पोखरा, २८ असार– टाउकोमा फुलबुट्टे पटुकी बाँधेकी एक महिला शनिबार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा घरी बाहिर त घरी भित्र गर्दा लाग्थ्यो, उनी यहाँकी परिचितहुन् । आँखामा बलिन्द्रधारा आँसु छँदै थिए । उनी कहिले थचक्क बस्थिन् त कहिले के गरौँ, कसो गरौँको भावमा टोलाउँथिन् ।
उनी अर्थात्, म्याग्दी धवलागिरी गाउँपालिका मोराङकी रासमती श्रीपाली । साँच्चै रहेछ, दुई वर्ष अघि खसमको स्याहार सुसारको लागि उनीपोखराको मणिपाल आएकी रहिछन् । त्यो बेला खसमलाई बचाउन सकिनछन् । भारी मनसँगै गाउँ फर्केकी उनी यसपटक बुहारी स्याहार्न यहाँ आइपुगेकी हुन् । उनै रासमतीको जीवनमा शुक्रबार फेरि पहिरो गयो । गाउँमा गएको साँच्चिकैको पहिरोले उनका ८ जना छोराछोरी तथा नातीनातिना खोस्यो ।
सधैँको झैँ रासमती शुक्रवार एकाबिहानै उठिन् । बाहिर निस्केर हेर्दा चारैतिर कुहिरोमात्रै थियो । करिब बिहानको ५ बजेको हुँदो हो, पानी परिरहेको त्यसमाथि पनि कुहिरो ! स्थिति असामान्य थियो । जुनठाउँमा उनी थिइन्, त्यो ठाउँमा सानो ढुङ्गा समेत खसेको उनलाई थाहा थिएन । त्यो दिन के भयो कुन्नि ? साँझ अचानक उनले भयानक आवाज सुनिन् । निकै भयावह ध्वनीमा आएको आवाज आफ्नै घरमा आएको भन्ने उनलाई थाहै भएन चारैतिर केही नदेखिएकाले पत्तो नै पाइनन् । तर एकाएक उनी आफ्नो कोठामा पुग्दा कसैले गाग्रीकागाग्री पानी खनाएको जस्तै गरी कोठाभरी पानी देखिन् । अनी डराएर उनी आफ्नो छोरा बुहारीलाई उठाउन पुगिन ढोका ढक्ढक्याइन् । तर, भित्रबाट चुकुल लगाएको ढोका खुलेन । घर पहिरोले थिचियो । उनीलाई पहिरोले छुन सकेन तर उनका छोराबुहारी १ नाती र १ नातिनीलाई लग्यो । उनकादुई छोरा र एक बुहारी घाइते भए । बुहारी गर्भवती थिइन् । त्यतिमात्र होइन त्यो पहिरोले गाउँमै अन्माइएकी उनकी छोरी र नातीनातीनालाई पनि लग्यो ।
‘यसो पानी हेर्दा आरीबाट खनाएजस्तै आएको थियो, कुहिरो पनि लागेको थियो । उता पारीपट्टिको भेगमा हेर्दाखेरीमा केजातन देखिने अन्नाधुन्ध मुड्कीले हानेजसो बनाको त्याटो उता ‘गुनुन्न्न्न’ गरेर कराथ्योे, ओइ के आयो त्यसोगरी पहिरो आयो कि के छ भनियो, निक्लेर एकछिन सुनिँरा त्याँपछि मेरो कोठामा फेरि पस्छु भनेर भन्दा त त्याँम्मै पहिरो आयो’, उनले आफ्नै लवजमा भनिन्, ‘त्याँटि एक्कासी छत्याङ्गङ्ङ्ङ, यताको कोठीको टिनको पातीमा ठूलो ढुङ्गा आइसकेको रैछ अब माथिबाट घ्वाप्पै आइसक्यो ।’ उनका अनुसार उनको कान्छा छोरा चाहिँ त्यो बेला कम्बलमा बेरिएका थिए रे ! कम्बल तानेर फाल्दा कान्छा चाहिँ जोगिए रे । पहिरोको ग्वारग्वार्ती आवाज आइरहेको थियो । छोराहरु त्यहीपहिरोमा च्यापिएछन् । उनले गुहार लगाउँदा पनि कोही नआएको उनले गुनासो गरिन् । दौडँदै अर्का छोरालाई मने–मने भनेर बोलाउँदा नबोलेपछि उनले ढोका ढक्ढक्याइन् रे । तर, ढोकामा चुकुल लगाएको । उनले आँखै अगाडि आफ्नो जेठाछोरा बुहारी एक नाती एक नातिनी त्यस्तै जेठी छोरी र छोरी पट्टिको दुई नाती र एक नातिनी गुमाइन् । उनको साईँला छोरा र कान्छाछोरा घाइते छन् । उनकी बुहारी गर्भवतीछन् । उनको पनि मणिपालमा उपचार भइरहेको छ ।





