बागलुङ, ६ साउन– संक्रमण घटिरहेको रिपोर्ट आएपनि मंगलबार भने बागलुङमा एकै दिन ६ संक्रमित थपिएका छन् । बिहानको रिपोर्टमा बागलुङको ताराखोला गाउँपालिकाका ३ युवामा कोरोना संक्रमण पुष्टी भएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबार दिउँसो बागलुङका ३ जना थपिएका हुन् । तीमध्ये एकजना बागलुङ नगरपालिकाका ३७ बर्षका पुरुष, तथा जैमिनी नगरपालिकाका ४१ र २४ बर्षका पुरुष छन् ।
मंगलबार बिहानको रिपोर्टमा ताराखोला गाउँपालिकाका २५, ४३ र २५ बर्षका युवामा कोरोना देखिएको थियो । मंगलबार थपिएका सँगै बागलुङमा २ सय ३१ जनामा संक्रमण पुष्टी भएको हो । आइसोलेसनमा रहेकामध्ये २ सय ३ जना निको भएर घर फर्केका छन् । ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छभने २६ जना संक्रमित आइसोलेसनमा उपचार गराइरहेका छन् । मंगलबारै लमजुङका ६ र स्याङजाका ७, म्याग्दी र स्याङजाका तीन÷तीन जनामा पनि कोरोना पुष्टी भएको छ । थपिएकासहित गण्डकी प्रदेशमा १ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भैसकेको छ ।




