बागलुङ, २२ असार– लामो समयदेखि बिबादमा परेको खानेपानीको बिषयलाई बागलुङ नगरपालिकाले आफ्नो परिषदमा औपचारिक रुपमा बहसमा ल्याएको छ ।
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १२ बर्षदेखि जिम्मा लिएको खानेपानी केही समयदेखि हिलो आउने, नआउने र पाइपलाईन बगाउनेजस्ता समस्या आएपछि नगरपालिकामा वडा नं. २ का अध्यक्ष जीवन आचार्यले जरुरी सार्वजनिक महत्वको प्रस्तावको रुपमा दर्ता गरेका थिए ।
उक्त प्रस्तावलाई नगर परिषदकै अंग बनाउने गरी सरोकारवालासमेत बोलाएर छलफल गराएको हो । छलफलबाट स्वच्छ खानेपानी खुवाउने अभियान सफल पार्न पहल गरिने नगरप्रमुख जनकराज पौडेलले बताए ।
आइतवार नगरपरिषदकै कार्यक्रममा बोलाइएका सरोकारवालाले नगर खानेपानी संस्थामा चरम लापरबाही, अनियमितता बढेको टिप्पणी गरे । साथै उनीहरुले जवाफदेहीता नभएको, समितिलाई कर्मचारी संयन्त्रले चलाएको र उपभोक्ताको हितमा लापरबाही भैरहेकोसमेत बताएका थिए ।
संस्थाले बिकल्पका श्रोत नखोजेको, स्वच्छ खानेपानीकालागि बनाइएका ट्यांकीहरुसमेत प्रयोगमा नल्याएको र संस्था र नगरपालिकाले अभावको बेला ट्यांकरमा पानी खुवाउनुपर्नेमा नखुवाएको जस्ता आरोप लगाएका थिए । ‘एउटी सुत्केरी महिलासमेत डोकोमा बोतल बोकेर खोलाखोल्सीमा पानी खोज्न हिडेको कसैले देखेन ?’ अभिवक्ता राम शर्माले भने, ‘नगरपालिका पनि यो वा त्यो बाहना बनाएर उम्कन मिल्दैन ।’ कार्यक्रममा अधिकांस सहभागिले नगरपालिकासमेत आफ्नो दायित्व पन्छाएर उम्कन खोजेको आरोप लगाएका थिए ।
नगरप्रमुख जनकराज पौडेल र उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले तत्कालिन अबस्थामा दातृसंस्थालाई नफर्काउने सरकारी नीतिका कारण उपभोक्ता समितिमा गएको बताए । उनीहरुले आगामी दिनमा संयुक्त चासोको बिषय बनाएर नगरपालिकालाई स्वच्छ खानेपानी पु¥याउने प्रतिवद्धता पनि जनाएका छन् ।
हाल संचालनमा रहेको काठेखोलाको लिफ्ट योजनालाई सुधार गर्ने र बजारक्षेत्रमा स्वच्छ पानी खुवाउने काम छिटै गर्न सकिने बताए । ठेकेदारले कामै नगरेको स्थानमा भुक्तानी दिनका लागि हस्ताक्षर नगर्ने श्रेष्ठले दाबीसमेत गरे । भुक्तानीको ७० प्रतिशत रकम पोखरास्थित खानेपानी निर्देशनालयले गर्ने र ३० प्रतिशतका लगि पनि उनीहरुले हस्ताक्षर गरिसकेपछि मात्रै यहाँ आउने गरेको श्रेष्ठको भनाई छ ।
पटकपटक कामको प्रगतीको सुनुवाई गरेर मात्र हस्ताक्षर गरेकोले समितिको तर्फबाट भ्रष्टाचार हुन नदिएको उनले बताए । कर्मचारीतर्फ सुशासन नभएको लगायतका बिषयमा उनले सुधार गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।
छलफलले आगामी दिनमा कम्तीमा एक प्राविधिक नियुक्ति गर्ने, वर्षात्मा मुहानको विकल्प दिने, समयमा सूचना प्रवाह गर्ने र नगरपालिकाले पनि आवश्यक प्राविधिक सहयोग गर्ने निष्कर्ष निकालेको छ ।
कार्यक्रममा अधिवक्ता हरिप्रसाद शर्मा र बद्रीप्रसाद शर्मा, पूर्व पदाधिकारीको तर्फबाट रुद्रबहादुर महत, पत्रकार तारानाथ आचार्य, चतुरबहादुर बोहरा, कृष्णबहादुर केसी, देबबहादुर श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधिहरु लगायतले बोलेका थिए । राजिनामा दिएका कोषाध्यक्ष रामप्रसाद शर्माले संस्थामा दिनदिनै अनियमितता हुने, कामै नगरेको भुक्तानी दिने प्रवृत्ति मौलाएपछि राजिनामा दिएको स्पष्टीकरण समेत दिएका थिए ।





