पोखरा, १४ साउन – गण्डकी प्रदेशसभाको बैठक पुन: स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि सभाको बैठक स्थगित भएको हो । संसदमा दर्ता गराएको संकल्प प्रस्तावलाई बेवास्ता गरेको भन्दै कांग्रेसले सोमबार पनि बैठक बहिष्कार गरेको थियो । मंगलबार सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
कांग्रेसले बैठक बहिस्कार गरेपछि सभामुख अधिकारीले पटक–पटक बस्न आग्रह गरेका थिए । सहमति जुटाउनको लागि कार्यदल गठन गरिए पनि सहमति जुट्न नसकेको भन्दै उनले संकल्प प्रस्तावलाई साझा प्रस्ताव बनाउन खोजिरहेको बताए । सभामुख अधिकारीले सहमतिमा ल्याउने कोसिस गरे पनि विपक्षी दलका नेताहरुले नमानेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक साउन १६ गते दिनको १ बजे बस्नेछ । नेपाली कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, सार्वजनिक लेखा समितिका सभापति कुमार खड्का र सदस्य सावित्री गुरुङले असार २३ गते सदनमा संकल्प प्रस्ताव दर्ता गराएका थिए ।
कांग्रेसले दर्ता गराएको संकल्प प्रस्तावमा विश्व स्वास्थ्य संगठनले तोके अनुसार क्वारेण्टिनको व्यवस्थापन हुनुुपर्ने,आइसीयू र आइसोलेसन कक्षहरु बन्नुपर्ने, आवश्यक ओखती र स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिनुपर्ने, एक घर एक पीसीआर परीक्षणसँगै परीक्षणको दर बढाउनुपनेलगायतका मागहरु राखिएका छन् । ती मागहरुप्रति सरकार संवेदनशील नभएको कांग्रेसको आरोप छ । संकल्प प्रस्ताव दर्ता भएको १ हप्तामा त्यसलाई कार्यसूचिमा लैजानुपर्ने प्रदेशसभा नियमावलिमा व्यवस्था छ ।





