आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गुणस्तरीय शिक्षाको हाउगुजी : हामी कहाँनेर चुक्यौ ?

गुणस्तरीय शिक्षाको हाउगुजी : हामी कहाँनेर चुक्यौ ?


  • यादव पौडेल
  • असार ३० २०७७, मंगलबार

प्राणीहरुमध्येको सर्वश्रेष्ठ प्राणी मानिसको ब्यबस्थित, सुरक्षित एबम् मर्यादित जीवनयापनको चाहानाको प्रतिफल स्वरुप औपचारिक शिक्षा विकासको आरम्भ भएको कुरा जगजाहेर नै छ । यसका साथै शिक्षाले ब्यक्तिलाई सत्मार्गमा डो¥याई सिंगो समाज र राष्ट्रलाई बिकासको गतितर्फ अगाडि बढाउँदै लैजान्छ भन्ने विश्वब्यापी मान्यता छ । मानव जीवनलाई सरल, सुखद एवम् सन्तुष्ट बनाउनुको साथै समग्र समुन्नतिको लागि गुणस्तरीय शिक्षाको आवश्यकता पर्दछ भन्ने भनाइहरु सर्वस्विकार्य छन् । त्यसो भए, के हो त गुणस्तरीय शिक्षा ? के हामीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौँ त ? हामीले बुझेको गुणस्तर कतिसम्म सत्य हो ? याबत् प्रश्नहरुको चित्तबुझ्दो जवाफ हाम्रो परिवेशमा भेट्टाउन कठिन छ ।
नेपालको सन्दर्भमा गुणस्तरीय शिक्षाको चित्तबुझ्दो परिभाषा दिन कुनै शिक्षाविद्, पाठ्यक्रमविद्, बिश्वविद्यालयका प्राध्यापक, समालोचक एबम् शिक्षक कोही पनि तयार भएको पाइँदैन । तरपनी, हामी सबैले बुझेको कुराचाँही कुनैपनि बस्तु वा सेवामा अपेक्षित गुणको मात्रा वा परिणाम गुणस्तर हो । यता शिक्षाको सन्दर्भमा गुणस्तर सापेक्ष (Relative) अवधारणा हो । त्यसैले यसको मापन त्यति सजिलो भने छैन ।
नेपालको शैक्षिक इतिहासदेखि हालसम्म परीक्षाको नतिजा (सिकाई उपलब्धि) नै गुणस्तरीय शिक्षाको मापन गर्ने एकमात्र साधनको रुपमा प्रयोगमा आइरहेको छ । बिद्यालय तहमा प्रयोगमा आएका भनिएका नयाँ अवधारणाहरु निरन्तर विद्यार्थी मूल्यांकन, स्थानीय पाठ्यक्रम, उदार कक्षोन्नतीलगायतका विभिन्न कार्यक्रमहरु पनि केवल कर्मकाण्डी (देखाउनको लागि) मात्र प्रयोगमा आए । यी र यस्ता कार्यक्रमहरुको मर्म नत शिक्षक, बिद्यालय, प्रशासक एबम् तालिम प्रशिक्षकहरुले नै बुझ्न सके नत बुझाउन नै । यसरी देशको भाषा, संस्कृति, सामाजिक, आर्थिक परिवेश, समाजको आवश्यकता आदि सबैलाई नजरअन्दाज गर्दै आयातित शैक्षिक कार्यक्रम र विधिको वकालत गर्ने कथित शिक्षाविद् एवम् पाठ्यक्रमविद्हरुले हालको शिक्षा प्रणालीमै मन्दबीष घोलेर झनै कहालीलाग्दो बनाउने हुन् कि ? यो त झनै शंकाको बिषय हुन गएको छ ।
परीक्षाकै नतिजालाई अत्यन्तै ठूलो नजिर बनाएर हाम्रो शिक्षा प्रणाली धिकिरधिकिर यहाँसम्म आइपुगेको छ । हाम्रो समाज शिक्षाले उत्पादन गरेका जनशक्तिको गुणस्तरलाई भन्दा उसले प्राप्त गरेका प्रमाणपत्रहरुको अंकमा गमक्क पर्दै गुणस्तरीय शिक्षाको ढोल पिट्न ब्यस्त रह्यो । ‘मान्यजनलाई आदर सत्कार नगरेपनि, आवश्यक ठाउँमा सन्तुलित बिचार व्यक्त गर्न नसकेपनि, मानवीय संवेदना व्यक्त गर्न नसकेपनि, संस्कार एबं संस्कृति नबुझेपनि यदि उक्त विद्यार्थीको प्रमाणपत्र बलियो छ भने हामी त्यसलाई अब्बल ठानीरह्यौ ।’ यहाँनेर प्रश्न उब्जन्छ, के हाम्रो शिक्षाले नैतिक, चरित्रवान, ब्यबहारिक एबम् श्रमप्रति आस्थावान नागरिक उत्पादन गर्ने उद्देश्य नराखेकै हो त ? कि हाम्रो समाजलाई यस्तो जनशक्ति आवश्यक नभएको हो ?
हाम्रो सबैभन्दा ठूलो भ्रम भनेको मातृभाषा सिकोस् या नसिकोस्, संस्कार संस्कृति जस्तोसुकै होस् अलिअलि अंगे्रजी मिसाएर बोल्न सिक्यो भने र जस्तोसुकै उपाय अपनाएर भएपनि परीक्षाको नतिजामा राम्रो अंक हासिल गर्न सक्यो भने त्यस्तो बिद्यार्थी अब्बल र त्यस्ता विद्यार्थी उत्पादन गर्ने ब्यापारिक केन्द्रलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने बिद्यालय भनेर गुणगान गाउनु हो ।
यथार्थ धरातलमा उभिएर हेर्ने हो भने यदी कुनैपनि शिक्षाले जीवन जिउने कला सिकाउन सकेन भने त्यस्तो शिक्षा असफल प्राय ः ठहरिन्छ ।
हेर्दा सामान्य लागेपनि कक्षामा सिकेको कुरालाई ब्यबहारमा लागु गर्नसक्नु, ब्यबहारिक समस्या समाधान गर्नसक्नु, सही र गलत छुट्टाउन सक्नु, राम्रो कुराको अनुशरण गर्नु, अरुको कुरामा पनि केहि सत्यता छ कि भनी रचनात्मक तवरले मुल्यांकन गर्न सक्नु, पारिवारिक एबम् सामाजिक मेलमिलाप कायम गर्नसक्नु पनि पक्कै गुणस्तरीय शिक्षाका सूचकांकहरु हुन् ।
यी बाहेक पनि हाम्रो शैक्षिक उत्पादनमा निम्नलिखित गुणहरु कुन हदसम्म बिद्यमान छन् त ?
– सही समयमा सही निर्णय लिनु,
– समस्या समाधानका रचनात्मक उपायहरुको खोजी गर्नु,
– राष्ट्र र राष्ट्रियताप्रति सच्चा स्नेह हुनु,
– समाजमा सजिलै समायोजन हुने क्षमता,
– श्रम बजारमा प्रवेश पाउने दक्षता,
– सबै प्रकारका विभेद एबम कु–संस्कारहरुबाट मुक्त,
– समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामलामा जानकार,
– खाद्य संस्कृतिमा सचेत,
तर बिडम्बनास घर–परिवारमा झैझगडा हुँदा समाधानका उपाय अपनाउने प्रयत्न गर्नुको सट्टा ह्या झ्याउ लाग्यो भन्दै हातमा मोबाइल बोकेर घरबाहिर निस्केर समस्याबाट भाग्न खोज्ने जनशक्ति हाम्रो शिक्षाले उत्पादन गरिरह्यो । यस्तै शिक्षालाई हामीले मलजल गरिरह्यौ । यस्तो अवस्थामा माथी उल्लेखित गुणहरुको अपेक्षा सायदै सान्र्दभिक रहला ।
हाम्रो शिक्षाको समग्र प्रणाली कमजोर कहलिनुमा थुप्रै कारणहरु बिद्यमान छन् तरपनि एकले अर्कोलाई दोषारोपण गरेर आफू चोखो बन्न रुचाउनेको जमात ठूलो छ । प्राय ः सबै संयन्त्रहरु शिक्षकमाथी दोष थोपरेर उम्किन चाहन्छन् ।
झन् आजभोलि त प्रबिधिको प्रयोग एबम् अनुगमनको नाममा कक्षाकोठामा CCTV जोडेर विद्यार्थीको प्रतिभा प्रस्फुटन र कक्षा क्रियाकलापमा खलल पुर्याएर उनीहरुमा मनोबैज्ञानिक त्रास पैदा गराएका छौं । उनीहरु डराएर चुपचाप श्रोता मात्र बन्ने वातावरण छ । अर्कोतिर, बिद्यालय र कक्षाकोठा अनुगमनका नाममा जनप्रतिनिधिको झुन्ड अनावश्यक कक्षाकोठामा छिर्ने र विद्यार्थी एबम् शिक्षकको एकाग्रतालाई भंग पारेर शैक्षिक वातावरणमा खलल पुर्याउने कार्यहरू भइरहेका उदाहरण प्रसस्तै भेट्टाउन सकिन्छ । परीक्षाको नतिजालाई लिएर अभिभावक एबम् बिद्यालय प्रशासनको दबाबले समेत कतिपय शिक्षक एबम् विद्यार्थीहरुसमेत प्रताडित छन् । परिणामत ः शिक्षकहरु पनि रचनात्मक बनेर कक्षा शिक्षण गर्नुको साटो देखावटी र प्रचारमुखी क्रियाकलापहरु गरेर नियमनकारी निकायको प्यारो बन्ने होडबाजीमा लागेका छन् ।
बर्तमान अवस्थामा यदी गुणस्तरीय शिक्षाको परिभाषालाई सम्बोधन गर्ने हो भने, प्रत्येक बिद्यार्थीले सिक्न सक्दछ, उनीहरुमा बिबिधता हुन्छ भन्ने तथ्यलाई स्विकार्दै उक्त बिबिधतालाई उजागर गर्ने प्रयासस्वरुप उनीहरुभित्रको सबैभन्दा उत्कृष्ट कलालाई मलजल गर्ने प्रयास हाम्रो शिक्षाले गर्नुपर्छ । यसका लागि शिक्षक एबम् विद्यार्थीहरुलाई रचनात्मक एवम् श्रमप्रति सकारात्मक बन्ने वातावरण सिर्जना गर्न शैक्षिक क्षेत्र तत्पर हुनैपर्छ । अनिमात्र करीब एक दशकभन्दा बढी समय विद्यालयमा बिताइसक्दा बिद्यार्थी न काग न बकुल्लाको स्थितिमा पक्कै हुने छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->