बागलुङ, ८ साउन– अवैध लागुऔषधसहित बागलुङका विभिन्न ठाउँबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार बिहान गस्तीमा खटिएको प्रहरीले बागलुङ नगरपालिका–१ रामरेखाबाट दुई र बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट अर्का दुई जनालाई नियन्त्रण लिएको हो ।
बिहान ४ बजे रामरेखाबाट पक्राउ परेकाहरुबाट प्राप्त सूचनाका आधारमा दिउँसो १२ बजे अर्का दुईजना पक्राउ गरिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । पक्राउ पर्नेमा जिल्लाको काठेखोला गाउँपालिका–३ का २२ वर्षिया तुफान विश्वकर्मा, बागलुङ नगरपालिका–१ रामरेखाका २५ वर्षिया सुरज पौडेल र १९ वर्षिया प्रतिप बोहरा तथा तमानखोला गाउँपालिका–४ घरभई मालढुंगामा बस्दै आएका २३ वर्षिया रुपेश शिर्पाली रहेका छन् ।
उनीहरुको साथबाट डाजेपाम २५ थान, फेनागन २५ थान र नुफिन २५ थान बरामद गरेको केसीले जानकारी दिए । सुरज पौडेलको साथबाट एक थान मोवाईल फोनसमेत बरामद भएको उनले बताए ।
लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेकाबिरुद्ध कानुनअनुसार कारवाहीको लागि जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया थालेको छ । ‘प्रयोगकर्ता मात्रै होईनन् उनीहरुको साथबाट लागुऔषध ठुलो परिणाममा बरामद भएको छ’ केसीले भने ‘थप अनुसन्धान हुन्छ, थप संलग्नहरुको खोजी हुँदैछ ।’





