बागलुङ, २८ असार– शनिबार बागलुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । यसलाई बागलुङबासीले सामान्य रुपमा लिए । पछिल्लो एक साता यता जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएकाले यसको त्रास कम हुँदै गएको महशुश गरिए पनि वास्तविकता भने फरक छ ।
तीन साता पहिलेजस्तो संख्यात्मक हिसाबले संक्रमित कम भएपनि क्वारेन्टाइनमा रहेकाको संख्या र जाँच भएका थ्रोट स्वावको संख्याका आधारमा कोरोना संक्रमितको संख्या घटेको छैन । पछिल्लो पटक स्वास्थ्य कार्यालय बागलुङले जिल्लाको गलकोट नगरपालिकाको क्वारेन्टाईनमा रहेका ३५ जनाको स्वाव संकलन गरेर पठाएको हो । जसमध्ये केहीको मात्र नतिजा आउँदा दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
केहि दिनअघि स्वाव संकलन भएका बडिगाड गाउँपालिकाको क्वारेन्टाईनमा भारतबाट आएर बसेकामध्ये एक जनामा कोरोना देखिएको गुरौको भनाई छ । यो संख्या गत असारको ६ गते देखिएका संक्रमितको संख्याका आधारमा कम हो । जुन दिन जिल्लामा सबैभन्दा धेरै ३७ जना संक्रमित पुष्टि भएका थिए ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार, जिल्लामा सबैभन्दा धेरै संक्रमित पुष्टि हुनेबेला नमुना संकलन गरेर पठाईएकाहरुको संख्या ८ सयको हाराहारीमा थियो । गण्डकीका ११ जिल्लाका क्वारेन्टाईनमा रहेका र कन्ट्रयाक ट्रेसिङमा परेकाहरुका स्वावको लाईनमा परेका बागलुङको नतिजा ढिलो आउनु स्वभाविक थियो । एकैपटक धेरैको जाँच हुँदा संक्रमितको संख्या पनि निकै उच्च देखिन्थ्यो । अहिले प्रदेशका तीन वटा प्रयोगशालाबाट जाँच भैरहेको छ । लामो पालो कुर्नुपर्ने अवस्था नरहेको प्रादेशिक प्रयोगशाला गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदी बताउँछिन् ।
कम संख्यामा जाँच र नतिजा छिटो आईरहेकाले संक्रमितको संख्या पनि कम भएको देखिन्छ । जिल्लाभर भारतबाट आएर क्वारेन्टाईनमा बस्नेहरुमा कोरोनाको जाँच केन्द्रित भैरहेको छ । केहि कन्ट्रयाक ट्रेसिङ र तेस्रो मुलुकबाट आएकाहरुको जाँच भएको भएपनि क्वारेन्टाईनमा बसेका भारतबाट आएका धेरै भएकाले प्रोटोकल अनुसार उनीहरुकै जाँचमा केन्द्रित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तीन साता पहिले एकैदिनमा १ सय ५० जनासम्मको स्वाव संकलन गरेको स्वास्थ्य कार्यालयले पछिल्लो साता ३० देखि ६० जनासम्मको मात्रै स्वाव संकलन गरिरहेको छ । जसका कारणले पनि संक्रमितको संख्या घट्नु स्वभाविक हो । ‘प्रोटोकलअनुसार मात्रै जाँच भैरहेको छ, क्वारेन्टाईनमा रहेका र सामान्य लक्षण देखिएकाहरुलाई जाँच गरिरहेका छौं’ गुरौले भने ‘हामीकहाँ कन्ट्रयाक ट्रेसिङ गर्न बाँकी छैन् ।’
समुदायमा फैलिईनसकेकाले गलकोट, काठेखोला, बागलुङ नगरपालिका लगायतका सिमित समुदायमा मात्रै जाँच भएको छ । जिल्लाभर हालसम्म ३ हजार २ सय ८६ जनाको मात्रै आरटी पीसीआर प्रबिधिबाट कोरोनाको जाँच भएको छ । भारतलगायत तेस्रो मुलुक र देशका कोरोना प्रभावित जिल्लाबाट आएका ४ सय ५७ जना क्वारेन्टाईनमा छन् । उनीहरुको जाँच गर्नै बाँकी छ । ‘पहिलेजस्तो बाहिरबाट आउने चाप पनि घटेको छ’ गुरौले भने ‘क्वारेन्टाइन बस्ने घटेकाले स्वभाविक हिसाबले जाँच कम हुनेनै भयो ।’ जिल्लाभर संक्रमितको संख्या २ सय १६ पुगेको छ भने निको भएर घर फर्किएकाहरुको संख्या १ सय ६७ छ ।





