नका लागि निर्धारण भएका उपाय र आचारसंहिताको हामीले पालना गरौं, अरुको कल्याणका लागि सहयोगी पनि बन्दै जीवन संचालन गर्ने हिम्मत गरौं, भाइरसमाथि अवस्य विजय प्राप्त गर्ने छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->