बागलुङ, २ साउन – मानवसेवा आश्रम बागलुङले परिवारको सम्पर्कबाट टाढा रहेका एक युवालाई सत्र बर्षपछि परिवारमा पुर्नमिलन गराएको छ । आश्रमकी संचालक सुमिरा लामाले बागलुङ नगरपालिका वडा नं. ३ का नगेन्द्र पन्तलाई परिवारसँग भेटाएर पुर्नमिलन गराएकी हुन् । ५ महिनादेखि आश्रममा बसेका ती युवाले बल्ल आफ्नो घर मुलपानी भएको बताएका थिए । खोजी गर्दै जाँदा उनको परिवार भेटिएको हो ।
पन्त २०६० सालमा रोजगारीका लागि बिदेश गएका थिए । कोरिया पुगेका पन्त गएको केही समयपछि नै सम्पर्कबिहिन भएकोले परिवारले खोजी गरिरहेको थियो । लामो समयको खोजीपछि पनि पत्ता नलागेपछि केही बर्षदेखि भने आसै मारेर खोजीसमेत छाडेका थिए । ३५ बर्षिय पन्तलाई सत्र बर्षपछि आश्रमले घर लगिदिंदा परिवारका सदस्य अचम्मित भएका थिए ।
काठमाण्डौको सडकमा अलपत्र अबस्थामा भेटिएपछि उनलाई मानवसेवा आश्रमले संरक्षणमा लिएको थियो । आश्रमको बागलुङ शाखामा ५ महिना बसेपछि मात्रै उनले आफ्नो घर बागलुङकै मुलपानी हो भनेपछि आश्रमकी संचालक सुमिरा लामाले घर लगेर छाडेकी छिन् । घर पुग्दा उनकी आमाले समेत छोरा फर्केर आउँछ भन्ने आस मारिसकेको बताइन् । ‘हामीले आस मारिसकेका थियौं, कसरी आइपुग्यो भगवानले ल्याए होला’ पन्तकी आमा रुपाले भनिन्, ‘घरसम्म ल्याइदिने नै मेरा भगवान हुन् ।’ उनी आएको देखेर छिमेकी र परिवारका सदस्य पनि आश्चर्यमा परेका छन् ।
सानैदेखि राम्रो बानी व्यवहार भएको भएपनि बिदेश गएपछि अचानक सम्पर्कबिहिन भएका थिए । किन सम्पर्कबिहिन भएको भन्ने उनले बताएका छैनन् । कोरियाको जेलमा बसेको उनका छिमेकीले अनुमान गरेका थिए । घरपरिवारमा सम्पर्क गर्न चाहेको भए जेलबाट पाउने भएकोले उनको कोरिया बसाई रहस्यमय छ । अझै उनी खुलेर बोल्दैनन् ।
गत माघमा काठमाण्डौको सडकमा अलपत्र भेटिएपछि आश्रम संचालकले ल्याएर राखेका थिए । ‘धेरै नबोल्ने, घर ठेगाना पनि नबताउने भएपछि आश्रममा राखेका थियौं’ लामाले भनिन्, ‘इमान्दार देखेर पारिश्रमिक दिएर आश्रममै रोजगारी दिन खोज्दा मेरो घर यहीं हो भनेर बताउनु भयो ।’ घरमा आमा रहेको जानकारी दिएपछि लामाले आमाका लागि समेत कपडा किनेर पु¥याउन गएकी थिइन् ।
केही बर्षअघि पन्तका पिताको निधन भैसकेको थियो । उनका एक भाइ छन् । लामो समयपछि घर फर्केकोले पन्तले अहिले बाबुको काजक्रिया गरेर बसेका छन् ।
आश्रममै तमानखोला २ बुंगादोभानका पनि एक ५५ बर्षका मानिस छन् । उनको परिवारका सदस्यसंग सम्पर्क भएपछि घर पठाउने तयारी भएको लामाले बताइन् । आश्रममा अहिले ६ बालबालिकासहित ४० जना आश्रित छन् । बिभिन्न क्षेत्रका मानिसले जन्मदिन र अन्य उत्सबमा दिएको दानमुठीले आश्रम चलेको छ । आश्रममा सडकमा अलपत्र भेटिएका, अपांग, असहायलाई राखिएको छ । आश्रमका बालबालिकालाई बिद्यालयमा भर्ना गरेर पढाउने व्यवस्था पनि गरिएको छ ।





