आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अनि, उनले साइकलमै नेपाललाई फन्को मारे

अनि, उनले साइकलमै नेपाललाई फन्को मारे


  • दिवश गुरुङ
  • असार २९ २०७७, सोमबार

अक्सर सपना सबैले देख्छन्, कति सपना साकार पार्न सफल हुन्छन् त कतिका सपना सपनामै सीमित रहन्छन् । सानैदेखिको उनको एउटा सपना, साइकलमै जन्मघर पुग्ने । जन्मघर उनको आम्तेक पितौला, भोजपुर । बसाई भने झापा । सपनालाई साकार पार्दै उनी साइकलमा भोजपुर मात्र पुगेनन्, नयाँ संरचना लागु भएपछि नेपालका ७७ जिल्लाहरु साइकलमै पुग्ने नेपालको पहिलो साइकल यात्री समेत बने । भोजपुरे खुकुरी अनि भोजपुरका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार उनले नेपालभर गरे । यात्राभर सबै खर्च आफैं बेहोरे । सहयोगी मनहरुले गासबासको व्यवस्था पनि गरिदिएको अनुभवहरु छन्, उनीसँग । फरकफरक अनुभव संगाल्दैसिंगो नेपाल घुमे । जति उनले नेपाल बुझे, त्यो भन्दाबढी अरुलाई भोजपुर बुझाएँ । जन्मथलो चिनाएँ । हो, साइकल नै सबथोक ठानेर नेपाललाई साइकलमा एक फन्को मार्ने उनै हुन्, भोजपुरे तेजप्रसाद पराजुली । अर्थात एभरेष्ट बाबु ।
उमेरले बल्ल २२ लागे उनी । सानैदेखि साइकल चढ्ने उनको सपना । दुई–चार पैसा बचत गरेर राखेका थिए उनले, सन्दुकमा । त्यही पैसाले दुई वर्षअघि उनले सेकेन्डहेन्ड साइकल किने । वि.सं. २०७५ साल वैसाख ९ गते । झापाकै अर्का साइकलयात्री मनोज सिंहसँग त्यही साइकलमा उनले मेची–महाकाली साइकलयात्रा गर्ने भए । केही सय पैसा अनि गहुँको १२ ओटा रोटीले छाक टारेको सम्झना छ, उनमा । भोकभोकै रातहरु बिताएका क्षण सुनाउँदै उनले भने, ‘१ जना मसला व्यापारीसँग मेरो भेट भएको थियो । मेचीदेखि महाकालीसम्म उनको मसलाको प्रचार गरिदिने सर्तमा मलाई दुई पोका मसला दिएको थियो । एकदिन त भोकले यति आक्रान्त पा¥यो कि, मैले त्यही मसला होटलमा खानासँग साटेको थिए ।’ उनले ८ दिन लगाएर मेची महाकाली पूरा गरेका थिए ।
यस यात्राले उनलाई थप हौसला मिल्यो । हराउन लागेको भोजपुरे खुकुरी अनि गुमगाम भोजपुरका पर्यटकीय गन्तव्यहरु नेपालीमाझ चिनाउने अभिलाषा पलायो, उनको मनमा । त्यो पनि साइकलयात्रा मार्फत् । पुरानो साइकलले यति लामो सफर तय गर्न सम्भव थिएन । ढुंगा खोज्दा देउता मिलेजस्तै भो उनलाई । फेसबुकमा एउटा काठमाडौंको साइकल पसलले साइकलयात्रा गर्नेहरुलाई साइकल स्पोन्सर गरेको कुरालाई सम्झदैँ उनले भने, ‘नेपालकै पहिलो साइकल पसल हो, पञ्चअष्ट नारायण साइकल स्टोर्स । अर्थात प्यांक बाइक सप । मैले मेरो यात्रा योजनाउनीहरुलाई सुनाएँ । विगतमा मैले गरेको यात्रालाई मूल्यांकन गरेर उनीहरुले मलाई यात्राभरका लागि साइकल स्पोन्सर गरे । साइकल मात्र हैन, यात्राभर आवश्यक मर्मत सामग्रीहरु, सामान राख्ने प्यानियर ब्यागहरु, टेन्ट अनि क्यामरा पनि स्पोन्सर मिलेको थियो मलाई ।’
त्यही वर्ष असोज ५ गते उनले नेपाल यात्रा सुरु गरे । सुरुवातआफ्नै प्रदेश १ का १४ जिल्लाहरु घुमेर । इलामको चिया बगान, अन्तु डाँडा घुमेर पाँचथर पुगे । ताप्लेजुङ सदरमुकाम फुङलिङटार मात्र पुगेनन् उनी, करिब ४ किलोमिटरसिँढीको बाटो साइकल काधँमै बोकेर पाथीभरा मन्दिर पुगे । मन्दिर दर्शन गरेनन्, बने पाथीभरा पुग्ने पहिलो साइकलयात्री । साइकलसँगको निकटताबारे सुनाउँदै उनले भने, ‘यात्राभर कहिले साइकलले मलाई बोक्यो त कहिले साइकललाई मैले । मलाई करिब ३ महिना लामो यात्राभर साथ दिने साइकलले मलाई जीवनमा धेरै कुरा सिकायो । यथार्थमाभन्दा जीवन जिउन सिकायो ।’
साइकलमा लामो यात्रा तय गर्न त्यति सजिलो भने थिएन । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा उनी साइकलबाट लडे । सडकबाट २० मिटर तल पछारिए । धन्न स्थानीयले देखेर उनको उद्धार भयो । केही दिन आराम गरेर यात्रालाई निरन्तरता दिएको उनी सम्झन्छन् । यता सोलुखुम्बुबाट रामेछाप छिचोल्दा बाटैमा रात परेर रुखमुनि रात कटाएको थिए । उनले थपे, ‘उकालो बाटो । थकान अनि भोकले ज्यान लखतरन भएको थियो । परपर स–साना घरहरु देखिएका थिए । सकीनसकी पाउदानी चलाएर अघि बढँे । रातको ९ बजिसक्यो, गाउँ पुग्ने अत्तोपत्तो थिएन । नजिकैको रुखमुनि झोलालाई सिरानी बनाएर सुतँे । भोक अनि थकानले कति बेला निदाइएछ, पत्तै भएन ।’
हरेक जिल्ला पुग्दा उनी त्यहाँ साइकलमा पुगेको डकुमेण्ट बनाउँथे । कतै गाउँपालिकामा त कतै नगरपालिकाको कार्यालयमा । प्रायः उनी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबल कार्यालयमै बास माग्थे । एक त सुरक्षाको दृष्टिकोणले र अर्को प्रायः उनलाई एक छाक खाना र सुत्न व्यवस्था त्यही मिल्थ्यो । कति ठाउँमा स्थानीय मानिसहरुले समेत उनलाई बस्न र खाना सहयोग गर्थे । खोटाङ हलेसी मन्दिरछेउको गुम्बाका लामाले उनलाई पानी पिउनु भनेर हातमा १ हजार रुपैयाँ थमाइदिएका थिए । सबै उदार हृदयका मानिसहरुसँग मात्र भेट भएन । जाजरकोटबाट डोल्पा यात्रा तय गर्दाको दुखद क्षण सम्झदँै उनले भने, ‘करबगाड भन्ने ठाउँमा ४÷५ जना भर्खरका युवाहरुले मेरो बाटो छेके । गिब मि २०० डलर खैरे भन्न थालें । म पूर्वको नेपाली नै रहेको र यात्राबारे वृतान्तमा सुनाउँदा समेत उनीहरुले बाटो छाडेनन्, उल्टै अघिबढे साइकलको टायर काटिदिने धम्की दिएका थिए । धन्न, त्यही बेला त्यही बाटो एक जना खच्चर व्यापारी आइपुगे । मैले सबै घटना उनलाई सुनाएँ र उनले मेरो उद्धार गरे ।’
यात्राभर एक थान भोजपुरे खुकुरी साथमै बोक्थे, उनी । एक त सुरक्षाको लागि र अर्को खुकुरी बारे सबैलाई बुझाउन । नेपाल एकीकरणदेखि हालसम्म भोजपुरे खुकुरीको योगदान अतुलनीय रहेको छ । सक्कली र नक्कली खुकुरी सजिलै चिन्न सकिन्छ । सक्कली खुकुरीले सिक्का काट्दा समेत यसको धार जादैँन, उनी भन्छन्, ‘समयसँगै युवाहरुको विदेश पलायन, कच्चा पर्दाथको कमी र दक्ष जनशक्तिको अभावले यसको पहिचान मेटिने डर छ । यसको पहिचान मेटिनु भनेको भोजपुर र सिंगो नेपालको इतिहास मेटिनु सरह हो । त्यसैले आम मानिसमा यसको महत्व दर्साउन नेपालयात्रा गरेको हुँ ।’
हरेक जिल्ला पुग्दा त्यहाँको वस्तुस्थिति, जनजीवन अनि भुगोल नियाल्थे उनी । अनि गहिरो अध्ययन गर्थे । भोजपुरका पर्यटकीयगन्तव्यहरुको प्रचारप्रसार मात्र गरेनन् उनले, हरेक जिल्लाका पर्यटकीय गन्तव्यहरु सम्भव भए साइकलमै घुमे । घुमेका ठाउँहरुमध्ये पोखरा, तानसेन, तमघास, जोमसोङ, दोलखा बजार उनलाई प्रिय लाग्यो । विश्व साइकलयात्री पुष्कर शाहको घर दोलखाको मकैबारी पुग्दाको खुसीको क्षण उनी यसरी बाडँ्छन्, ‘वास्तवमा भन्दा पुष्कर दाईको पुस्तक ‘संसारलाई साढे पाँच फन्को’ पढेपछि ममा नेपाल साइकलमै घुम्ने हुटहुटी बढेको हो । भूकम्पले भत्काएको उहाँको सानो टहरामै मैले एक रात बिताएँ । उहाँको आमाले भुटेको एक घान मकै मैले कैयौं दिन पु¥याएको थिए ।’ पोखरा आउँदा साइकले रक्तदाता तीर्थराज अवस्थी र जितेन्द्रमान शाक्यसँगको भेटले रक्तदान गर्न प्रेरित मात्र मिलेन उनलाई, यात्रा सकेपश्चात पोखरामै आएर पहिलोचोटि रक्तदान पनि गरेका थिए, उनले ।
मेचीदेखि महाकाली अनि हिमालदेखि तराईसम्म साइकलमै पाउदानी मार्दा उनले धेरै सिके । चार पर्खालभित्रको बन्द कोठामा जति सिकेको थिए, त्यसको कैयौं गुणा प्रकृति माझ खुल्ला आकाशमा सिके । उनले भने, ‘जो घुम्दैन, त्यसले वास्तवैमा जीवन जिउन जान्दैन । सिक्दैन । जातीय एकता अनि धार्मिक सहिष्णुताको यर्थाथ अनुभूति यात्राले दिलायो मलाई । दशैं, तिहार अनि छठ जस्ता महान चाडपर्वहरु भिन्नभिन्न परिवारसँग मनाउन पाउनु आफैंमा खुसीको क्षण थियो ।’
माघ १३ गते उनले नेपाल यात्राको बिट दार्चुला सदरमुकाम खलंगामा मारे । यो नै यात्राको अन्त्य भने हैन, उनको । यसलाई त सुरुवात ठान्छन् ,उनी । अझ कुनाकन्दराहरु चहार्दै साइकल गन्तव्यहरुको खोज अनि अध्ययनमा लाग्ने योजनाहरु उनी बुन्दैछन् । त्यति लामो यात्राभर साथ दिने साइकल फित्ता गर्नुपर्ने बेला उनलाई न्यास्रो लाग्नु स्वभाविक थियो । यही बुझेर होला, त्यो साइकल स्पोन्सर गर्ने साइकल पसलले उपहार स्वरुप दिएको खुसीको क्षण बाड्दै उनले भने, ‘१ लाखभन्दा बढी पर्ने साइकल पाउँदा मेरो खुसीको सीमा नै थिएन । यही साइकलमा फेरि नेपालका लुकेका साइकल गन्तव्यहरु चहार्नेछु । सँगै विदेशी पर्यटकहरुलाई आफुले घुमेका ठाउँहर घुमाउनेछु ।’
कोरोना कहरले उनको बाकीँ योजनाहरुलाई भने केही समयका लागि अल्पविराम लगाइदिएको छ । बिहान काठमाडौं मै टे«किङ ट्रेनिङ कक्षा लिने र दिउँसो त्यही प्यांक साइकल पसलमा मेकानिक सिक्ने सपना अहिलेका लागि अधुरै रह्यो । तर हरेश खाएका छैनन्,उनले । साइकलमैत्री सहरहरुको निमार्ण गर्नु पर्नेमा उनको जोड रहेको छ । साइकल मुद्दाहरुसँग अप टु डेट भइरहन्छन् । मनभरिको आत्मबल व्यक्त गर्दै उनले भने, ‘अहिले पनि लकडाउनको समयमा विभिन्न जिल्लाहरुको साइकल ट्रेलहरुको अध्ययन इन्टरनेटमार्फत् गर्दैछु । मनाङ अनि मुस्ताङ लकडाउन खुलेसँगै साइकलमै पुग्ने योजना बुन्दै छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->