‘कालीगंगा बौलायो कसको बाउको के लायो ?’ मदिरा म्यान एकजना अंकलले बोल्ने यो डाइलक मेरो मगजमा गहिरो गरि गँडेको छ । उर्लिएको कालीगण्डकीले कसैको गुनासो, आग्रह पुर्वाग्रहलाई सुन्दैन । पानीले आफ्नो गन्तव्य आँफै बनाउँछ । हामीले पानीको गन्तव्यलाई चिन्ता गर्ने होइन बरु हामीले आफ्नो चिन्ता गर्ने हो ।
कालीगण्डकी नदिले वर्षात्मा देखाउने उदण्ड जति छ त्योभन्दा बढि उदण्ड त्यो नदि दोहन गर्नेले देखाइरहेका छन् । कमिलाजस्तै छापिएका डोजर स्काभेटरहरुले कालीगंगाका तिरलाई उजाड बनाएका छन् । गण्डकीको सौन्दर्यता क्षीण बन्दै गएको छ । बालुवा र ढुंगा झिक्दै गर्दा कालीगण्डकी सानौ खोँचजस्तो बन्दै गएको छ । यो विषय सामाजिक सञ्जालमा धैरै समयदेखि नै उठ्दै आयो । मिडियाले पनि यसलाई समय समयमा नउठाएका हैनन् । तर, ‘झाँगै नताते बिँड तातेर केहि हुँदैन’ भनेझै सम्बन्धित निकाय नै ‘आँखाले देखि कानैले सुनी के वैश गुमायौ’ भनेजस्तै भाको छ ।
अवैध नदि दोहन नियन्त्रणको यो विषय र प्रहरी प्रशासन श्रीमान–श्रीमतीले पाहुना लखेट्न गरेको नाटकी झगडाजस्तै बनेको छ । तिमी पिटेजस्तै गर म रोएझै गर्छु । ठ्याक्कै क्रसर व्यवसायी र प्रहरी प्रशासन ‘चोर–पुलिस’को नक्कली खेल खेलिरहेका छन् । बालुवाले मुख थुनिएपछि खुलेर तीनको विरोध गर्ने ल्याकत हाम्रा प्रहरी प्रशासनले राख्न सक्दा रहेनछन् । यदि त्यो क्षमता राख्न सक्थे भने आज एक जनालाई पनि नियन्त्रणमा किन लिन सकिएन् ? किन काबरबाहि भएन ?
केहि दिनअघि अवैध रुपमा बालुवा झिक्दै गरेको अवस्थामा पर्वत प्रहरीले सामग्रीसहित ६ जनालाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय बागलुङले बताउँदा पर्वत प्रहरीले भने पक्राउ नगरेको स्पष्टिकरण दियो । मिडियामा प्रहरीकै संरक्षणमा विगतदेखि नै नदि दोहन गरेका कुरा नआएका पनि हैनन्, ती आरोपहरुलाई पछिल्ला घटनाक्रमले पनि पुष्टिको नजिक लैजान्छ । उनीहरुले भनेको नमाने गृह मन्त्रालयबाट डिएसपी सरुवा हुने, जिल्ला अधिकारी नै सरुवा हुने घटनाहरु सुन्दा उनीहरुलाई माथिबाट नै संरक्षण छ भन्ने कुरालाई जस्तै कमजोर मगज भएकाले पनि बुझ्न सक्छ ।
नदि दोहन रोक्न एकजना अधिकारकर्मीले पहल गर्दा उनलाई नै क्रसर व्यवसायीले धम्कि दिएका कुरा पनि बाहिर आए । दोहन रोक्न कडा कदम चाल्ने प्रहरी अधिकारीलाई नै दुई दिनमा जिल्ला कटाइयो । केहि अभिन्ताहरुलाई समेत क्रसर व्यवसायीले धम्कि दिएको कुरा आइरहे । यो कुरा आइरहँदा यो बालुवा र गिटीको लहरो केवल जिल्लाका प्रहरी प्रशासनसँग मात्र नभै धेरै माथिसम्म जोडिएको छ भन्ने पुष्टि हुन्छ । तर यो विषयलाई न प्रहरी प्रशासनले खुलेर भन्न सकेको छ न त अन्य कसैले सार्वजनिक गर्न सकेका छन् । केहि शक्तिशाली नेता र माननीयहरु कै डोजरले कालीगण्डकीलाई अवैध रुपमा कोपरिरहेका कुरा पनि लुकेका छन्, जसको कारण पनि यो नदि दोहनको दृष्यहरु ‘दिनमा दुई गुणा र रातमा चोैगुणा’ बढेको छ ।
विरोध गर्नेलाई उसका कमजोरी खोज्दै बाहिर ल्याइदिन्छौ भन्ने जुक्ति व्यवसायीले निकालेका छन् । विरोध गर्नेलाई क्रसर व्यवसायीहरु मुखमा बुझो लगाएर चल्ताफुर्तालाई हातमा लिएर यो लुटको धन्दा चलाइरहेका छन् । त्यसैले कसैको विरोधमा यो धन्दा रोक्नेवाला छैनन् ।
कालीगण्डकी बालुवा, गिटीको खेती गर्नेका लागि लैनो भैसी बनेको छ, जसले रातरातमै करोडौ कमाई गराइदिन्छ । त्यसैले कालीगण्डकी पैसा छाप्ने सानोतिनो मेसिन हो उनीहरुका लागि । त्यसैले पनि यो मेसिनलाई मेसो मिलाएर चालु राख्न जुनकुनै मुल्य चुकाउन पनि उनीहरु तयार छन् । केहि व्यक्तिहरु व्यवसायीले कमाएको धन देखेर ¥याल काँड्ने पनि छन् । उनीहरुलाई डर धम्कि देखाएर विगतदेखि नै थोरै धेरै बालुवा र गिटीको स्वाद लिएका व्यक्तिहरुको लिस्ट पनि लामो छ । त्यो लिस्टमा प्रहरी प्रशासन, नेतादेखि विभिन्न मिडिया हाउसका पत्रकारसमेत अछुतो छैनन् । केहि अभियान्तालाई आफुले दिएको पैसाको भिडियो नै बाहिर ल्याइदिन्छौ भन्दै केहि व्यवसायीले टर्चरसमेत दिदै आएका छन् । यद्यपी व्यवसायीहरुले अझै सार्वजनिक भने गरेका छैनन् । विरोध गर्नेलाई उसका कमजोरी खोज्दै बाहिर ल्याइदिन्छौ भन्ने जुक्ति व्यवसायीले निकालेका छन् । विरोध गर्नेलाई क्रसर व्यवसायीहरु मुखमा बुझो लगाएर चल्ताफुर्तालाई हातमा लिएर यो लुटको धन्दा चलाइरहेका छन् । त्यसैले कसैको विरोधमा यो धन्दा रोक्नेवाला छैनन् ।
प्रकृतिले दिएको त्यो स्रोत साधनलाई मानिसले नै प्रयोग गर्ने हो । बागलुङ, म्याग्दी पर्वतमा खडा हुने घरहरुलाई कालीगण्डकीकै पुरै योगदान छ भन्दा फरक नपर्ला । किनकी त्यहिँ नदिको बालुवा, गिटी र ढुंगाहरुले घरहरु खडा हुन्छन् । नदिमा वर्षेनी जम्मा हुने बालुवा, गिटी र ढुगाहरुलाई निकाल्नुपर्छ । त्यो आवश्यक पनि छ । तर स्थानीय तहको आम्दानी मात्र हेरेर जथाभावी यसको दोहनले यसको सौन्दर्यता त घटाउँछ नै त्यो सँगै अन्य समस्याहरु पनि निम्ताउने निश्चित छ । कालीगण्डकीबाट ढुंगा, गिटी, बालुवा झिक्न उपयुक्त छ छैन ? यो ठाउँका अन्य सम्भावना, सुनखानी, शालिग्रामको विनासजस्ता विषय कतिसम्म खतरामा छन्, यी सबै सर्वेक्षण नगरी जथभावी दोहन गर्नु हाम्रो र भविष्यमा आउने सन्ततीका लागि पनि घातक हुन्छ । पैसाका लागि आज मान्छेहरु जे पनि गर्न तयार छन्, त्यसैले कालीगण्डकीको बालुवा, ढुंगा निकाल्दैमा किन यति ठुलो टाउको दुखाइको विषय बन्छ ? फाइदा लिनेहरुको स्पष्टिकरण यो छ ।
नेपला सरकारले नदि दोहन तथा संरक्षण सम्वन्धि नयाँ कानुन लागु गरेपछि नदिको जथाभावी दोहनलाई अवैध मानेको छ । नदिको किनारमा एक हजार मिटरभन्दा नजिक क्रसर उद्योग सञ्चालन गर्नुलाई पनि अवैध मानेको छ । तर धेरै ठाउँमा नदिकै किनारमा क्रसर उद्योग सन्चालनमा छन् । नदिको सौन्दर्यतालाई नास गर्नेगरि डोजर र स्काभेटर प्रयोगलाई पनि अवैध मानिन्छ तर रातारात दर्जनौका संख्यामा मेसिनहरु प्रयोग गरि अवैध रुपमा उत्खनन् गरिएको छ ।
अझै हास्यस्पद कुरा त के छ भने एकजना स्थानीय निकायकै प्रमुखको त नदिको मुखमै जोडिएको बालुवा, गिटी कारखाना छ । उनलाई नियम कानुन थाहा छैन भनेर हामीले सिकाउनु परेन तर उनी कसैको कुरा सुुन्नेवाला छैनन् । अध्यक्षले नै नदि दोहन गर्छन हामीले किन नगर्ने ? तर्क राख्न अरुलाई सजिलो भएको छ । नियम कानुन अध्यक्षलाई नलाग्ने अरुलाई लाग्ने भन्ने पनि हुँदैन । त्यसैले यो गम्भिर विषयमा सम्बन्धित निकाय अब सुत्नु हुँदैन । हरियो घाँस पाएर कालीगण्डकीलाई कसैको लागि लैनो भैंसी बनाउन दिनु आफ्नो जिम्मेवारी, कानुनकै खिल्ली हो ।
नदि दोहनलाई संँरक्षण गर्नेलाई व्यवसायीले सार्वजनिक गर्नुपर्छ । कस–कसलाई कति–कति रकम दिइएको हो त्यो पनि उनीहरुले सार्वजनिक गर्न डराउनु हुँदैन । अभियान्ताका नाममा केहि व्यक्तिले समेत बार्गेनिङ गरेको हो भने त्यो पनि बाहिर ल्याइयोस् । नत्र यस्तो गैरकानुनी काम गर्नेलाई कानुनको कठघरामा उभ्याउनु पर्छ । किनकी कानुनभन्दा माथि न त क्रसर व्यवसायी छन् न त स्वयम् प्रहरी प्रशासन नै ? यदि प्रहरी प्रशासनले यो नियन्त्रण गर्न सक्दैन भने नागरिकलाई जिम्मा दिइयोस् । नागरिकले यसको नियन्त्रण गर्छन् ।





