बागलुङ, ८ साउन– मध्यपहाडी लोकमार्गको बोक्सेमा खसेको पहिरो बिहिवार पनि खुल्न सकेन । हिलाम्मे सडक छेउमा खसेको पहिरोले सार्वजनिक सवारी साधन देखि पैदल यात्री पनि हिड्न नसक्ने अबस्था भएको छ ।
पहिरोले सयौं मानिसले आवतजावतमा सास्ती खेपेका छन् । बोक्सेमा खसेको पहिरोले लोकमार्ग मात्र नभइ सिगाना तर्फ जाने शाखा सडक पनि अबरुद्ध बनेको छ । निरन्तर पहिरो र हिलो खसेपछि पैदल यात्रीले पनि जोखिम मोलेर यात्रा गरेका हुन् ।
लगातारको बर्षातले केही दिनदेखि जिल्लाका मुख्य सडकहरु अबरुद्ध छन् । दर्जनौ स्थानमा पहिरो खसेका छन् । मध्यपहाडी सहित कालिगण्डकी करिडोरमा पनि पहिरोले स्थानीय बासिन्दाले सास्ती खेपेका छन् । दैनिक आउजाउ देखि खाद्यान्न ढुवानीमा पनि असर परेको स्थानीयले बताए । यसैबीच मध्यपहाडी लोकमार्गको बागलुङ स्थित गलकोट खण्डको सडक ठाउँठाउँमा भासिएको छ । लगातारको बर्षातपछि गलकोट नगरपालिका वडा नं. १ र २ का बिभिन्न स्थानमा सडक भासिएको हो । सडक भासिएपछि यातायात संचालनमा कठिनाइ भएको स्थानीयले बताए ।
नगरप्रमुख भरत शर्मा गैरेका अनुसार दुदिलाभाटीको भुंखानीमा ४० मीटर, काफलठूटामा १० मीटर, चौराहामा १० मीटर, जम्दारे घुम्तीमा २० मीटर सडक भासिएको हो । सडक भासिएपछि तल्लो क्षेत्रमा पहिरो पनि खसेको छ । पहिरोले किसानको खेतीपाती बगाएको छ । कतिपय स्थानमा सडक चिरा परेको गैरेले बताए । वडा नं. २ को नरेठाँटीमा सडकमा खसेको पहिरो र चिरा पर्दा ९ घर पहिरोको जोखिममा परेका छन् । नगरपालिकाले डोजर प्रयोग गरेर भत्केका घुम्ती बनाउने, पहिरो पन्छाउने र भासिएको स्थानमा नयाँ ट्रयाक खोल्ने काम गरिएको गैरेले जानकारी दिए । ‘यात्रीको ज्यानै जोखिममा पर्ने गरी सडकहरु भत्केका छन्, यसको मर्मत मध्यपहाडी लोकमार्गले गर्नु पर्ने हो, तर आफ्नो स्थानमा भएकोले नगरपालिकाले मर्मत गरेका हौं’ गैरेले भने, ‘थप मर्मतका लागि भने आयोजनामा खवर गरेका छौं ।’ यस अघि जोखिम बढेका स्थानमा मर्मत गरिदिन आग्रह गरेपनि आयोजनाले वास्ता नगरेको उनले बताए । सडक भासिएको थाहा पाएपछि नगरका पदाधिकारी र वडा अध्यक्षहरुले स्थलगत अबलोकन गरेर तत्काल सडक खुलाउन पहल गरेका छन् ।





