म्याग्दी, १३ साउन– भीषण वर्षासँगै आएको बाढीपहिरोले सोमबार म्याग्दीको सदरमुकाम बेनीलगायत विभिन्न स्थानमा वितण्डा मच्चाएको छ ।
भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तारका कारण सडक, विद्युत, खानेपानी, निजी तथा सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ ।
प्राकृतिक प्रकोप तथा मानव सृजित विपद्का कारण सोमबार सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसँग जोडिने सडक अवरुद्ध भएको छ ।
सदरमुकाम बेनीको क्याम्पसचोकमा माथिल्लो क्षेत्रबाट आएको बाढीले नाली फुटेपछि ढुंगा र लेदोले केही घरमा असर गरेको छ । बेनी–अर्थुङ्गेहुँदै पाखापानी जोड्ने सडकबाट खसेको बाढी ब्यवस्थापनका लागि बनाइएको नालीमा ढुंगामाटो जमेपछि फुटेर करिब १२ घर, पसलमा असर गरेका छ । बेनी–महारानी थान जोड्ने सडक अवरुद्ध भएको छ । बाढीले मंगलाघाटको खेलमैदानहुँदै बस्ती हिलाम्मे भएको स्थानीय यूवा लक्ष्मण कटुवालले बताए ।
बेनी–दरबाङ सडकखण्डअन्र्तगत डम्बरामा पहिरोले बेनपा–६ का वडा अध्यक्ष कृष्णसिंङ बानियाँको कुखुरा फार्म लगायत आसपासका क्षेत्रमा असर गरेको छभने निर्माणधिन अवस्थामा रहेको सडकले डम्बराको बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । बेनी–दरबाङ सडकखण्ड स्तरोन्नतीको क्रममा पहिरोले डम्बरा बजार नै जोखिममा परेको स्थानीय यूवा विशाल खत्रीले जानकारी दिए ।
यता, छिमेकी पर्वतको जलजला गाउपालिका–३, वारीबेनीमा रहेको हरि अटोपार्टस्सको ग्यारेजमा पहिरोले क्षति पुगेको छ । दुईतले भवन भत्किएको छ भने नजिकै रुख ढलेर बाटो अवरुद्ध भएको थियो ।
प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार बाढीपहिरोबाट प्रभावित र विस्थापितको तथ्याङ्क संकलन भइहरेको छ । म्याग्दी जिल्लामा रहेको कुल २ हजार २९७.०६ वर्ग किमीं क्षेत्रफलबाट ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको छ ।
विनाशमैत्री सडक, बस्ती माथिको क्षेत्रमा विकास निर्माणका गतिविधि, नदीखोलाको कटानीले आधादशक अगाडीसम्म सामान्य पहिरोलाई उचित रोकथामको अभावले बस्ती नै उच्च जोखिममा छन् । जिल्लाको कुल बर्ग किलोमिटरमा प्रतिबर्ष बग्ने मलिलो माटोले जिल्ला बाढीपहिरोमा उच्च जोखिममा रहेको देखिएको छ ।





