फाईल तस्विर
म्याग्दी, २६ असार– लगातारको बर्षासँगै आएको बाढी र पहिरोले शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा पाँच घर बगाउँदा नौ जना बेपत्ता भएका छन् । रघुगंगा नदीमा आएको भीषड बाढीले बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको छ ।
पहिरोमा परि धवलागिरी गाउँपालिका वडा नं. ६ मराङको रिखामा सात जना बेपत्ता भएका छन् । घण्टीवाङमा खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार, भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । पहिरोले घण्टीवाङका १३ परिवार विस्थापित भएका छन् ।
यसैगरी, मालिका गाउँपालिका वडा नं. ७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । सोही पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पु¥याएको स्थानीय थमन जुग्जालीले जानकारी दिए ।
मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । बाढीले बिरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले बताउनुभयो । घरका मानिसहरुले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् ।
यसैबीच, रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
पहिरो प्रभावित क्षेत्र मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।





