पोखरा, १६ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटघाटमा प्रदेशको समृद्धि र विकासका बारे कुरा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । भेटघाटमा देशको समसामयिक राजनीति,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक मतभेदबारे पनि कुराकानी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी ओलीका निकट मानिने मुख्यमन्त्री गुरुङ स्थायी कमिटीको बैठकमा भाग लिन काठमाडौं गएका थिए । अचानक पार्टीं अध्यक्ष तथा प्रधानमन्त्रीले बैठक स्थगित गरेपछि उनी बैठकमा सामेल हुन त पाएनन् तर मुख्यमन्त्रीको रुपमा भेटघाट भने गरे । अन्य प्रदेशका मुख्यमन्त्रीभन्दा अब्बल देखिएका गुरुङले आफूले कोरोना कहर र लकडाउनले निम्त्याएको संकटका बीच गरेका कामहरुबारे जानकारी गराएका थिए । अझ तीव्र गतिको कार्यसम्पादनको चाहना राखेका मुख्यमन्त्री गुरुङ यहाँ थप ३ वटा मन्त्रालय थप्न चाहन्छन् । तर, पार्टी भित्र आन्तरिक जटिलता कायमै रहेको अवस्थामा तत्काल मन्त्रालय थपिने सम्भावना भने कम भएको स्रोतले बतायो । ‘यो विषयमा प्रधानमन्त्रीसँग कुरा भए पनि गञ्जागोलका बेला तत्काल त्यो सम्भावना टरेको छ’, पोखरामै रहेको उनी निकट स्रोतले ढोरपाटनसँग भन्यो, ‘यद्यपि, मुख्यमन्त्रीको रुपमा आफ्नो अधिकार प्रयोग गर्न उहाँ स्वतन्त्र हुनुहन्छ ।’





