बागलुङ, ३० असार– बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले ठेक्कापट्टा समेत गर्दै आएका कृषि बिकास बैंकका एक कर्मचारीलाइ कुटपिट गरेका छन् ।
सोमबार बेलुकी बागलुङ स्थित बाटिका रेष्टुरेन्टमा भनाभन हुँदा बैंकका कर्मचारी तथा नगरपालिकाको ३ वटा खानेपानी योजनाको ठेक्का लिएका ऋषि रेग्मीलाई कुटेका हुन् । खड्काले बिबाद भएपछि सामान्य हातहालाहाल भएको स्विकारेका छन् ।
‘बिहान नगरपालिका कार्यालयमा आएर कर्मचारी धम्क्याएका रहेछन्, मलाई पनि रिस उठ्यो, थप्पड हानेको हँु’ खड्काले भने, ‘कर्मचारीलाई कार्यालयमै आएर मार्ने धम्की दिनेकाम झनै खतरा हो ।’ उनले हात हालेको कमजोरी भएपनि कार्यालयमा आएर कर्मचारीको ज्यान दिने धम्की दिनेकाम सबैभन्दा गम्भिर भएको बताए ।
रेग्मीले सोमबार दिउँसो बागलुङ नगरपालिकाको प्राविधिक फाँटमा पुगेर इन्जिनियर त्रिलोचन गिरीलाई धम्की दिएका थिए । धम्की दिंदै उनले मारेर कालीगण्डकी नदीमा फालिदिने सम्मको धम्की दिएको भन्दै पिडित कर्मचारीले नगरपालिकामा उजुरीसमेत दिएका छन् ।
नगर उपप्रमुख र प्राविधिकसहित एकजना कन्सल्ट्यान्टमार्फत रेग्मीको ठेक्काको कामको अनुगमन गरेको थियो । लागत स्टिमेटभन्दा धेरै रकम माग गरेपछि गरिएको अनुगमनमा टोलीले रकम घटाएको थियो । अघिल्लो बर्षदेखिकै संचालित खानेपानी आयोजनामा लागत स्टिमेटभन्दा धेरै खर्च देखाएको, प्रतिट्रिप ढुंगागिटीमा पनि दोब्बर भाडादर जोडेको लगायतको कारणले रकम बढेको थियो । अनुगमन समितिले दिएको प्रतिवेदनपछि रेग्मीले रकम फिर्ता गर्नुपर्ने भएको थियो । उक्त रकम घटाएको निहुँमा रेग्मीले नगरपालिकामा आएर कर्मचारीलाई धम्की दिएका थिए ।
रेग्मी बैकका कर्मचारी भएपनि श्रीमतीको नाउँमा दर्ता भएको रेग्मी कन्स्ट्रक्सन मार्पmत ठेक्काको काम गरिरहेका छन् । उनले कार्यादेशसमेत नलिइकन धेरै काम गरेको, पुराना संरचनामा प्लास्टर गरेर नयाँ देखाएको र कामै नभएको पनि भएको देखाएर भुक्तानी माग्न खोजेको आरोप लागेपछि नगरपालिकाले अनुगमन टोली खटाएको थियो । सोमबारको घटना बारे रेग्मीले उपप्रमुखबाट आँफूमाथि दुव्र्यवहार भएको बताए । ‘खाजा खानेबेलामा उहाँसँग भेट भएको थियो, खानेपानीको कुरा उठाएर दुव्र्यवहार गर्नुभयो’ रेग्मीले भने, ‘मैले केही जवाफ फर्काएको छैन, त्यसै फर्केको हुँ ।’ उनले घटनाबारे नगरप्रमुखलाई जानकारी गराएको बताए ।
नगरप्रमुख जनकराज पौडेलले भने कुटिए भनेर कसैले नभनेको, कुटेको कुरा पनि थाहा नपाएको बताए । ‘मलाई कसैले केही भनेको छैन, थाहा पनि पाएको छैन’ पौडेलले भने, ‘सामाजिक संजालमा केही कुरा आएका रहेछन्, हेरीरहेको छु ।’ सोमबार रेग्मीले नगरपालिकामै आएर कर्मचारीलाई धम्क्याएको बिषय थाहा नपाएको उनले टिप्पणी गरे । ‘कार्यालयमा के भएको पनि थाहा छैन’ उनले भने, ‘मलाई कसैको उजुरी निवेदन पनि आएको छैन ।’ पिडित कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृतमार्फत सुरक्षा माग गरेको बताए ।
रेग्मी कन्स्ट्रक्सनले नगरभित्रको कुँडुले छाप खानेपानी आयोजना, लहरेपिपल खानेपानी आयोजना र रोकायापाला खानेपानी आयोजनाको काम गरेको छ । तीनवटै आयोजनामा लागत स्टिमेटभन्दा बढी रकम माग गरेको, जिल्ला दररेटभन्दा बढी बिल भरपाई बनाएको लगायतको उजुरी आएपछि नगरपालिकाले छानविनको काम गरिरहेको छ । उपप्रमुख नेतृत्वको अनुगमन टोलीले बिज्ञ सहितको मूल्यांकन गरेर केही रकम फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेपछि ठेकेदार, कर्मचारी र जनप्रतिनिधिहरुबीचको बिबाद चर्किएको छ ।





